Jagaran Nepal आइतबार, जेठ ३२, २०७७

काठमाडौँ । नेपालमा अर्का कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ।गुल्मीको रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासको आइसोलेसनमा उपचाररत पुरुषको गएराति मृत्यु भएको रेसुङ्गा–९ का वडाध्यक्ष नारायण सुनारले डिसी नेपाललाई बताए ।

उनले भने “उहाँ २०–२२ दिनदेखि हाम्रै सम्पर्कमा हुनुहुन्थ्यो । जेठ १२ गते कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि उहाँलाई तम्घासमा रहेको आइशोलेसमा राखेर उपचार गराइरहेका थियौँ । तर उहाँलाई बँचाउन सकेनौँ ।”

धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी मृतक ३६ वर्षीय ती पुरुषलाई आन्द्राको क्यान्सर रहेको स्वास्थ्यकर्मीलाई उदृत गर्दै वडाध्यक्ष सुनारले बताए। उनी भारतबाट आएर धुर्कोट क्वारेन्टिनमा बसेका थिए।

यो सँगै नेपालमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । मृतकको शवलाई शनिबार राति नै नेपाली सेनाले व्यवस्थापन गरेको छ।यसअघि पनि गुल्मीमा कोरोना संक्रमणबाट एक शिक्षकको मृत्यु भएको थियो।