Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

काठमाडौँ । सरकारले विहिवार देखि नीजि सवारी साधन स्वास्थ्य सावधानी अपनाउँदै सञ्चालन गर्न अनुमति दियो । दुई पांग्रे मोटरसाइकल र स्कुटरलाई जोर विजोर नियम लागू हुँदैन भने अन्य नीजि सवारी साधन जोर विजोर नियम पालना गर्दै सञ्चालन गर्न पाइन्छ । सरकारको यो निर्णय संगै सर्वसाधारणमा एउटा अन्यौलता बढेको छ । सरकारले गरेको निर्णय एउटा जिल्ला भित्रका लागि मात्रै हो वा नीजि सवारी साधन चलाएर अन्य जिल्लाा पनि जान पाइन्छ ?

चैत ११ गते देखि जारी लकडाउन ८० दिन पुरा हुँदा सम्म सर्वसाधारण आजित बनेका छन् । त्यसैले सरकारी निर्णयसंगै केही राहत महशुष गरेका छन् । लामो समयसम्म थन्क्याएका सवारी साधन झिक्न थालेका छन् । काठमाडौंमा अब दैनिकी सामान्य देखिन थालेको छ । नीजि सवारी साधनमा गते अनुसार जोरबिजोर नियम लागू हुन्छ । जोर गतेमा जोर र विजोर गतेमा विजोर नम्बर प्लेटका सवारी साधन चलाउन पाइन्छ ।

तर काठमाडौं, भक्तपुर र ललितपुर उपत्यकामा बस्नेहरुको दैनिकी एक अर्का जिल्लामा निहित छ । भक्तपुर बस्नेहरुलाई काठमाडौं र ललितपुर पुग्नुपर्छ भने अन्य जिल्लाका लागि अरु जिल्लामा जानुपर्छ । विहिवार देखि निजी सवारी साधन चलाउने निर्णय भएको भए पनि तीन जिल्ला छोड्न वा उपत्यका आउन भने पाउने छैनन्। यो कुरा स्पष्ट नभनेका कारण सर्वसाधारणा अन्यौलता बढेको छ । अब सिन्धुपाल्चोक, काभ्रे, वा कुनै जिल्ला जान चाहने हो भने त्यसको अनुमति छैन । फरक जिल्ला भएपनि काठमाडौँ उपत्यकाभित्र भएका सवारीले तीन जिल्लाहरू काठमाडौँ, भक्तपुर र ललितपुर भने चलाउन पाउनेछन् । यि तिन जिल्लाको नाकाबाट बाहिर जान पाइँदैन ।

सरकारले नयाँ नियम लागू नगरेका कारण अन्य जिल्लामा जानका लागि यस अघि कै नियम लागू हुन्छ । सवारी पास लिएर अति आवश्यक परेकाहरुले मात्र पाउने छन् । अर्थात् एक जिल्लाबाट अर्को जिल्लामा जानु पर्ने भए कारण खुलाएर सम्बन्धित जिल्ला र जानु पर्ने जिल्ला प्रशासन कार्यालयको समन्वयमा मात्र जान पाइने छ। काठमाडौँ उपत्यकाभित्र आउनका लागि पनि गृह मन्त्रालयसँग समन्वय गरेर मात्र आउन पाउने नियम छ । तर, त्यसका लागि पनि नाकामा कोरोना नभएको रिपोर्ट पेश गर्नुपर्ने अनिवार्य नियम छ । आगन्तुकले आरडिटी परिक्षणको रिपोर्ट देखाउनुपर्ने छ । जोरबिजोर लागू भएको सवारी साधनमा पनि चार पाङ्ग्रेले चालक बाहेक दुई जना र दुई पाङ्ग्रे सवारी साधनले चालक मात्र बोक्न पाउने व्यवस्था गरिएको हो।