Jagaran Nepal मंगलबार, आषाढ ०९, २०७७

काठमाडौँ । नेपालले गण्डक बाँधको मर्मत रोकिदिएपछि बिहार क्षेत्र डुबानमा पर्ने त्रासका कारण भारतमा आतंक मच्चिएको छ।

भारतले एकतर्फी रुपमा नेपाल–भारत सीमा क्षेत्रमा बिहारको पूर्वी चम्पारणको ढाका अनुमंडलमा लालबकेया नदीमा रहेको बाँध पुनर्निर्माण गर्न खोजेको थियो। तर, नेपालले आफ्ना धेरै क्षेत्र डुबानमा पर्ने भन्दै मर्मतको अनुमति दिएन।

बिहारका जल संसाधन मन्त्री कुमार झाले भने यो क्षेत्र ‘नो मेन्स ल्याण्ड’मा पर्ने दाबी गरेका छन् । तर त्यो वास्तविकता होइन। यो बाँधका कारण विगतका वर्षहरुमा नेपालका बस्ती डुबानमा पर्ने गरेका थिए। अहिले नेपालले पुनर्निमाण रोकिदिएपछि बिहार क्षेत्र डुबानमा पर्ने भन्दै भारतमा आतंक फैलिएको हो।

बिहारका जल संसाधन मन्त्री झाले समाचार एजेन्सी एएनआइसँग कुरा गर्दै भनेका छन्, ‘नेपालले यो बाँधका साथै कैयौं अन्य स्थानमा पनि मर्मत रोकिदिएको छ। पहिलो पटक हामी यस्तो समस्याको सामना गरिरहेका छौं। हामी मर्मतका लागि सामग्रीसम्म पुग्न पाइरहेका छैनौं । हाम्रा स्थानीय इन्जिनियर र डिएमले सम्बन्धित अधिकारीसँग छलफल गरिरहेका छन् । म अब यो स्थितिबारे विदेश मन्त्रालयलाई पत्र लेख्छु।’

यदि यो मुद्दालाई समयमै सम्बोधन नगरिए बिहारको ठूलो हिस्सामा बाढी आउने उनको दाबी छ। उनले भने,’ यदि नेपालमा वर्षाका कारण गण्डक नदीको जलस्तर बढ्यो भने यसले गम्भीर समस्या उत्पन्न गर्नेछ। गण्डक बाँधका ३६ ढोका छन्। यीमध्ये १८ वटा नेपालमा छन्।’

एएनआइले आधिकारिक ट्वीटर अकाउन्टबाट लगातार ३ ओटा ट्वीट गर्दै नेपालका कारण भारत डुब्ने खतरामा रहेको बताएको छ । “नयाँ नक्साले गर्दा नेपालको काठमाडौं र नयाँ दिल्लीबीच समस्या आएको छ, जस्को कारणले गर्दा नेपालले मर्मत संभारमा ध्यान दिएको छैन ।” बिहारका मन्त्री संजय कुमार झालाई उद्दित गर्दै एएनआइमा उल्लेख गरिएको छ ।

नेपाललाई बिना कुनै जानकारी भारतले चैतमा एकलौटी रूपमा गण्डक बाँधको मर्मत सुरु गरेको थियो । नवलपरासीको सुस्ता गाउँपालिकाअन्तर्गत पर्ने नारायणी नदीमा बनेका बाँधहरूको भारत पक्षले मर्मत गरिरहेको छ। मर्मत कार्यबारे नेपाल पक्षले जानकारी दिन भारतसँग माग गरेको थियो । गण्डक सम्झौतामा संरचना निर्माण र मर्मत गर्दा नेपाल र भारत पक्षका इन्जिनियर र प्रशासनको संयुक्त अनुगमन हुनुपर्ने उल्लेख छ।