Jagaran Nepal मंगलबार, आषाढ ०९, २०७७

पाल्पा, ९ असार । तानसेन नगरपालिका–११, सम्मोबारीनजिकै सोमबार दिउँसो पहिरोले तीन वटा सवारीसाधनलाई बगाउँदा दुई जनाको मृत्यु भएको छ । तानसेनदेखि तम्घास जाँदै गरेका सवारीसाधनलाई सडक माथिबाट खसेको पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन् ।

दुई जनाको शवसहित एक जना घाइतेलाई नेपाल प्रहरी, सेना, र सशत्र प्रहरीको समूहले पहिरोबाट निकालेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतक र घाइतेको सोमबार रातिसम्म सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए । घाइते एक जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । यो समाचार आजको गोरखापत्रमा रेखीराम रानाले लेखेका छन् ।

तानसेन–तम्घास सडक चौडा गरिरहेको अवस्थामा आइतबार रातिदेखि नै अविरल वर्षाका कारण सडकमा पहिरो खस्दा घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ । डोजरले चलाएको जमिन सडकमा एक्कासि पहिरोका रुपमा खसेको र सडकमा गुडेका सवारीलाई बगाएको तानसेन–११ का वडा अध्यक्ष दामोदर घिमिरेले बताए ।

प्रहरीका अनुसार लु १ च १९२८ नम्बरको तेल बोक्ने ट्याङ्कर, लु २ च १३७६ नम्बरको ट्रक, लु १ च ७०११ नम्बरको कार र लु २ च ७०४३ नम्बरको पिकअपलाई पहिरोले क्षति पुर्याएको हो । पानी परिरहेको र पहिरो खसेका कारण राति ९:०० बजेदेखि उद्धारको काम रोकिएको र मङ्गलबार बिहानैदेखि पुनः उद्धारको काम सुरु हुने प्रहरीले जनाएको छ ।