Jagaran Nepal आइतबार, आषाढ ०७, २०७७

आइतबार ४ सय २१जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय २१ संक्रमित थपिएको जानकारी दिए। यीसहित संक्रमितकाे संख्या ९ हजार २६ पुगेकाे छ। मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ७५ हजार एक सय ७३ र आरडीटी विधिबाट दुई लाख ६२ हजार एक सय ७४ जनाको नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा २२ प्रयोगशाला पीसीआर विधिबाट ६ हजार ८ र आरडीटी विधिबाट ९ हजार आठ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ छन् भने आइसोलेसनमा सात हजार दुई सय ३१ जनाको उपचार भइराखेको छ । आइतबार ८ महिला र १८६ पुरुष गरेर १९४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जित्नेको संख्या भने १७ सय ७२ पुगेको छ । जसमध्ये १४९ महिला र १६ सय २३ पुरुष रहेका छन् ।

कोरोना जितेर बालक घर फर्कन सफल

सप्तरी राजविराज नगरपालिका–१३ पिपराहीका १४ वर्षीय मिर्गौला रोगी एक बालक कोरोना जितेर घर फर्कन सफल हुनुभएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालबाट उपचार गरी घर फर्कने क्रममा कोभिड–१९ को सङ्क्रमणमा पर्नुभएका उहाँ १२ दिनको आइसोलेशन केन्द्र बसाइपछि शनिबार साँझ डिस्चार्ज भएका हुन ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बालकको रिपोर्ट नेगेटिभ देखिएपछि उपचारपछि डिस्चार्ज गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताए । बालकको ४० वर्षीया आमासमेतसँगै डिस्चार्ज भएका हुन् । “बालकैमा मिर्गौैला रोगी, त्यसमाथि कोरोनाको सङ्क्रमण सुनेर अत्तालिएकी थिए”, बालककी आमाले भनिन्, “उच्च मनोबलले ठूला रोग पनि परास्त हुने रहेछ ।” जटिल खाले लक्षणबिना कोरोनामुक्त बालकले उच्च मनोबलले रोग परास्त हुने अनुभव सुनाइन । बालक र आमालाई राजविराजस्थित क्वारेन्टिनमा बसेको १४ दिनपछि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो ।

दुवैको शुक्रबार पिसिआर परीक्षण गर्दा सङ्क्रमण देखिएन । शनिबार उहाँहरूसहित १४ जनालाई डिस्चार्ज गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा झाले भने । “म त बाल्यकालदेखि नै रोगी, त्यसमा कोरोना थपियो । चिन्ता मानेको भए परिणाम अर्को हन्थ्यो होला । कोरोनालाई जित्नै पर्दछ भन्ने मनमा अठोट गरेँ”, बालकले भने । डिस्चार्ज भएका अरु पनि भारतबाट आएका हुन् । सप्तरीमा हालसम्म ७१ जना निको भएर घर फर्किसकेका छन् । एक सय ५८ कोरोना भाइरसबाट सङ्क्रमित भएको सप्तरीमा १२ महिला छन् ।