Jagaran Nepal शुक्रबार, जेठ ०२, २०७७

काठमाडौं । सुगौली सन्धिले लिम्पियाधुरा मुहान भई बगेको काली नदीलाई सीमा स्वीकारे पनि नेपालको नक्सामा किन त्यो समेटिएन भन्ने गम्भीर प्रश्न उब्जिएको छ। सुगौली सन्धिपछि ब्रिटिस सरकारले निकालेको नक्सामा लिम्पियाधुरालाई नेपालमै रहेको स्पष्ट देखाइएको छ। यद्यपि २०३२ सालमा नापी विभागले प्रकाशन गरेको राजनीतिक नक्सामा लिम्पियाधुरा किन समेटिएन ?

नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठका अनुसार नक्सा तयार पार्ने क्रममा कालापानी क्षेत्रको सीमामा द्विविधा देखियो। लिपुलेक र कालापानी मात्र राख्ने कि लिम्पियाधुरासमेत नक्सामा समेट्ने ? उनका अनुसार लिम्पियाधुरा समेटिएको नक्सा पनि तयार पारियो । लिपुलेक र कालापानी मात्रै समेटिएको नक्सा पनि तयार गरी ‘माथिल्लो’ निकायमा प्रस्तुत गरियो।त्यो बेला ‘माथिल्लो’ निकायका रूपमा दरबारमा दुवै खालको नक्सा बुझाइएको सीमाविद् श्रेष्ठ स्मरण गर्छन्।

प्राप्त आदेश अनुसार लिम्पियाधुरा बिनाको नेपालको नक्सा तयार पारी सार्वजनिक गरिएको उनको भनाई छ।नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओलीले सुरुका दिनमा भारतमा छापिएका नक्सा नै नेपालका सरकारी कार्यालयमा प्रयोग हुने गरेको स्मरण गर्दै ती नक्सामा लिम्पियाधुरा नेपालकै भूभागमा पाइएको बताए।नापी विभागबाट तयार पारिएको नक्सामा किन लिम्पियाधुरा समेटिएन भन्ने जिज्ञासामा उनले कालापानी क्षेत्रमा विवाद रहेकाले कहाँसम्म नक्सामा समेट्ने भन्ने समस्या भएको र समस्या नदेखिएको ठाउँ मात्र नक्सामा समेटिएको बताउँछन्।यो खबर आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन्।

याे पनि उपत्यकामा अपरिचितलाई प्रवेशमा रोक काठमाडौं । उपत्यकाका १८ वटै नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाउने जनाएका छन् ।नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाएर वडा कार्यालय वा प्रहरीलाई खबर गर्न निर्देशन दिएका छन् ।

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि पाहुना लाग्नेदेखि उपत्यका बाहिरबाट आफ्ना घर कोठामा भित्रिने सम्मलाई थप कडाइ गरिएको छ ।मङ्गलबार साँझ काठमाडौँको चन्द्रागिरि नगरपालिकामा, मध्यपुर ठिमी र चाँगुनारायण नगरपालिकामा एकरएक जना गरी तीन व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सरकारले पनि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न नाका जोडिएका स्थानीय तहलाई आग्रह गरेको छ ।

कतै अपरिचित व्यक्तिलाई पालिकाभित्र प्रवेश निषेध गरिएको छ भने कतै अत्यावश्यक बाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ । त्यस्तै निर्माण सामग्री बोक्ने सवारी साधन रातको समयमा मात्र सञ्चालन गरिएको छ । सडकमा प्रहरीले कडा चेकजाँच गर्न थालेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।