Jagaran Nepal बिहिबार, आषाढ ०४, २०७७

बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली सहित आठ जना विरूद्ध फौजदारी मुद्दा परेको छ। बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृ त्युको कारण भन्दै बिहार अदालतमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।

टाइम्स अफ इन्डियाका अनुसार वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका विरूद्ध मुद्दा दायर गरेका हुन्। अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ। ओझाले दायर गरेको मुद्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम छ। टाइम्स अफ इन्डियाका अनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख छ।

वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दायर गरेका हुन्। यसका साथै उनले साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम राखेका छन्। अभिनेता सुशान्तसिंहले गत आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत भेटिएका थिए।

योग्यता र क्षमता नभए पनि स्टार कलाकारका भाइ-भतिजा, छोरी-चेली भएकै कारण बलिउडमा प्रवेश गर्ने र स्थापित हुने मौका धेरैलाई मिल्यो । यसको ठीक उल्टो पाटो डरलाग्दो छ । कतिपय कलाकार अब्बल क्षमता र कौशल भए पनि परिवारवादको घेराभित्र पर्न नसक्दा छायामै परे ।

बलिउडकै स्थापित कलाकारहरुले सुशान्त सिंह राजपुतलाई त्यस्तैमध्येका एक अभिनेता ठानेका छन् । करण जोहर, आलिया भाट लगायत कलाकारले जब सुशान्तको निधनमा श्रद्धाञ्जली दिए, त्यसपछि परिवारवादको बहस सतहमा उठेको हो ।

धेरैले सामाजिक सञ्जालमा करण र आलियालाई दोहोरो चरित्रको मान्छे भन्दै कठोर आलोचना गर्न थालेका छन् । यस्तो किन पनि भनियो भने, सुशान्तलाई करण जोहरको शो ‘कफी विथ करण’ मा आलियाले खिल्ली उडाएकी थिइन् ।

यतिसम्म कि, बाबु र आमाको प्रभावबाट बलिउडमा छिरेकी आलियाले सुशान्तलाई चिन्दिन समेत भनेकी थिइन् । जब कि, सुशान्त कठिन मेहनतबाट बलिउडमा स्थापित भएका थिए । उनै आलियाले सुशान्तको निधनबाट आफू स्तब्ध बनेको भन्दै गहिरो दुख व्यक्त गरेकी छन् । उनले यो दुख व्यक्त गर्ने शब्द नै नभएको भन्दै उनको परिवारमा समवेदना प्रकट गरिन् ।

बलिउडकर्मी गौरव मिश्राले आलियाको यस्तो ट्वीटलाई ‘फेक सिम्प्याथी’ भन्दै टिप्पणी गरेका छन् । उनले त बलिउडकर्मीले ‘गोहीको आँशु’ झारेको भन्दै आलोचना समेत गरे । उनले भनेका छन्, ‘सुशान्तले भनेका थिए कि, कसैले पनि उनलाई पार्टीमा बोलाएका थिएनन् । उनले बलिउडले आफूलाई परिवारको सदस्यको रुपमा स्वीकार नगरेको बताएका थिए । उनी सधैँ यही कुराले दुखी र निराश थिए । बलिउड स्टप हिप्पोक्रेसी एन्ड घडियाली टियर्स‘ ।’

त्यसो त, सुशान्त अब्बल अभिनेता हुँदा हुँदै पनि धेरै ठाउँबाट उनलाई अघोषित रुपमा वहिष्कार नै गरिएको थियो । जस्तो कि, ‘काइ पो चे’ जस्तो सफल फिल्ममा उनले डेब्यू गर्दा नै आफुलाई पुष्टि गरिसकेका थिए । ‘पिके’, ‘केदारनाथ’ जस्ता फिल्ममा सुशान्तले सम्झनलायक काम गरे ।

कठिन मेहनतबाट बलिउडमा स्थापित बनेका सुशान्तले फिल्म अवार्ड पाउनुपर्ने गुनासो बलिउडमा सुनिरहन्थ्यो । यतिसम्म कि, कंगना रनोटले त ‘गल्ली ब्वाइ’भन्दा ‘काइ पो चे’ धेरै हिसाबले अवार्डका लागि योग्य फिल्म रहेको टिप्पणी गरेकी छन् ।

विडम्वना कस्तो भने, हरेक वर्ष सुशान्तको अभिनयको प्रशंसा त धेरै हुन्थ्यो । तर उनी फिल्म अवार्डमा नै बोलाइँदैनथे । यतिसम्म कि, प्रोड्युसरहरुको पार्टीमा समेत उनलाई बोलाइँदैनथ्यो ।यसको मतलब सुशान्त एक किसिमले उपेक्षित वा वहिस्कृत जस्तै थिए । त्यसो त, सुशान्त आफैँ पनि कतिपय सन्दर्भमा बलिउडले परिवारको सदस्यको रुपमा स्वीकार नगरेको गुनासो गर्ने गरेका थिए ।