Jagaran Nepal बुधबार, आषाढ १०, २०७७

काठमाडौं । विश्व क्रिकेटका शीर्षस्थ फ्रेन्चाइज लिगमा सहभागी जनाइसकेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बुधबार हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा आफ्नो मूल्य ९० हजार डलर (१ करोड रुपैयाँ) मूल्य तोकेका छन् ।

कोरोना संक्रमणको बिकराल स्थितिमा पनि सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा गर्ने प्रस्ताव गरिएको छ । यद्यपि यसका लागि सरकारको स्वीकृति आउन भने बाँकी रहेको छ । ड्राफ्टअघि केहि टोलीले विदेशी खेलाडीलाई ड्राफ्टअघि नै अनुबन्ध गरिसकेका छन् । सिपिएलले पहिलो पटक ड्राफ्टअघि नै विदेशी खेलाडी अनुबन्ध गर्ने प्रावधान अगाडी सारेको हो ।

यसबाहेक अघिल्लो सिजनको टोलीबाट नै क्यारेबियन खेलाडी रिटेन गर्ने प्रक्रिया पनि सकिएको छ । ड्राफ्टबाट वारियर्स र नाइट राइडर्सले कम्तिमा ३ खेलाडी छनोट गर्नुपर्ने छ । तलाहवजले ११ खेलाडी, प्याट्रीयट्सले ६ खेलाडी तथा ट्राइडेन्ट्स र जुक्सले कम्तिमा ५ खेलाडी छनोट गर्नुपर्नेछ ।

सन्दीपले सन् २०१८ मा सिपिएलमा सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए । पहिलो सिजनमा उनले ५ खेल खेल्दै ७ विकेट हात पारेका थिए । यसक्रममा उनले १७ ओभर बलिङ गर्दै १ सय ६ रन खर्चेका थिए भने एक मेडन समेत राखेका थिए ।