Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं । सुनको मूल्य कीर्तिमानी स्तरतर्फ उक्लिन थालेको छ । बिहीबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ तोलाको ८९ हजार ६ सय तोकेको छ भने नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले ८९ हजार ७ सय तोकेको छ ।

लामो समयदेखि यी दुई संस्थाले सुनचाँदीको मूल्य निर्धारण गरेर आफ्ना सदस्यलाई उपलब्ध गराउँदै आएका छन् । त्यसै अनुरूप सुनचाँदीको कारोबार भइरहेको छ । जुन महिनाको सुरुमा सुनचाँदी, रत्न तथा आभूषण महासंघले सुनको भाउ तोलाको ९० हजार रुपैयाँसम्म तोकेको थियो । अर्को महासंघले त्यसबेलासम्म मूल्य निर्धारण स्थगित नै गरेको थियो ।

सुनचाँदी व्यवसायी महासंघले २५ जेठदेखि सुनचाँदीको मूल्य निर्धारण गर्न थालेको हो । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले भने १४ जेठबाटै मूल्य निर्धारण सुरु गरेको थियो । दुवै महासंघले ११ चैतबाट बन्दाबन्दी घोषणा भएपछि सोही दिनदेखि मूल्य निर्धारण स्थगित गरेका थिए ।

केही महिनायता अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ उतारचढावमा देखिन्छ । पछिल्लो दुई महिनाको व्यापारमा अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य प्रतिऔंश १६७६ डलरदेखि १७४६ डलरसम्म पुगेको छ । यो अत्यन्त अस्थिर मूल्यको परिचायक हो । अन्तर्राष्ट्रिय बजारको मूल्य अस्थिरताले नेपाली बजारमा पनि सुन महँगिन सघाउ पुगेको छ ।

यसरी हुन्छ सुनको मूल्य निर्धारण

हाम्रा छिमेकका सुन पसलले हरेक दिन मूल्य निर्धारण कसरी गर्छन् होला ? नेपाल सुनचाँदी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य भन्छन्, ‘मूल रूपमा न्युयोर्क एक्सचेञ्जको कारोबार दरलाई आधार मानेर मूल्य तय हुन्छ । तर, भारत र दुबईको मूल्य प्रवृत्तिलाई पनि ध्यानमा राखेर मूल्य निर्धारण समितिले भाउ तय गर्छ ।’

शाक्यका अनुसार नेपाली समयअनुसार विहान १० बजेको अन्तर्राष्ट्रिय बजारको मूल्यलाई नेपालमा मूल्य निर्धारणको आधार मानिन्छ । सोही सन्दर्भ मूल्यमा सो दिनका लागि राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात् डलरको मूल्यले गुणन गरिन्छ। यसरी आएको गुणनफलमा प्रतिग्राम सरकारले लिने ८५० रुपैयाँ भन्सार जोडिन्छ ।

अब त्यो मूल्यमा १ प्रतिशत ह्यान्डलिङ शुल्क जोड्ने र थप १ प्रतिशत मुनाफा जोड्ने गरिन्छ’, शाक्य भन्छन्, ‘त्यो मुनाफा ०.५ प्रतिशत आयातकर्ता बैंकले र ०.५ प्रतिशत सुनचाँदी व्यवसायीले राख्छन् ।’ सुन आयातगर्दा लाग्ने बीमा लगायतका दायित्व भुक्तानी गर्न ह्यान्डलिङ शुल्क लाग्ने उनले बताए ।

यसरी अन्तर्राष्ट्रिय बजारमा सुन महँगिँदा वा डलरको भाउ नेपाली मुद्राको तुलनामा महँगो हुँदा पनि नेपाली बजारमा सुन महँगिन्छ । सरकारले भन्सार राजस्वको दर बढाई दिएको अवस्थामा पनि सुन महँगिन्छ । अहिले यी तिनै कुराले नेपालीका लागि सुन ज्यादै महँगो भएको हो ।
-अन्नपूर्ण पोष्ट दैनिक