Jagaran Nepal शनिबार, आषाढ ०६, २०७७

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वमा कोरोना भाइरस नयाँ र खतरनाक चरणमा प्रवेश गरेको चेतावनी दिएको छ।शुक्रबार डब्लुएचओले कोरोना सबैभन्दा खतरनाक चरणमा पुगेको जनाएको समाचार संस्था एपिएफले उल्लेख गरेको छ।हिजो एकैदिन विश्वमा डेढ लाख कोरोना भाइरसका संक्रमित थपिएका छन्।

डब्लुएचओका महानिर्देशक टेड्रोस आडानोम गेब्रिसेसले दक्षिण एशिया र मध्यपूर्वमा संख्या बढी थपिएको जानकारी दिए।मानिसहरु घरमा बस्दा वाक्क भएर अर्थतन्त्र सुचारु गर्न खोजिरहेको बेला भाइरस छिटो छिटो फैलिइरहेछ उनले बताए।भाइरस डरलाग्दो भएको र मानिसहरु अझै असंवेदनशील देखिएकोमा चिन्ता व्यक्त गरे।

संक्रमित वृद्धि भएपनि धेरै देशले लकडाउन खोलिसकेका छन्। गत जनवरीमा चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले निकै छिटो फैलिरहेको छ।हाल विश्वभर ८५ लाख १३ हजारभन्दा धेरै संक्रमित भएका छन् भने ४ लाख ५४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ।