Jagaran Nepal मंगलबार, आषाढ ०९, २०७७

एजेन्सी- जापानले घरमै बसेर कोरोना भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको छ । जापानको अनुसन्धानकर्ताहरुको एक टोलीले नाकबाट स्वाव लिएर परीक्षण गर्न सकिने विधिको विकास गरेको हो ।

उक्त परीक्षण विधिबाट २५ मिनेटमै परीक्षण रिपोर्ट प्राप्त हुने जनाइएको छ । जापानी विश्वविद्यालयहरुसँग मिलेर काम गरिरहेको एक मेडिकल फर्मले उक्त परीक्षणको काम गरिरहेको बताइएको छ । यो विधिबाट कुनै पनि मानिसले आफ्नै घरमा बसेर कोरोना परीक्षण गर्न सक्ने र २५ मिनेटपछि नतिजासमेत हेर्न सक्नेछ ।

जापान मात्र होइन, बेलायतमा पनि यो खालको विधिको परीक्षण भैरहेको छ । बीबीसीमा उल्लेख भएअनुसार, यो परीक्षण सफल बनाउनका लागि १४ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरु खटिइरहेका छन् ।

विश्वभर कोरोना कोरोना भाइरस संक्रमितको संख्या ९१ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९१ लाख ८७ हजार २५८ पुगेको छ ।

हालसम्म कोरोना भाइरस संक्रमणबाट विश्वभर चार लाख ७४ हजार ३०७ जनाको ज्यान गइसकेको छ । अहिले सम्म विश्वमा ४९ लाख ३७ हजार १८१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अमेरिका कोरोनाको सबैभन्दा धेरै प्रभावित देश बनेको छ । अमेरिकामा २२ लाख ९१ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् भने त्यहाँ एक लाख २० हजारभन्दा बढीको मृत्यु भएको छ ।

ब्राजिलमा कोरोनाका १० लाख ८३ हजार बढी संक्रमित छन् त्यहाँ मृतकको संख्या ५० हजार पार भएको छ । रुसमा पाँच लाख ९१ हजार बढी व्यक्ति कोरोनाद्वारा संक्रमित छन् । यद्यपि, यहाँ यो महामारीका कारण धेरैको मृत्यु भएको छैन । यहाँ आठ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।

संक्रमित व्यक्तिको संख्याको हिसाबले भारत चौथो स्थानमा छ । भारतमा चार लाख २५ हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् जबकि यहाँ हालसम्म १३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा तीन लाख ६ हजार बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । यो महामारीले बेलायतमा हालसम्म ४२ हजार ७ सय ३२ व्यक्तिको मृत्यु भएको छ । सोमाबार विश्वभर एक लाख ३७ हजार दुई सय आठ जना नयाँ संक्रमित थपिएका छन् भने तीन हजार ८५८ जनाको ज्यान गएको छ ।