Jagaran Nepal मंगलबार, आषाढ ०२, २०७७

नेपालकै एक क्वारेन्टिनमा अनौठो विवाह भएको छ । रुकुममा अन्तरजातिय विवाहकै कारण ६ जनाको ज्यान गएको घटनाको चर्चा भइरहँदा दाङको एक क्वारेन्टिनमा भने अन्तरजातिय विवाह भएको हो । वडाअध्यक्ष सहित जनप्रतिनिधिको सहभागीतामा अन्तरजातिय विवाह भएको हो ।

दाङका घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको बेलघारी क्वारेन्टाइनमा बसेका एक जोडीले अन्तरजातिय विवाह गरेका छन् । त्यसको चाँजोपाँजो वडाध्यक्षले नै गराइदिएका हुन् । वडाध्यक्ष भरत अर्यालले जोडीकै आग्रहमा आफुले त्यसको अगुवाई गरेको बताएका छन् ।

भारतको दिल्लीबाट आएर उनीहरु केही दिन देखि क्वारेन्टिनमा बस्दै आएका थिए । उनीहरुले आफुहरु प्रेम सम्बन्धमा रहेको र विवाह गर्न चाहेको बताएपछि त्यसको ब्यवस्था गरिदिएको उनले बताएका छन् । वडाध्यक्षले नै दुवै तर्फका घर परिवारका सदस्यसंग सल्लाह गरेर विवाहको बातावरण गराइदिएका हुन् ।

उनीहरुको कोरोनाको परिक्षणको रिपोर्ट पनि आएको छैन । वडाध्यक्षले कोरोनाको पिसिआर रिपोर्ट आउँदा सम्म पर्खन जोडीलाई सुझाव दिएको भएपनि नमानेको बताएका छन् । आफुहरुको धर्म संस्कार अनुसार ९ महिनामा विवाह गर्न नमिल्ने भनेपछि उनीहरुको जेठ ३२ गते विवाह गराइदिएको बताएका छन् । विवाहमा क्वारेन्टिनमा बसेकाहरु जन्ती बनेका थिए ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ का समीर वली र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ की सीता चौधरीबीच क्वारेन्टाइनमै अन्तरजातीय विवाह भएको वडाध्यक्ष मल्लले बताएका छन् । उनीहरु जेठको पहिलो साता भारतवाट आएर क्वारेन्टिनमा बसेका थिए ।

भारतवाट आएका उनीहरुलाई क्वारेन्टिनमा अलग्गै राखिएको थियो । ३२ गते विवाह गरेका उनीहरुको पिसिआर रिपोर्ट असार १ गते सोमवार आएको छ । रिपोर्टमा उनीहरुलाई कोरोना नभएको पुष्टि भएको छ । तर उनीहरुसंगै बसेका मध्य ४ जनाको पिसिआर रिपोर्ट भने पोजेटिभ आएको थियो ।