Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

काठमाडौँ, ३० जेठ । दक्षिण अमेरिकी मुलुक ब्राजिल पछिल्लो समय कोरोना भाइरस ९कोभिड– १९० महामारीको नयाँ केन्द्र बनेको छ । सबैभन्दा बढी संक्रमित रहेको संयुक्त राज्य अमेरिकाको भन्दा पनि बढी दैनिक मृत्यु र संक्रमणका केस ब्राजिलमा फेला परिरहेका छन् ।

ब्राजिलमा कोरोना संक्रमित संख्या ८ लाख नाघेको छ । बिहीबार ब्राजिलमा एकै दिन ३० हजार ४६५ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसकै कारण बिहीबार एक दिनमा १ हजार २६१ जनाको ज्यान गएको छ । अहिले ब्राजिल दैनिक नयाँ संक्रमित थपिनेमा मात्र नभएर दैनिक मृत्यु संख्यामा पनि विश्वकै पहिलो स्थानमा देखिएको छ ।

कोरोना संक्रमित देशको लहरमा दोस्रो स्थानमा रहेको ब्राजिलमा शुक्रबार बिहानसम्म जम्मा संक्रमित संख्या ८ लाख ५ हजार ६४९ पुगेको छ । त्यहाँ अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ हजार ५८ पुगेको छ । मृत्युका हिसाबले अहिले ब्राजिलले बेलायतलाइ उछिन्न लागेको छ । बेलायतमा अहिलेसम्म ४१ हजार २७९ जनाको मृत्यु कोरोना भाइरस संक्रमणकै कारण भएको छ ।

यद्यपि ब्राजिलमा कुल संक्रमितमध्ये ३ लाख ९६ हजारभन्दा बढी मानिसचाहिँ निको भइसकेका छन् । बिहीबार मात्र एकै दिनमा १६ हजार ३९२ जना निको भएको वर्ल्डोमिटर्सले जनाएको छ । त्यहाँ हाल ३ लाख ६७ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस सक्रिय छ । ब्राजिलमा निको हुने दर अमेरिकाको भन्दा बढी छ ।

उता विश्वमा सबैभन्दा बढी कोरोना संक्रमण र मृत्युका केसहरु रहेको संयुक्त राज्य अमेरिकामा दैनिक मृतक संख्या अहिले घट्न सकेको छैन । बिहीबार त्यहाँ भाइरस संक्रमणका कारण ९०० जनाको मृत्यु भएको छ भने २३ हजार २९५ नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा कुल संक्रमित संख्या २० लाख ८९ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख हजार १६ हजार ३० जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् । तर ८ लाख १६ हजारभन्दा बढी मानिस निको समेत भइसकेका छन् । हाल त्यहाँ ११ लाख ५७ हजारबढी मानिसमा भाइरस सक्रिय छ ।