Jagaran Nepal बुधबार, आषाढ १०, २०७७

चितवन । नेकपा अध्यक्ष प्रचण्डले तत्कालीन माओवादी र एमालेवीच पार्टी एकता हुनुभन्दा अघिल्लो दिन २०७५ साल जेठ २ गतेको सम्झौता कार्यान्यवन नभएको भन्दै अध्यक्ष प्रचण्ड अर्का अर्का अध्यक्ष केपी ओलीमाथि खनिएका छन् ।

बुधबार दिउँसो बालुवाटारमा आयोजित नेकपा स्थायी कमिटीको बैठकको उदघाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सम्झौता कार्यान्वयन हुँदा दुवै अध्यक्षवीच आशंका बढ्ने गरेको बताए ।

जेठ २ को सहमतिको स्मरण गरेका हुन् । सरकार र पार्टीलाई केही फाइदा होला कि भनेर आफूले पाँच वर्ष नै अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सरकार चलाउन दिने सहमति गरेको भए पनि त्यसो नभएको उनले बताएका छन् । ‘सरकार र पार्टीलाई केही फाइदा हुन्छ कि भनेर मैले छाडेँ । तर, त्यसले अहंकार बढ्यो’ प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘आलापालो छाडेर गल्ती गरेँ भन्ने लाग्छ ।’

पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गर्न सक्ने काम पनि नगरेको प्रचण्डको विश्लेषण छ । बाहिरबाट पार्टी र सरकारलाई असफल बनाउने प्रयत्न हुनु स्वभाविक भएको बताउँदै प्रचण्डले भने, ‘सरकारले राम्रो काम गर्न नसक्नुको मुख्य कारण आन्तरिक नै हो ।’

साम्यवादमा पुगेपछि पार्टी नचाहिने भन्ने आफूहरुको विश्लेषण भए पनि अहिले नै पार्टी विलीन हुने अवस्था आएको प्रचण्डले बताएका छन् । ‘गुटहरु छन् तर पार्टी छैन जस्तो भएको छ’ प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले बताए ।

अब पार्टीका नेताहरु ‘सामू फाइट टू फिनिस’ संघर्ष गर्ने र एकतावद्ध हुने मात्र विकल्प भएको प्रचण्डले बताएका छन् । संघर्षको बाटोमा जाँदा पार्टी फुट्ने उनले बताए । तर, कुनै हालतमा त्यो बाटो रोज्न नहुने भन्दै उनले एकतामा जोड दिए ।

यसका लागि सबैले आफ्नो गल्ती कमजोरीप्रति आत्मालोचित हुने र त्याग गर्न तयार हुनुपर्ने प्रचण्डले बैठकमा बताए । उनले भने, ‘मैले गल्ती गरेको भए म सच्चिनुपर्छ । अर्का अध्यक्ष एवं प्रधानमन्त्रीले गल्ती गएको भए उहाँ सच्चिनुपर्छ र त्याग गर्न तयार हुनुपर्छ । पार्टीलाई एकतावद्ध बनाउनुपर्छ ।’

के भने ओलीले ?

जवाफमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीभित्र बहुमतको खेल सुरु भएको भन्दै असन्तुष्टि जनाए । त्यही गुटबन्दी र बहुमतको खेलकै कारण अघिल्लो बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको ओलीले बताए ।

बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले महाधिवेशनसम्म सहकार्य गर्ने सहमतिअनुसार पार्टी नचलेको गुनासो गरे । यहीकारण अघिल्लो सचिवालय बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको बताउँदै अधयक्ष ओलीले भने, ‘पार्टीमा अहिले पनि गुटबन्दी र बहुमतको खेल भएको छ । यसले अनुशासनहीन काम गरेको छ ।’

प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनलाई सहज बनाउने गरी वैशाख दोस्रो साता ल्याएको अध्यादेशको बचाउ गरे । आफूले गलत गरेका कारण फिर्ता लिएको नभई साथीहरुले भनेका कारण फिर्ता लिएको ओलीले बताए । उनले नेतृत्वलाई खुइल्याएपछि आफ्नो कद बढ्छ भन्ने भ्रम नपाल्नसमेत नेताहरुलाई आग्रह गरेको एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओलीले अधिकांश समय सरकारको बचाउमा खर्चिएका थिए । आफ्नो नेतृत्वको सरकारले देशलाई समाजवाद उन्मुख बनाएको र कोरोना भाइरसको महामारी नियन्त्रणमा पनि राम्रो काम गरेको उनको दाबी थियो ।

कोरोना कारण २÷३ जनाको मात्र मृत्यु भएको तर अरु बिमारीका कारण मृत्यु भएको भए पनि कोरोना पोजेटिभ देखिएपछि कोरोनाबाटै भएको मृत्युमा गणना गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको प्रोटोकोेलका कारण मात्र २४ पुगेको उनले बताए ।

प्रधानमन्त्री ओलीले यो बैठकले पार्टी एकताको सन्देश दिन सक्नुपर्नेमा समेत जोड दिए । बैठकलाई सम्वोधन गर्दै ओलीले अहिले देखिएका समस्याको सामना राजनीतिकरुपमै गरिने बताए । बैठक शुक्रबार पुन: बस्ने गरी स्थगित भएको छ ।

FacebookTwitterEmailPrintPinterestWhatsAppCopy LinkFacebook MessengerShare38