Jagaran Nepal बिहिबार, बैशाख २५, २०७७

कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर–७ का नरबहादुर सुनारले २ वैशाख २०७७ मा ज्यान गुमाए । एकदशकदेखि मिर्गौला बिरामी नरबहादुरले ‘लकडाउन’ शुरू भएपछि घरमै ‘पेरोटोनियल डायलोसिस’ (पेटमा सर्जरी गरेर राखिएको पाइपमा आठ घण्टाको फरकमा आफैंले औषधि राख्न सकिने विधि) गर्दै आएका थिए । छोरा भारतीय सेनामा काम गर्ने भएकोले उनले ‘पेरोटोनियल डायलोसिस’ का लागि आवश्यक औषधि भारतबाट सहुलियतमा पाउने गर्थे ।

लकडाउन शुरू भएपछि सुनारले भारतबाट औषधि ल्याउन सकेनन् । धेरै जोडबल गरेर काठमाडौंबाट औषधि त मगाइयो तर औषधि पुगेको भोलिपल्ट नै उनी बिते । भान्जा राजकुमार सुनार भन्छन्, “मामाले एकसाता जति ‘पेरिटोनियल डायलोसिस’ को औषधि शरीरमा फेर्न पाउनुभएको थिएन ।”

कञ्चनपुरकै पुनर्वास नगरपालिका वडा नम्बर–५ सिमरीका २४ वर्षीय अनिरुद्र चौधरीलाई हिजोआज शनिवार र आइतवार निकै सकस पर्छ । खुट्टा सुन्निएका हुन्छन्, सास फेर्न गाह्रो हुन्छ । ९ चैत २०७६ देखि कोरोना भाइरस फैलन नदिन मुलुकमा शुरू भएको लकडाउनले मिर्गौला रोगी अनिरुद्रलाई ‘अब केबाट मात्रै जोगिनु’ भइरहेको छ ।

बुवा घनश्याम चौधरीले भने, “छोराको हालत देखेर शनिवार/आइतवार त आजै अन्तिमै हो कि भनेर आत्तिन्छौं ।” २०७६ असोज महीनादेखि सेती प्रादेशिक अस्पतालमा अनिरुद्रले हप्तामा दुईपटक डायलोसिस गर्दै आएका थिए । तर, लकडाउन शुरू भएदेखि अस्पतालले उनलाई सातामा एकदिन सोमवार मात्रै सेवा दिनसकिने भनेको छ । त्यसैले डायलोसिस गर्ने अघिल्ला दिनहरू शनिवार र आइतवार अनिरुद्रलाई मर्नु न बाँच्नु हुन्छ । अस्पतालमै भर्ना गरिदिन आफूले अनुरोध गर्दा नमानेको बुवा घनश्यामले बताए ।

सुर्खेत, वीरेन्द्रनगरकी ३४ वर्षीया अनिता रासकोटीलाई आजकल निकै तनाव छ । उनी चार वर्षदेखि घरमै बसेर गरिने ‘पेरिटोनियल डायलोसिस’ गर्दै आएकी छिन् । उनले नेपाल सरकारले उपलब्ध गराउने सुविधा अन्तर्गत डायलोसिसको लागि आवश्यक औषधि पाउँदै थिइन् । सरकारको नियम अनुसार सो औषधि एकपटकमा एक महीनाको लागि काठमाडौंबाट मात्रै उपलब्ध हुन्छ ।

लकडाउन शुरू भएपछि औषधि कसरी ल्याउने भन्ने समस्याले थिचेको छ उनलाई । उनले एउटा एम्बुलेन्स सुर्खेतबाट काठमाडौं आएको मौका छोपेर २ वैशाख २०७७ मा औषधि मगाइन् । तर, ‘स्टक’ थोरै भएको भनेर १५ दिनको लागि मात्र औषधि दिइयो । अनिताका श्रीमान् प्रेम रासकोटीले भने, “सहज रूपमा हिंडडुल गर्न पाइएको पनि छैन, त्यसमाथि पहिला भन्दा पनि थोरै समयका लागि मात्रै औषधि पाइयो ।” अब केही दिनमै औषधि सकिन्छ फेरि कसरी ल्याउने भन्ने चिन्तामा छन् रासकोटी दम्पती ।

पर्वत घर भई पोखराको मालेपाटन बस्दै आएका लक्ष्मण बिकलाई हिजोआज निकै सास्ती छ । वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा हुँदा मिर्गौलाले काम गर्न छोडेपछि नेपाल फर्र्किएका लक्ष्मण गण्डकी क्षेत्रीय अस्पतालमा सरकारले दिने निःशुल्क डायलोसिस सेवा लिइरहेका छन् ।

लकडाउन शुरू भएदेखि सार्वजनिक यातायात नचलेकोले अस्पताल पुग्न लक्ष्मणलाई सास्ती छ । उनी बस्ने ठाउँबाट अस्पताल पाँच किलोमिटर जति टाढा पर्छ । लक्ष्मणले भने, “एम्बुलेन्समा आउजाउ गर्ने हैसियत छैन, त्यसैले डायलोसिस गर्न दुई घन्टा हिंडेरै अस्पताल पुग्छु ।”

लक्ष्मणलाई औषधि किन्न पनि असजिलो हुँदै गएको छ । औषधि र घर खर्च चलाउन श्रीमतीले सागपात बेच्ने व्यवसाय गर्दै आएकी थिइन् । दुःखेसो गर्दैै लक्ष्मणले भने, “लकडाउनले गर्दा सागपात बेच्ने व्यापार पनि बन्द छ । यस्तै भयो भने महीनामा ४/५ हजारको औषधि कहाँबाट किन्नु मैले ?”

पोखरा उपमहानगरपालिका–३३ का दुतबहादुर बिकलाई झन् समस्या छ । गण्डकी क्षेत्रीय अस्पतालमा डायलोसिस गराइरहेका बिकको शरीरको तल्लो भाग चल्दैन । लकडाउनले उनलाई अस्पताल लैजान र ल्याउन परिवारलाई समस्या भएको छ । मिर्गौला पीडित सरोकार समाज कास्कीका सचिव सुरज शर्मा भन्छन्, “कमजोर आर्थिक अवस्था भएका मिर्गौलाका बिरामीलाई लकडाउन ठूलो समस्या भएको छ ।”

मीनबहादुर बिष्ट, भक्तपुरको धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रमा पाँच वर्षदेखि डायलोसिस गर्दै आएका छन् । सल्लाघारी नजिकै डेरा गरी बस्ने उनी निःशुल्क डायलोसिसको सेवा लिन कञ्चनपुरबाट भक्तपुर आएका हुन् । डाक्टरको सल्लाहमा केही समयदेखि उनी सातामा तीनपटक डायलोसिस गर्दै आएका थिए ।

मिर्गौला बिरामीको शरीरमा रगत उत्पादनलाई निरन्तरता दिन हरेक डायलोसिस पछि ‘इरिथ्रोप्रोटिन’ भन्ने सुई लगाउनुपर्छ । अहिले बजारमा उक्त सुईको पनि अभाव छ । पाइहाल्यो भने पनि रु.२०० बढी मूल्य तिर्नुपर्छ । बिष्ट भन्छन्, “भूकम्प र नाकाबन्दीको वेला पनि नभोगेको समस्या भोग्दैछु अहिले ।”

दाङको राप्ती गाउँपालिका वडा नम्बर–५ की दिलमाया पुनलाई सातामा दुईपटक डायलोसिस गर्न लमहीको सामुदायिक डायलोसिस सेन्टर पुग्नुपर्छ । लकडाउन भएपछि उनको खर्च बेपत्ता आकाशिएको छ । दिलमायाले टेलिफोनमा भनिन्, “पहिले रु.३० भाडा तिरेर अस्पताल जान्थें, लकडाउनले गर्दा एकपटकमा रु.७५० तिरेर एम्बुलेन्स चढ्नुपर्छ ।” मोटरसाइकलमा अस्पताल जाँदा प्रहरीले मोटरसाइकल जफत गरिदिएकोले एम्बुलेन्स चढ्न ऋण खोज्नु परेको दिलमायाको भनाइ छ ।