Jagaran Nepal बिहिबार, जेठ २९, २०७७

काठमाडौं। नेपालमा पहिलो कोरोना संक्रमित माघ ९ गते पुष्टि भएको थियो । चीनको वुहानबाट आएका जनकपुरका एक विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी एक महिनाको उपचारपछि निको भएर घर फर्किएका थिए।

दुई महिनापछि फ्रान्सबाट आएकी एक युवतीमा चैत पहिलो साता कोरोना संक्रमण देखियो । उनी कतार एयरवेजमा दुबई हुँदै आएकी थिइन्। चैतको पहिलो सातासम्म नेपालमा दुईजना संक्रमितमध्ये एक निको भइसकेका थिए।

अर्कोको आइसोलेसनमा राखेर उपचार हुँदै थियो । तर, सरकारले एक हप्ते लकडाउनको निर्णय गर्यो । दुई सातासम्म नेपालमा कडा लकडाउन भयो । त्यसबेला तीन–चारजना मात्र संक्रमित थपिएका थिए । तर, गृह मन्त्रालयको निर्देशनमा देशव्यापी लकडाउन कडा बनाइयो। मानिसलाई सडकमा हिँड्न दिइएन । अत्यावश्यकबाहेक सबै सेवा ठप्प पारियो।

तर, अहिले कोरोना संक्रमितको संख्या दिनप्रतिदिन तीव्र बढिरहेको छ । हालसम्म ४४ सय संक्रमित भइसकेका छन् । तर, सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । जतिबेला थोरै संक्रमित थिए, त्यतिबेला लकडाउन कडा पार्ने, अहिले ४४ सय संक्रमित पुगेपछि लकडाउन खुकुलो बनाउने भन्दै सरकारको आलोचना हुन थालेको छ।

अहिलेसम्म पुष्टि भएका कोरोना संक्रमितमध्ये ८० प्रतिशतभन्दा बढी नेपाली पछिल्लो समय भारतबाट आएका रहेको पाइएको छ । सरकारले बिहीबारदेखि लकडाउन खुकुलो बनाउने निर्णय गरेपछि सडकमा सवारीसाधनको चाप बढेको छ । मान्छे सडकमा हूलका हूल निस्किन थालेका छन्।

अधिकांश पसल खोलिएका छन् । मानिसको बाक्लो आवागमन हुँदा कोरोना संक्रमण फैलिने सम्भावना बढी रहेको चिकित्सकहरूको भनाइ छ। यस्तो अवस्थामा पनि सुरक्षा सतर्कता र सामाजिक दूरी भने पालना गर्नुपर्ने उनीहरूको भनाइ छ।