Jagaran Nepal मंगलबार, आषाढ ०२, २०७७

गृह मन्त्रालयले कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा परेका चार जिल्लालाई लकडाउन कडा बनाउन निर्देशन दिएको छ । दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर चार जिल्लालाई लकडाउन कडा बनाउन भनिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले क्यानडा नेपाललाई जानकारी दिए ।

उनकाअनुसार कोरोनाको उच्च जोखिममा परेका सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखमा लकडाउन कडा बनाउने भनिएको हो । यद्यपि स्वास्थ्य मन्त्रालय लकडाउन कडा बनाउनु आवश्यक छैन भने खुकुलो बनाइने उनको भनाइ छ ।‘ति चार जिल्लामा दैनिक कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेको छ । नागरिकको स्वास्थ्य सुरक्षामा ध्यान दिनु पर्ने हुन्छ,’ प्रवक्ता शर्माले भने, ‘यदी स्वास्थ्य मन्त्रालयले लकडाउन कडा बनाउनु आवश्यक छैन भन्यो भने खुकुलो बनाउँछौँ । तर, अहिलेका लागि ती जिल्लामा कडा बनाउन भनिएको छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म थपिएका ३ सय ८० सहित मुलुकभर कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९३ पुगेको छ । तर, उक्त चार जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक तुलनात्मक रुपमा बढिरहेका छन् ।