Jagaran Nepal आइतबार, आषाढ ०७, २०७७

भक्तपुर, ७ असार । भक्तपुर नगरपालिकाले कोभिड –१९ को असरलाई मध्यनजर गर्दै कर छुटको घोषणा गरेको छ । आगामी आर्थिक वर्षदेखि करमा छुट दिई करको दायरा बढाउने पनि नगरपालिकाले जनाएको छ ।

कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै नगरपालिकाले करदाता तथा नगरवासीहरुले घरघरबाटै सूचना प्राप्त गर्न सक्ने, सेवा लिन सक्ने तथा कर तिर्न सक्ने समेतको व्यवस्थाको लागि आधुनिक सूचना प्रविधिको प्रयोेग गरिने पनि नगरपालिकाले जनाएको छ ।

आइतबार भक्तपुर नगरपालिकाको सातौं नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख सुनिल प्रजापतिले काठमाडौं उपत्यका सहरहरु प्राचीन कालदेखि साँस्कृतिक केन्द्रकोरुपमा विकसित सहरहरु भएको हुँदा यस्को मौलिकता बचाई उपत्यकालाई साँस्कृतिक केन्द्रकै रुपमा संरक्षण गर्नु आवश्यक रहेको बताउनु भएको छ ।

नगर प्रमुख प्रजापतिले उपत्यका विकास प्राधिकरणबाट अगाडि बढाएका ४ वटा स्मार्ट सिटीको निर्माण प्रकृया अविलम्ब रोक्न नेपाल सरकारलाई आग्रह गर्नुभयो । उहाँले उपत्यका बाहिर स–साना स्मार्ट सिटीहरुको विकासमा ध्यान दिन पनि आग्रह गर्नुभयो ।

काठमाडौं उपत्यका विकास प्राधिकारणले काठमाडौं उपत्यकाभित्र १ लाख रोपनीको १ र १० हजार रोपनीको ३ गरी ४ वटा स्मार्ट सिटी निर्माणको लागि बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पारित गरी कामलाई अगाडि बढाएको छ ।

प्रमुख प्रजापतिले नीति तथा कार्यक्रम सार्वजनिकरण गर्दै घना जनसंख्याका कारण उपत्यकामा फोहर मैला व्यवस्थापन, खानेपानी, ट्राफिक जाम र वातावरण प्रदुषण जस्ता समस्याहरु दिनानुदिन बढिरहेको अवस्थामा यस्ता ठूलठूला शहरहरु बनाउँदा उपत्यकावासीले थप समस्या भोग्नु पर्ने निश्चित भएको बताउनु भयो ।

कार्यक्रममा नगरप्रमुख प्रजापतिले संघ र प्रदेशका सांसदहरु नीति निर्माता भएकाले नीति निर्माताहरुलाई विकास निर्माणको काम जिम्मा दिनु उचित नभएको बताउनु भयो । उहाँले स्थानीय तहमा जनप्रतिनिधि नभएको बेला शुरु गरेको सांसद विकास कोषले अझै निरन्तरता पाईरहेको भन्दै स्थानीय तहमा जनप्रतिनिधिहरु आइसकेको अवस्थामा उक्त कोष खारेज गरी रकम सीधै सम्वन्धित स्थानीय तहमा पठाउने व्यवस्था गर्न पनि माग गर्नुभयो ।

नगरप्रमुख प्रजापतिले नगरभित्र निश्चित ठाउँमा सःशुल्क सवारी पार्किङको व्यवस्था गर्ने तयारी भएकोे बताउँदै उच्च शिक्षा अध्ययन गर्न चाहने विपन्न नगरबासीलाई ५ लाख रुपैयाँसम्म शैक्षिक ऋण दिइदै आएकोमा यसलाई निरन्तरर्ता दिने जानकारी पनि दिनुभयो ।

आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्न प्रत्येक महिनाको पूर्णिमा दिन सन्ध्याकालीन साँस्कृतिक सम्पदा पदयात्रा सञ्चालन गरिने, विभिन्न उत्सव आयोजना गरिने, फेमिली होम स्टे निर्माण लगायत पर्यटन विकासमा जोड दिइएको पनि नगरप्रमुख प्रजापतिको भनाइ थियो ।