Jagaran Nepal शनिबार, आषाढ ०६, २०७७

काठमाडौं । चीनको वुहानबाट फैलिरहेको कोरोना भाइरस कोभिड १९ ले विश्व नै आक्रान्त बनेका बेला विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले फेरी अर्को डरलाग्दो चेतावनी दिएको छ । जसले विश्वभर एउटा छुट्टै त्रास पैदा गरिदिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको संक्रमण विश्वभर नै घातक अवस्थामा पुगेको चेतावनी दिएको छ । विश्वभर एकै दिन शनिवार अहिलेसम्मकै सर्वाधिक १ लाख ८१ हजारभन्दा बढीमा संक्रमण देखिएपछि डब्ल्युएचओले यस्तो चेतावनी दिएको हो ।संसारका विभिन्न देशमा कोरोना संक्रमणको अलग-अलग चरण चलिरहेको भन्दै डब्ल्युएचओले भाइरस संक्रमणको गति र संक्रमणको स्तर घातक अवस्थामा पुगेको चेतावनी दिएको हो ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानमले अहिले कोरोना संक्रमण फैलिँदो क्रममा रहेको र खतरनाक बनेको बताएका छन् । उनले कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेकाले संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन् ।लकडाउन बढ्दै जादा आर्थिक अवस्था तहसनहस भएको भन्दै कयौं मुलुकहरूले लकडाउन खुकुलो बनाएको तथा हटाइसकेकाले जोखिम अझ बढेको डब्ल्युएचओको ठहर छ ।

कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ११ हजारभन्दा बढी निको भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ४६ लाख २० हजार २८३ पुगेको छ ।

यो संख्या शुक्रबार विहानको तुलनामा १ लाख ११ हजार २८ ले बढी हो । शुक्रबारसम्म निको हुनेको संख्या ४५ लाख ९ हजार २५५ थियो । यस्तै पछिल्लो २४ घण्टामा १ लाख ८० हजार ३६१ जना संक्रमित भएका छन् । यो विश्वभर एकै दिन भएको संक्रमणको सर्वाधिक संख्या हो । योसँगै विश्वभर संक्रमितको संख्या ८७ लाख ५० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ५९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ६१ हजार ८१३ पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार बिहानसम्म १ लाख ८६ हजार ९३४ जनाको मृत्यु भएको छ ।

२२ लाख ८३ हजार ९६ जना संक्रमित भएकोमा १२ लाख ३५ हजार ८ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५१ हजार ८५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २६ लाख ५२ हजार २८५ पुगेको छ । त्यसमध्ये ११ लाख ८२ हजार ७५२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४६ हजार ३६३ जनाको मृत्यु भएको छ । १८ लाख १६ हजार ३१७ जना संक्रमित भएकोमा ११ लाख ४३ हजार १५२ जना संक्रमणमुक्त भएका छन् ।दक्षिण अमेरिकी मुलुकहरुमा ६८ हजार ८१० जनाको मृत्यु भएको छ । १७ लाख ९२ जना संक्रमित भएकोमा ९ लाख १५ हजार ७७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ७ हजार ७१३ जनाको ज्यान गएको छ भने २ लाख ८८ हजार ८१२ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ३५ हजार १७६ जना संक्रमणमुक्त भएका छन् ।त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार २३ जना संक्रमित भएकोमा ८ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् ।