Jagaran Nepal शनिबार, आषाढ ०६, २०७७

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वमा कोरोना भाइरस अझ खतरनाक चरणमा प्रवेश गरेको चेतावनी दिएको छ।

डब्लुएचओले फरक फरक देशमा कोरोना भाइरसको फरक-फरक चरण देखिएपनि विश्वभर कोरोना भाइरसको संक्रमणदर झनै बढेको बताएको छ। पछिल्लो समय विश्वभर कोरोना भाइरस झनै तिब्र रुपमा बढ्दै गएका कारण यसले सबैभन्दा खतरनाक चरण लिएको डब्लुएचओको चेतावनी छ।

डब्लुएचओका महानिर्देशक टेड्रोस आडानोम गेब्रिसेसले दक्षिण एशिया र मध्यपूर्वमा संख्या बढी थपिएको जानकारी दिए। मानिसहरु घरमा बस्दा वाक्क भएर अर्थतन्त्र सुचारु गर्न खोजिरहेको बेला भाइरस छिटो छिटो फैलिइरहेको उनले बताए।

भाइरस डरलाग्दो भएको र मानिसहरु अझै असंवेदनशील नदेखिएकोमा उनले चिन्ता व्यक्त गरे। संक्रमित वृद्धि भएपनि धेरै देशले लकडाउन खोलिसकेका छन्। गत जनवरीमा चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले निकै छिटो फैलिरहेको छ।

लकडाउन खोज्नासाथ अचानक बढेको कोरोना संक्रमणदरमा नयाँ केस देखिएकाले यो संक्रमण अझै खतरनाक र घातक हुने उनको दाबी छ।