Jagaran Nepal बिहिबार, आषाढ ११, २०७७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणाको स्कुलले लकडाउनका बेला पनि यातायातको खर्च भनेर अभिभावकहरूसँग पैसा असुलेकी छिन् ।ललितपुर जिल्लाको खुमलटारमा रहेको डा.राणाको युलेन्स स्कुलले अभिभावकहरूलाई लकडाउनका बेला पढाइ नभएको शुल्क समेत उठाएको छ ।

त्यति मात्रै होइन स्कुलले यातायात भाडा भनेर बिल अभिभावकहरूलाई थमाएको छ ।काठमाडौं उपत्यकाभित्र युलेन्स स्कुल अत्यन्तै महँगो स्कुलका रुपमा परिचित छ । विवादमा आइरहने यो स्कुलले अभिभावकहरूलाई आतंकित नै तुल्याएपछि बिद्रोह शुरु भएको छ ।

कोरोना भाइरसका कारण देशभरिका सबै विद्यालयको पठनपाठन बन्द रहेका बेला डा.राणाको युलेन्स स्कुलले सिधै अभिभावकहरूलाई ‘मुर्गा’ बनाएको भन्दै असन्तुष्टिहरू आएका छन् ।काठमाडौं उपत्यकाभित्रका अधिकांश निजी विद्यालयले पठनपाठन नै नभए पनि रकम तिर्न अभिभावकहरूलाई दवाव दिइरहेका छन् ।

युलेन्स स्कुलले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई पठाएको बिलमा यातायात खर्च शीर्षकमा १० हजार चार सय रुपियाँ राखेको छ ।वैशाख, जेठ र असार गरी तीन महिनाको भनेर सो रकम जोडिएको छ ।लकडाउनका कारण विद्यार्थीले एक दिन पनि युलेन्स स्कुलको गाडी चढेका छैनन् ।

अभिभावकलाई पठाइएको बिलमा ब्रेकफास्ट, ल्याब शुल्क, फिल्ड ट्रिपलगायत शीर्षकमा पनि रकम तोकिएको छ ।युलेन्स स्कुलका प्रिन्सिपल मेदिन लामिछानेले विद्यार्थीसँग यातायात शुल्क नलिएको दाबी गरेका छन् ।नयाँ शैक्षिक सत्रको वैशाख, जेठ र असारको मासिक शुल्क २१ प्रतिशत घटाएर अभिभावकहरूलाई पत्र पठाइएको लामिछानेले बताएका छन् ।