Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

रुपनी जी.एम / पार्वती बस्नेत । नाम महेश चौधरी । घर घोराही उपमहानगरपालिका वार्ड नम्बर ८ नारायणपुर बुटनिया । पेशाले उनी ऐम्बुलेन्स चालक । उनले एम्बुलेन्स चलाउन थालेको १० बर्ष हुुंदैछ । उनको ५ जनाको परिवार छ । आफु र श्रीमती अनि साथमा १ छोरा र २ छोरी उनी भन्छन् यो समय कोरोनाले निम्त्याएको संकटको समय हो । यस्तो सममयमा जस्ले जे जिम्मेवारी पाएको छ त्यस्ले त्यही निभाउने हो । त्यसैले आफु एम्बुलेन्स चालक भएको हुनाले उनले अहिले आफुले पाएको त्यही जिम्मेवारी निभाई रहेको बताउँछन् । उनको भनाईमा यस्तो महामारीको बेला आफ्नो जिम्मेवारीबाट पञ्छिनु भनेको कायर हुनु हो । उनी भन्छन्,‘हामी त सधैं बिरामी बोक्ने चालक ।

अनि यो बिपद्को अवस्थामा आफनो पेशा र जिम्मेवारीदेखी पन्छिन मनले मानेन । आफनो रोजिरोटी चल्ने अनि मानबसेवा पनि हुने भएकाले मैले यो पेशा रोजेको हँु । संकटको यो समयमा गाह्रो काम गर्न गाह्रो त छ नै । तर मनले आँटेपछि जस्तोसुकै कठिन कामपनि गर्न सकिने रहेछ । यस्तो बेला कामबाट पञ्छिनु भनेको कायर हुनु हो ।’

पछिल्लो समय महेश घर नगएको पनि १७ दिन भएको रहेछ । उनले यो लकडाउनको समयमा हिजोआज दिनमा कम्तीमा १३ पटक सम्म एम्बुलेन्सबाट मान्छे ओसार पसार गर्ने गर्दछन् । उनको अनुभवमा क्वारेन्टाईनमा बस्नेहरुको चाप यसरी बढदै जाने हो भने ५वटा एम्बुलेन्सले पनि नपुग्ने उनी बताउँछन् । घोराहीमा शुरुमा ८ जना कोरोना पोजेटिभ देखिएका थिए । ती आठै जनालाई महेश आफैले एम्बुलेन्समा बोकेर आईसोलेसन वार्ड बेलभुण्डीसम्म लगेको बताउँछन् ।

दिनमा १३ पटकसम्म बिरामी ओसार्नु पर्ने भएकोले घर जान पनि असम्भव नै हुने महेशले बताए । सावधानी अपनाउँदा नाउँदै आफैलाई कोरोना सरिहाल्यो भने आफुसंगै परिवारलाई सर्ने डरले महेश हिजोआज घरै नगएको पनि बताउँछन् । उनी भन्छन्,‘यसरी कोरोनाको शंकास्पद बिरामीहरु बोक्न थालेपछि दिन्कै घर गएर पनि नहुने । आफुसंगै घरका सबै जोखिममा पर्लान् भनेर नै सुरक्षाको माग सहित हामीले बस्ने बासँको ब्यवस्था गरिदिनका लागी घोराही उपमहानगरपालिकासँग आग्रह गरेका छौं ।’

महेशका अनुसार घोराही उपमहानगरपालिकाले बस्ने ब्यवस्था गरेपनि खानका लागी भने त्याहाँका स्थानीय ९समाजसेवी० ले नै आफुहरुलाई रासनपानीको जोहो गरिदिएको रहेछन् । आफुहरले खाने खाना भने महेश र उनीसंगै बस्ने अन्य एम्बुलेन्स चालकले आफै नै आलोपालो गर्दै पकाएर खाने गरेको महेश बताउँछन् । एम्बुलेन्स चलाउन थालेदेखी आजसम्म महेशले जम्मा १ पटक मात्रै नेपाल रेडक्रस सोसाईटीले दिएको ४ दिने बिरामी कसरी बोक्नुपर्छ भन्ने तालिम लिएको रहेछन् । उनको अनुभवमा अहिलेको समय पहिलाको भन्दा निकै फरक छ ।

सबै चालकले कोरोना संक्रमितलाई बोकदा पर्याउनु पर्ने तालिम नलिएको महेश बताउँछन् । उनी भन्छन्,‘यो अबस्थामा चालकहरुले तालिम बिना नै कोरोनाको शंकास्पद तथा संक्रमितका बिरामीहरुलाई बोकिरहेका छौ । हामीलाई उचित र आवश्यकीय तालिमको व्यवस्था नगरिएको हुनाले मनमा डर लागी रहन्छ । हामी सबै एम्बुलेन्स चालकहरुको अनुरोधमा घोराही उपमहानगरपालिकाले थोरै आर्थिक सहयोग गरेर चालक बस्ने ठाँउमा पाटेसन समेत गरिदिएको छ । हामीले गरेको पाटेसन देखेपछि अन्य सवारी साधनका चालकहरुले पनि हिजोआज आफनै खर्चमा पाटेसन गर्न थालेका छन् ।’

महेश भन्छन्,‘अन्य चालकहरुलाई हेर्ने नजरभन्दा अल्लि सम्मानजनक पेशा भनेर रोजेको मेरो यो पेशाले अहिले मलाई घरपरिवार देखी एक्लै बस्न बाध्य बनाएको छ । घोराहीमै बस्न थालेपछि यी लकडाउनको समयमा नै मेरो छोरीको जन्मदिन पर्यो । फोनमा छोरीको आवाज सुनें । अनि मन थाम्नै सकिन । र म एकैछिन भएपनि घर गएँ ।’

कुराकानीलाई निरन्तरता दिने क्रममा महेशले सुनाए छोरा बिरामी हुँदाको त्यो पललाई सम्झंदै महेश भन्छन्,,‘घर गएपनि बाहिरैबाट छोरीलाई शुभकामना र चक्लेट दिएर फर्किएँ । यसै बीचमा मेरो १८ महिनाको छोरो बिरामी पर्यो । श्रीमतीले छोरालाई अस्पताल लगीन् । त्याहाँ पनि मैले छोरालाई टाढैबाट हेरेको थिएँ । तर छोराले बाबु चिनेरै होला, छोरा अत्ति रोयो अनि मेरो मन कटक्क खायर आयो । त्यसपछि पन्जा, मास्क र रेन्कोट लगायरै एकैछिन छोरोलाई उचालेको थिएँ ।’

आत्मबल उच्च पार्दै महेश भन्छन्,‘कोरोनाकै संक्रमित तथा शंकास्पद ब्यक्तिहरुलाई दिनरात बोकेरै हिँड्ने हुंदा यो अवधिमा मैले पनि १ पटक कोरोनको टेस्ट गराएको छु । रिपोर्ट नेगेटिभ नै आयो । कोरोनाले मरेका पनि छन् । तर बाँचेर घर फर्किएकाहरु पनि त छन् नि । भन्ने सोंच्छु आत्मबल ठुलो बनाउछु । र साबधानि अपनाएकै छु । त्यसैले मलाई कोरोना लाग्नेछैन् भन्नेमा ढुक्क छु । यदि कोरोना लागिहालेछ भनेपनि त्यसलाई जितेरै भएपनि म समाजसेवा सँगै आफनो घरपरिवार सँग रमाउने गरी फर्किनेछु । भन्ने कुरामा बिश्वसत छु ।’ source: etajakhabar