Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

काठमाडौं – केरा विश्वको प्राय सबै ठाउँमा पाइने फल हो। केरा म्युजा परिवारमा पर्ने पोथ्रा वनस्पती र यसको फललाई चिनिन्छ। केरा भर्खर घरीबाट निस्केको बेलामा हरियो रङको हुन्छ र यसको स्वाद त्यस बेलामा टर्रो हुन्छ । पाकेपछि यसको रङमा बदलाब आउँछ र यसको स्वाद गुलियो हुन्छ । हिन्दु धर्मालम्वीहरुले सामाजिक पूजा आजा कार्यक्रमका प्रसाद नैवेत को रुपमा प्रयोग गर्ने गर्दछन् ।

सामान्यतया हामी केरा पाकेपछि छोडाएर खान्छौँ । केराको स्वाद लिन धेरै जानेको यो एउटा तरिका हो तर अहिले केराका अनेक उत्पादन बन्न थालिसकेका छन् । केराबाट मःमः, समोसा, मिटवल, चिप्स, निम्की, जुस, वाइन, कपौडा, खीर, अचार, तरकारी लगायत परिकार नेपाली बजारमा उपलब्ध छन् ।

केरा पौष्ट्रिक तत्वले भरीपुर्ण आहार हो । यसलाई त्यत्तिकै वा विभिन्न परिकारमा बनाएर पनि दान सकिन्छ । केराबाट आलुको जस्तै चिप्स पनि निर्माण गर्न सकिन्छ । यसबाट निर्माण गरिएको चिप्सलाई ‘बनाना चिप्स’ भन्ने गरिएको छ । बनाना चिप्स बनाउने तरीका यस्तो छ ।

सामाग्री

४ वटा काँचो केरा

पानी २ ठुलो चम्चा

तेल

नुन १ सानो चम्चा

बिधि

एउटा कचौरामा पानी र नुन हालेर राम्ररी घोल्ने ।

काँचो केरालाई ताछेर मसीनो गोलो गोला गरेर काट्ने ।

काटिएको केरालाई तेलमा फ्राइ गर्न हाल्ने र एकछिनपछि आधा चम्चा घोलेर राखेको नुन पानी हाल्ने र बिस्तारै चलाउने

पानीको च्यारच्यार आवाज बन्द भएपछि चिप्सलाई निकाल्ने

यसरी तयार हुन्छ केराको मिठो बनाना चिप्स । यसलाई अन्य मसला राखेर चिप्स खान सकिन्छ ।

धेरैले यसलाई मन पराउने गरेका छन् । एकपटक खाएको केराको चिप्स खाएकाले पटक–पटक यसकै माग गर्ने गरेका छन् । चिप्समा केराको बास्ना आउने भएकाले पनि अनौठो स्वादका रूपमा यसलाई लिने गरिन्छ ।