Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

वेसारलाई अंग्रेजीमा (Turmeric) भनिन्छ, यसको वैज्ञानिक नाम Corcuma longa हो । Zingiberaceae परिवार अन्तर्गत पर्ने यो वाली मुख्यतया मसलावालीको रुपमा चिनिने भएता पनि यसको गानो र धुलो औषधिको रुपमा तथा कपडा, टायलहरुमा रंगाउने कामको लागि पनि प्रयोग हुने गर्दछ । थोरै मात्रामा भएपनि दैनिक रुपमा अत्यावश्यक पर्ने वेसारको धार्मिक उत्सव वा पुजापाठ आदिमा पनि उक्तिकै महत्व रहेको पाईन्छ । यसको गानोलाई हलेदो भनिन्छ भने पाउडरलाई वेसार भनिन्छ । दक्षिण पुर्वी एसियाका देशहरुमा उत्पत्ति भएको मानिने बेसारको विश्वमा भारत , पाकिस्तान , वंगलादेश, हाइटी, जमाईका, चीन, पेरु प्रमुख उत्पादक राष्ट्रका रुपमा चिनिन्छन् । वेसारमा पाईने प्रमुख तत्व एक प्रकारको रंग Curcumin हो, यो गानोमा सरदर १.८% – ५.४ % पाईन्छ भने वासनादार तेल २.५% – ६.२% सम्म पाउन सकिन्छ ।

बेसारको सामान्यतया तराई देखि १६०० मि. अग्लो मध्यपहाडका जिल्लाहरुमा खेति गर्न सकिन्छ । नेपालको स्थान विशेषको आधारमा केहि खास गुण भएका स्थानिय जातहरुको खेति गरिने भएता पनि अनुसन्धानका क्रममा रहेका CI (९८०१), CI (९८०३), CI (९८०४), CI (०२०९) जातहरु उत्पादन तथा गुणस्तरका दृष्टिकोणले उत्कृष्ट पाईएका छन् जसमध्ये CI (९८०१) जात उन्मोचनको अन्तिम प्रकृयामा रहेको छ । नेपालमा वेसारको उत्पादकत्व ८.१७ मे.टन/हे. (ABPSD २०११/२०१२) रहेको र माग अनुरुपको पुर्ति हुन नसकिरहेकोले यसको व्यावसायिक विस्तारको राम्रो संभाव्यता देखिन्छ ।