Jagaran Nepal बुधबार, आषाढ १०, २०७७

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले युवाहरुको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले विदेशबाट स्वदेश फर्किएका श्रमिकहरुलाई देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

त्यस्तै उनले कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘हाम्रो देशभक्ति, स्वाधिन स्थिति एवं स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्‍न हुन्छ ? जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ ? रोगको महामारी, राष्ट्रियताको संकट, सिमा समस्या, राष्ट्र हितविरुद्धका सन्धि सम्झौता तथा हत्या, हिंसा र आत्महत्याजस्ता जल्दा बल्दा र दुखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छन् ? भ्रष्ट्राचार, लापरबाही, पक्षपात र भेदभावका कुरा किन दैनिक उठिरहन्छन् ? यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार यूवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनू पर्ने अवस्था सिर्जना भइरहन्छ ? यी सब सोचनीय विषय र विचारणीय कुराहरुको प्रश्नहरु उब्जिरहेको छ ।’

उनले अहिले आरोप प्रत्यारोप वा निषेध प्रतिरोधको भावनाले कसैको हित नगर्ने भन्दै पूर्वराजा शाहले गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्ने बताएका छन् । ‘आजको यो कालखण्डमा परस्पर आरोप प्रत्यारोप गरेर वा निषेध र प्रतिशोधको भावना राखेर कसैको हित कदापि हुदैन । नेपाल राष्ट्रको एकीकरण, नेपालको स्वाधिनताको संरक्षण र सर्वतोमूखी विकासको चिन्तन कहिले, कसले र को बाट भयो त्यो आम हेक्काको विषय भैसक्यो । त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नु पर्छ । राष्ट्रियता नै हाम्रो मुल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतितबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो ।’

साथै उनले असारमा पर्ने आफ्नो जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको समेत बताएका छन् ।