Jagaran Nepal मंगलबार, आषाढ ०२, २०७७

राष्ट्रियसभा सदस्य राम नारायण विडारीले मन्त्रीहरुमा कामप्रति चासो र इच्छाशक्ति कम भएको आरोप लगाएका छन् । उनले अब बजेट खर्च नसक्ने मन्त्रीहरुले सामुहिक राजीनामा दिनुपर्ने पनि बताए । विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा भाग लिँदै विडारीले असारमा बजेट पारित भइसके पनि साउनबाट फटाफाट काम नगर्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताए ।

‘साउनबाटै काम शुरु गरी बजेट खर्च गर्न मन्त्रीहरुलाई के ले छेक्यो ?,’ उनले प्रश्न गरे, ‘चाँडै विकास निर्माणका बजेट ठिक समयमा खर्च होस भनेर असारमा बजेट पास हुन्छ । अनि साउनबाट फटाफाट काम गरे हुने नि । अनि मन्त्रीलाई काम गर्न केले छेक्यो ? कुन प्रेत आयो त्याँ कुन भूत आयो त्यो ? किन चैत महिनामा मात्रै अख्तियारी आयो भनेर हल्ला गर्दै हिड्ने ? यसपालि त कोभिडले चैत खायो, बैशाख खायो, जेठ खायो, असार खायो । अब ख्वाम ख्वाम पैसा सिध्याउने काम गर्ने, कागज बनाउन थालियो ।’

यो सरकारले यसपटकबाट यस्तो काम गरोस भन्दै उनले यति पनि गर्न नसके मन्त्रीहरुले सामुहिक राजनीनामा दिए हुने बताए । छुट्याएको बजेट खर्च गर्न नसेक किन तलब खाएर बसेको ? भन्दै उनले मन्त्रीले यो कुरा विचार गर्नुपर्ने बताए ।

विपक्षी दलहरुले समेत बजेट पुगेन भनेर भन्ने तर मन्त्रालयको खर्च १ सय रुपैयाँ राख्नुस् भनेर भन्ने प्रवित्तिले विकास हुन नसकेको उनको भनाइ थियो । उनले भने ‘विपक्षी झन त्यस्तै । पैसा यहाँ पुगेन त्याहाँ पुगेन भन्छ । अनि बजेट चाँही १ सय रुपैया मात्रै राखियोस् यो मन्त्रालयमा भन्छ । १ सय रुपैयाँ भन्छ अनि यो नि बनाइदे उ नी बनाइदे बजेट पुगेन भन्छ ।

विपक्षी यस्तै सत्ता उस्तै । अनि देश कसरी विकास हुन्छ ?’ राष्ट्रियसभाबाट जति सुझाव दिएपनि बजेटमा कुनै परिवर्तन नहुने कुराको विरोध गर्दै उनले बजेट संशोधन गर्दैमा सरकार तलमाथि नहुने बताए ।