Jagaran Nepal आइतबार, जेठ ३२, २०७७

मुम्बई । बलिउड अमिताभ वच्चन र आयुष्मान खुरानाको मुख्य भूमिका रहेको चलचित्र ‘गुलाबो सिताबो’ अनलाइनमार्फत बाहिरिएको छ । वैश्विक महामारीको रुप लिएको कोरोनाको संक्रमण बढेसँगै सिनेमा हलहरु बन्द भएका छन् । यसकारण सो चलचित्र डिजिटल प्लेटफर्म अमेजन प्राइममार्फत रिलिज भएको थियो ।

हलमा रिलिज नभई डिजिटल प्लेटफर्ममा रिलिज हुने यो पहिलो हिन्दी चलचित्र थियो । चलचित्रको एचडी भर्सन तामिलरकर्स नामको वेभसाइटमा लिक भएको हो । यो चलचित्र शुक्रबारमात्रै रिलिज भएको थियो । रिलिज भएलगत्तै यसलाई लिक गराएपछि डिजिटल प्लेटफर्मको व्यापारसमेत प्रभावित हुने जनाइएको छ ।

तामिलरकर्सले आफ्ना युजर्सहरूलाई पाइरेटेड चलचित्रहरू उपलब्ध गराउँदै आएको छ । अभिनेता अमिताभ र आयुष्मानले एकसाथ काम गरेको यो चलचित्र पहिलो हो । चलचित्रमा दुवै जनाको अभिनयलाई दर्शकले निकै रुचाएको भारतीय सञ्चार माध्यमले जिकिर गरेका छन् । यस चलचित्रमा अभिनेता अमिताभ एक पुरानो बंगलाको मालिकको भूमिकामा देखिएका छन् । त्यस्तै, अभिनेता आयुष्मानले भाडावालाको भूमिकामा अभिनय गरेका छन् ।