Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

एसियाली राष्ट्रमध्ये नेपालमा भइरहेको कोरोना परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । विश्वभर कोरोना भाइरस सङ्क्रमणको तथ्याङ्क अपडेट गर्दै आएको वल्र्डमिटरले नेपालको कोरोना परीक्षण दर जापान, थाइल्यान्डभन्दा अगाडि रहेको देखाएको छ । कोभिड–१९ बारे ताजा तथ्याङ्क दिने वेबसाइट वल्र्डमिटरका अनुसार प्रति १० लाख जनसङ्ख्यामा नेपालले नौ हजार ७४५ जनाको कोरोना परीक्षण गरिरहेको छ । जुन सार्क मुलुकमा अरूकोभन्दा राम्रो हो ।

छिमेकी देश भारतमा १० लाख जनसङ्ख्यामा तीन हजार ६७० जनाको परीक्षण भएको छ । तथ्याङ्कले जापान, थाइल्यान्ड र पाकिस्तानभन्दा पनि नेपाल अगाडि देखिएको छ ।कोरोना नियन्त्रणका लागि क्यानाडा र बेलायतका विदशेमन्त्रीसँग मन्त्री ज्ञवालीको वार्तापरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्यानाडाका विदेशमन्त्री फ्रान्कोइस फिलिप चाम्पाने र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदसँग बेग्लाबेग्लै टेलिफोन वार्ता गर्नुभएको छ ।

वार्तामा मन्त्रीत्रयबीच कोभिड–१९ को महामारी तथा त्यसको नियन्त्रणका लागि आफ्नो देशका सरकारले निर्वाह गरेका भूमिकाबारे विचारविमर्श हुनुका साथै अहिलेको कठिन परिस्थितिमा सहकार्य र साझेदारीमा उहाँहरूले जोड दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वार्ताका क्रममा नेपालमा रहेका क्यानडाली र बेलायती नागरिक तथा बेलायत र क्यानाडामा रहेका नेपालीलाई सहयोग गर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गर्ने तत्परता उहाँहरूले व्यक्त गर्नुभयो । कोभिड–१९ विरुद्ध आ–आफ्ना सरकारले चालेका कदमप्रति उहाँहरूले ऐक्यबद्धता जनाउनु भएको, सङ्क्रमितहरूको शीघ्र स्वास्थ्यलाभ तथा ज्यान गुमाएकाहरूका परिवारजनमा सहानुभूति र समवेदन प्रकट गर्नुभयो । कोभिड–१९ लाई परास्त गर्न विश्वव्यापी एकता, सहयोग र साझेदारीमा पनि उहाँहरूले जोड दिनुभयो ।

उहाँहरूले द्विपक्षीय, क्षेत्रीय विश्वव्यापी साझा चासोका विषयहरूमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वार्ताका क्रममा विकासशील देशहरूका विकासका कार्यसूची, जलवायु परिवर्तन र बहुपक्षीयताजस्ता विषयमा नेपालसँग साझेदारी गर्ने आश्वासन क्यानाडाका विदेशमन्त्रीले दिनुभएको र बेलायतका विदेशराज्यमन्त्रीले महामारीपछिको नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने दृढता व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।