Jagaran Nepal बिहिबार, आषाढ ११, २०७७

काठमाडौँ, ११ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्थीले अब साउनभित्रै आफ्नो नतिजा हात पार्ने अवस्था बनेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले साउन १५ भित्र बोर्डले नतिजा प्रकाशित गर्ने जानकारी दिँदै साउनभित्रै ग्रेडसिट विद्यार्थीको हातमा पर्ने बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण भयावह भएको अवस्थामा बाहेक साउनभित्रै सबै काम सक्ने योजना बनाइएको छ । नतिजा प्रकाशनपछि चार लाख ८३ हजार विद्यार्थीको ग्रेडसिट र प्रमाणपत्र प्रिन्ट गर्न, परीक्षा नियन्त्रकको हस्ताक्षर तथा छाप लगाउने कार्यका लागि केही दिन लाग्ने अनुमान गरिएको छ ।

एसईईका विद्यार्थी आफ्नो विद्यालयमा भने जानु नपर्ने भएको छ । तर, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विषय शिक्षक र माध्यमिक तहको ज्येष्ठ सदस्य भने विद्यालय जानुपर्ने गरी कार्यविधि बनाइएको छ । ज्येष्ठ शिक्षकबारे थप स्पष्ट गर्दै भनिएको छ, “सम्बन्धित माध्यमिक तहका शिक्षकहरूमध्ये नियुुक्तिका आधारमा सबैभन्दा ज्येष्ठ शिक्षक प्रतिनिधि हुुनेछन् ।’’

कार्यविधिले विद्यालयको प्रधानाध्यापक अध्यक्ष तथा सम्बन्धित कक्षा शिक्षक र विद्यालयको माध्यमिक तहको ज्येष्ठ शिक्षक सदस्य रहने गरी मूल्याङ्कन समिति गठन गर्ने प्रावधान तय गरिएको छ । समितिले अन्तिम मूल्याङ्कनको प्रमाणित गर्ने काम पनि गर्नेछ । विद्यालयले २० गतेभित्र विद्यार्थीको अन्तिम मूल्याङ्कन गरी जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनुपर्ने समय तय गरिएको छ । याे खबर अाजकाे गाेरखापत्र दैनिकमा छ।