Jagaran Nepal बिहिबार, जेठ २९, २०७७

डोटी, २९ जेठ । सदरमुकाम देखि टाढा, ग्रामिण भेगमा क्वारेन्टिनमा राखिएका कोरोनाको जोखिममा रहेकाहरुलाई स्वास्थ्य सेवा दिने कुनै उपाय नभएपछि उनीहरुलाई झारफुक गर्ने गरिएको छ । डोटीको केआईसिंह गाउँपालिका–३ स्थित सीताराम आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेकाहरुलाई झारफुक गर्न लागिएको छ ।

नजिक कुनै स्वास्थ्य चौकी नभएको र उपचारका अन्य कुनै उपाय नभएपछि झारफुक गरिएको हो । क्वारेन्टिनमा रहेका एक बालकलाई स्वास्थ्य समस्या देखियो । तर उपचार गर्ने कुनै संयन्त्र थिएन । १२ वर्ष देखि मुटुका समस्यामा रहेका उनलाई उपचारको कुनै ब्यवस्था हुन सकेन ।

छोरा क्वारेन्टिनमै विरामी भएपछि उनका बुवाले उपचार गर्न नपाएर झारफुक गरेका छन । आफै झारफुकको काम गर्ने उनी छोराको नाडी समातेर झारफुक गर्न लागेको स्थानियले बताएका छन् । तर त्यती गर्दा पनि उनले छोरालाई बचाउन सकेनन् । उपचार नपाएर मुटु रोगी नरेशको निधन भयो ।

दुर्गम क्षेत्रमा निर्माण गरिएका क्वारेन्टिनमा यस्ता समस्या बढ्दै गएका छन् । क्वारेन्टिनमा बसेकाहरुलाई मानसिक रोगको समस्या पनि देखिएको छ । रोगका बारेमा सुनेका अफवाह र हल्लाका कारण मनमा डर बसेको छ । त्यसैले क्वारेन्टिनमा बसेकाहरुमा मानसिक समस्या देखिएको हो ।
क्वारेन्टिनमा बसेका महिला बालबालिका अचानक काप्न थालेका छन् ।

दिपायल सिलगढी नगरपालिका–१ स्थित मगलेख उच्च माविको क्वारेन्टाइनमा मंगलबार राति यस्तै समस्या भयो । त्यहाँका बालिका र महिला काप्न र रुन थाले । क्वारेन्टाइनमा रहेका अन्य १ सय ५४ जनाबीच अ’त्ताए । तर उपचारको कुनै उपाय नभएपछि दिपायलबाट राति गाउँ पुगेका वडा नं. २ का अध्यक्ष राजेन्द्र खड्का, कांग्रेस नेता विजय खड्काले उनीहरूलाई सान्त्वना दिन झारफुक गर्न लगाए

त्यसरी क्वारेन्टिनमा बसेकाहरुमा स्वास्थ्य समस्या देखिएपछि सान्त्वनाकै लागि झारफुक गर्न लागिएको हो । विकट क्षेत्रका क्वारेन्टिनमा यस्तै समस्या छ । तर तत्काल स्वास्थ्य चौकी लैजान पनि नसकिने र अन्य उपचार पनि सम्भव नहुने भएकाले झारफुक गर्न लागिएको जनप्रतिनिधिहरुले बताएका छन् ।