Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

काठमाडौँ, ३० जेठ । सुनको मूल्य कीर्तिमानी स्तरतर्फ उक्लिन थालेको छ। बिहीबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ तोलाको ८९ हजार ६ सय तोकेको छ भने नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले ८९ हजार ७ सय तोकेको छ ।

लामो समयदेखि यी दुई संस्थाले सुनचाँदीको मूल्य निर्धारण गरेर आफ्ना सदस्यलाई उपलब्ध गराउँदै आएका छन् । त्यसै अनुरूप सुनचाँदीको कारोबार भइरहेको छ । जुन महिनाको सुरुमा सुनचाँदी, रत्न तथा आभूषण महासंघले सुनको भाउ तोलाको ९० हजार रुपैयाँसम्म तोकेको थियो । अर्को महासंघले त्यसबेलासम्म मूल्य निर्धारण स्थगित नै गरेको थियो ।

सुनचाँदी व्यवसायी महासंघले २५ जेठदेखि सुनचाँदीको मूल्य निर्धारण गर्न थालेको हो । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले भने १४ जेठबाटै मूल्य निर्धारण सुरु गरेको थियो । दुवै महासंघले ११ चैतबाट बन्दाबन्दी घोषणा भएपछि सोही दिनदेखि मूल्य निर्धारण स्थगित गरेका थिए ।

केही महिनायता अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ उतारचढावमा देखिन्छ। पछिल्लो दुई महिनाको व्यापारमा अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य प्रतिऔंश १६७६ डलरदेखि १७४६ डलरसम्म पुगेको छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।