Jagaran Nepal शनिबार, जेठ ३१, २०७७

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का सांसद राजेन्द्र महतोले लिम्पियाधुरासम्मको भूमि नेपालकै भएकाले जसरी पनि फिर्ता ल्याउनुपर्ने बताएका छन् । संविधान दोस्रो संशोधन विधेयक प्रस्तावमाथिको छलफलमा महतोले राष्ट्रियताको विषयमा कोहीसँग सम्झौता हुन नसक्ने भन्दै भूमि फिर्ता ल्याउनकै लागि सरकारलाई आफूहरूले साथ दिएकाे बताएका हुन् ।राष्ट्रियतासँग जोडिएको अत्यावश्यक विषय भएकाले संविधान संशोधनको पक्षमा आफूहरू उभिएको उनले बताए ।
अन्य समाचार : भर्खरै देउवाको यस्तो घोषणा ! नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा राष्ट्रियता झल्किएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको छलफलमा पार्टी संसदीय दलका नेता देउवाले संविधान संशोधनमा सबै दलको समर्थन देखिनाले नेपालीबीचको राष्ट्रिय एकता झल्किएको बताउनुभयो ।

“ जुनसुकै पार्टी होऊन् राष्ट्रियताका पक्षमा एकताबद्ध छन्, राष्ट्रको सार्वभौमिकताका लागि, राष्ट्रको अखण्डताको लागि नेपाली एक छन् भन्ने कुरा प्रष्ट भएको छ”, पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो । उहाँले विधेयकमा आफ्नो पार्टीको समर्थन रहेको समेत जानकारी दिँदै आफ्नो पार्टीको केन्द्रीय समितिले संशोधनका पक्षमा समर्थन गर्ने निर्णय गरेको बताउनुभयो । आगामी दिनमा जमीन फिर्ता ल्याउने विषयमा पनि आफ्नो पार्टीको समर्थन हुने उहाँको भनाइ थियो ।

सभापति देउवाले सुगौली सन्धि १८१६ अनुसार कालीनदी पूर्वको जमीन नेपालको हो भन्ने कुरा स्पष्ट रहेको तथा अंग्रेज र चीनले छापेको नक्शामा पनि काली नदीपूर्वको जमीन नेपालको भएको स्पष्ट रहेको बताउनुभयो ।

संविधान संशोधनको पक्षमा मतदान गर्ने काँग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा काँग्रेस संसदीय दलको आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपालको संविधानको धारा ९ को उपधारा (२) सँग सम्बन्धित अनुसूची–३ मा रहेको नेपालको निशान छाप परिवर्तनका लागि सरकारले प्रस्तुत गरेको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा मतदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो । काँग्रेस संसदीय दलको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा मतदान गर्न काँग्रेसका सबै सांसदलाई संसद्मा अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत गरेको छ ।