Jagaran Nepal मंगलबार, चैत्र २९, २०७८

रुपनी जि.एम/ काठमाडौ :

कुरा आज भन्दा झण्डै ९ वर्ष पहिलेको हो । एक दिन मलाई एक जना अधिकारकर्मी दिदीको फोन आयो–“बैनी तपाँई काहाँ हुनु हुन्छ ? जाहाँ भएनी हामीसंग तपाँई आर्मीको ब्यारेकमा गईदिनु पर्ने भयो । आर्मी लोग्नेद्धारा पिडीत बनाईएको महिलाको केस हो ।”

“आर्मीहरु फटाहा हुन्छन् । यीनीहरुले महिलाहरुलार्ई निकै नै दुःख दिन्छन् । यीनीहरुको हृयदमा महिला प्रति कुनै दया माया हुदैन । त्यसमा पनि श्रीमती प्रति त झनै हुंदैन । जाहाँ गयो त्यही श्रीमती बनाउन खप्पिस् हुन्छन् ।”

समाजिक वातावरणले मेरो मानसपटलमा नेपाली सेना प्रती यस्तो छाप छोडेको थियो । समाजमा देखिएका कतिपय घटनाले मेरो मस्तिष्कमा यस्तो छाप परेको हुन सक्छ । त्यो दिन त्यसरी फोन आउँदा म त्यही पुर्वाग्रही मानसिकता बोकेर नाम नखुलाउने शर्तमा उक्त ब्यारेक तिर हानीएँ ।

माघको यस्तै दोश्रो साता हो । जाडो महिनामा झण्डै डेढ महिना घामको मुख देख्न पाइँदैन तराईमा । त्यो दिन घाम लागेको भएर होला ममा पनि निकै उर्जा थियो । वास्तविकता जान्ने उत्सुकताले मलाई खाना खाने समय पनि खेर फाल्न मन लागेन र झोला बोकेर हिंडे आर्मी ब्यारेक तिर । त्याहाँ पुग्दा बिहानको यस्तै १० बजेको हुँदो हो ।

ब्यारेकको कम्पाउण्ड भित्र रहेको प्रतिक्षालयमा पीडित महिला तृप्ति (नाम परिवर्तन) सानो बच्चा काखमा लिएर बसीरहेकी थिईन् । त्यस बाहेक अधिकारकर्मी र पीडित महिलाका केही आफन्त पनि संगै थिए । त्यही समुहमा गएर म पनि मिसिएँ ।

झण्डै १५ मिनेट हामी त्यसै त्यो प्रतिक्षालयमा कर्णेल सरको प्रतिक्षामा बस्यौं । तृप्तिको अनुहारमा देखिएको उदासी र उनको काखमा रहेको अवोध वच्चाको अवस्था देखेर मेरो मन चसक्क भयो । तृप्तिलाई यस्तो अवस्थामा पु¥याउने सैनिक प्रति झन घृणा जागेर आयो । अनि रिस पनि ।

करिव १५ मिनट पछि कर्णेल हामी बसेको प्रतिक्षालयमा आई पुगे । सानो नानी काखमा राखेर मलिन अनुहार लिएर बसेकी तृप्ति केही चनाखो भईन् । उनी त्यहाँ न्यायको अपेक्षा लिएर गएकी थिईन् । कर्णेल आए पछि उनको कथा सुरु भयो । सन्दिपसंग विवाह हुनुपुर्व उनी कुनै गैरसरकारी संस्थामा कार्यरत थिईन् । चार वर्ष अघि नेपाली सेनामा कार्यरत सन्दिप (नाम परिवर्तन) संग उनको विवाह भएको थियो ।
उनी भन्दै थिईन्–“विवाह पछि मलाई जागिर नर्गन भनेर यसैले भन्यो र मैले पनि लोग्ने हो भनेको मान्नु पर्छ भनेर जागिर छाडें । अहिले मलाई एक रुपैंया पनि दिंदैन । माग्दा तँलाई बसिबसि पाल्न ल्याएको हुँ र ? भन्दै रातदिन पिट्छ । आफु अरुसंग लागेको छ उल्टै मलाई जेठाज्युसंग लागेकी भनेर मेरो चरित्रमा दाग लगाएको छ ।”

उनको त्यो कुरा सुन्दा मलाई लाग्यो यस्तो सीमा नाँघिएको आरोप के श्रीमानले आफ्नी श्रीमतीलाई लगाउन सक्छ ? त्यो पनि आफ्नै दाईसंग सम्बन्ध गाँसिएको ? म सोच्दै थिएँ के यो आरोप साँचो होला त ? म सोंचिरहेकी थिएँ । उनी आफ्ना पिडाले भरिएका कथा ब्यथा सुनाई रहेकी थिईन् ।

उनी रुँदै आफ्ना कुरा सुनाउँदै थिईन्–“यति मात्रै होर करसाप, मलाई रेष्टुरेन्टमा गएर मःम, चाउमीन र पिजा खाँदै हिंडने तँ ? तँलाई खानलाई घरमा भात छैन ? साथी के तेरा मात्र छन् ? राति राति घरमा आउने तँ गति छाडा भन्दै कुट्छ । तपाँई नै भन्नुस् न विवाह ग¥यो भन्दैमा के साथीहरुसंग कुरै नगर्नु ? विवाह ग¥यो भन्दैमा के मःम, चाउमीन खाँदै नखानु ?” तृप्तिले यो कुरा सुनाएपछि उनको श्रीमान प्रतिको मेरो मानसिकता झनै नराम्रो बन्दै गयो ।

रेष्टुरेष्टमा गएर मःम चाउमिन खांदैमा के महिला चरीत्रहिन हुन्छन ? यस्तो कुरा सुनेर मेरो हृदय काँप्यो । त्यसो त म मेरो जिवनमा कतिपटक रेष्टुरेष्टमा गएँ हुँला । त्याहाँ मैले कयौ पटक कति जनासंग बसेर मःमः चाउमिन खाएँ हुँला । यदि म विवाहीत भएको भए मेरो श्रीमानले पनि यस्तै साेंच्दाहुन् त ? के सबै श्रीमतीका श्रीमानको यस्तै मानसिकता हुन्छ होला त ? भन्ने पनि लाग्यो ।

यस्तो लान्छना लगाउने सन्दिप मात्र पहिलो ब्यक्ति रहेनछ उनको जिवनमा । उनको पहिलो लोग्नेले पनि उनलाई यस्तै आरोप लगाएका थिए रे । सन्दिप त तृप्तिको दोश्रो श्रीमान पो रहेछन् । तृप्तिका अनुसार पहिलो श्रीमानले पनि उनलाई चरित्रहीन भन्दै यातना दिएर घरबाट निकालेको रे ।

त्यसरी घरबाट निकालेपछि उनी छोरीलाई लिएर माईत बस्दै गर्दा सन्दिपसंग भेट भएको रहेछ । सन्दिपसंगको सम्बन्ध सामीप्यता पछि मित्रता हुंदै प्रेममा परिणत भएछ । तृप्तिको अतितले उनीहरुको दाम्पत्य जिवनमा कुनै असर नगर्ने कुरामा तृप्तिलाई सन्दिपले विश्वास दिलाए पछि उनीहरुको विवाह भएको उनले सुनाईन् ।

तृप्तिले आफुलाई लगाइरहेको सबै खाले आरोप त्यही प्रतिक्षालयको एउटा कुनामा बसेर सुनीरहेका उनका पति सन्दिपले उनका सबै आरोपलाई ठाडै अस्विकार गरे । उनले त तृप्तिले नै उल्टै आफुलाई फसाएको बयान दिए कर्णेल सामु । सन्दिप भन्छन्–“हाम्रो भेट फेसबुकमा भएको हो सर । मैले यस्लाई माया गरेको पनि हो । यस्को बिहे भएको भन्ने थाहा थियो मलाई । श्रीमानले मलाई बुझेन, सधैं मलाई पिट्छ, मार्छ भन्दै मसंग रुन्थी पनि । यस्का यी भनाईहरु केटा फसाउने चाल रहेछन् । यही चालमा म नराम्ररी फसें सर ।” उनीहरुको विवाह हुंदा सम्म पनि सन्दिपलाई तृप्तिको पहिलाको श्रीमानबाट एउटा छोरी छ भन्ने समेत थाहा रहेनछ । सन्दिपले पनि सुनाए बेली बिस्तार लगाउँदै सुनाए आफ्ना कथा ।

सन्दिपले विलौना गर्दै भने–“सबै कुरा यस्ले मलाई झुटो बोली करसाप । मेरो गल्ति यत्ति नै भयो कि मैले यस्लाई विश्वास गरें । परिवारको कुरा नमानेर मैले योसंग प्रेम गरे, बिहे गरें । मेरो डेढ् वर्षको छोरी छ सर । म छोरीको कसम खाएर भन्छु, मैले हैन यस्ले मलाई पिडीत बनाकी छे सर ।”

त्यतिबेला सन्दिपको कुरामा मलाई एक प्रतिशत पनि विश्वास लागेन । किनकी म पुर्वाग्रही सोंच लिएर तृप्तिले न्याय पाउनु पर्छ भन्ने पक्षमा त्यहाँ पुगेकी थिएँ । मलाई लाग्यो यो सबै आफुलाई सही र तृप्तिलाई गलत साबित गर्ने सन्दिपको चाल हो । पत्रकारीताको अनुभवमा मैले भोगेको पिडकको बयान जहिले पनि आफुलाई बचाउनका लागी हुन्छ भन्ने बुुझेकीम त्यो समयमा पनि आँखा चिम्लिएर तृप्तिकै पक्षमा उभिएँ ।

झण्डै ७÷८ घण्टाको लामो बहसमा तृप्ति र सन्दिप एक अर्कालाई दोष दिंदै आरोप प्रत्यारोप गरि रहेका थिए । त्यतिबेला सन्दिप भन्दा तृप्तिको स्वर ठुलो भयो । किनकी त्यतिबेला उनलाई अधिकारकर्मी, संचारकर्मी लगायतको साथ र समर्थन थियो । यहि साथ र समर्थनले उनमा उर्जा मिलेको हुनसक्छ, मलाई लाग्यो ।

श्रीमानले लगाएका सबै खाले आरोपहरुलाई सबै सामु उनले छरपस्ट पस्कि रहँदा यता मेरो मानसिकता भने उनको श्रीमान प्रति नकारात्मक बन्दै गई रह्यो । उनको कुरा सुनेर मलाई जस्तै नमज्जा सायद उनको पक्षबाट बोल्नका लागी त्याहाँ पुगेका अरु अधिकारकर्मी महिलालाई पनि लागेको हुनु पर्छ ।

त्यतिबेला उनको क्रन्दन यस्तो थियो मानौं कि त्यो ब्यारेक भित्रको आर्मीहरुले मात्रै हैन वरपरको छिमेकले पनि सुनिरहेका छन् । उनको आँखाबाट खसेका आँशुलाई यदि एउटा ठूलो तबेलामा संगालेको भए सायद त्यो तबेला भरिने थियो । त्यतिबेला उनको क्रोध हिन्दु धर्म शास्त्राअनुसार काली चण्डीका जस्तो थियो । त्यो समय उनको त्यो आवेशलाई मैले स्वाभाविक नै लिएँ । तिन वर्ष देखि गुम्सिएको पीडा, आवेग सबै एकै पल्ट निस्किएको जस्तो ।

उनले हाम्रो रोहवरमा सन्दिपसंग प्रष्ट माग राखिन् । उनलाई सन्दिपसंग छोडपत्र चाहिएको छैन । तर सन्दिपको घरमा गएर उनी बस्न नसक्ने रे । पहिलो श्रीमानको छोरी र सन्दिपको छोरी सहीत दुई छोरीका साथमा माइतमा नै बस्न चाहन्थिन् उनी । तर सन्दिपको आम्दानीको ५० प्रतिशत उनलाई चाहिने रे । उनीहरुका कुरा सुनीरहेका कर्नेलले दुबैको कुरा टुंगीएपछि सम्बन्ध सुधारका लागी केही समय घरमा संगै बस्न सुझाव दिए ।

तर तृप्तिलाई त्यो सुझाव स्वीकार्य भएन । “म लोग्नेको पिटाई खान उसको घरमा जान सक्दिन करसाप । मेरो ज्यानको सवाल छ । यस्ले मलाई जे पनि गर्न सक्छ ।” उनले भनिन् । अन्नतः तृप्तिका सबै माग पुरा भए । सोही अनुसार कागज पत्र बने । दुवै जनाको सहिछाप भयो । सन्दिपले मन अमिलो बनाउंदै सर्तनामामा हस्ताक्षर गरे । हामी पनि तृप्तिको त्यो जितलाई हाम्रो जित मानेर दंग थियौं ।

त्यहाँ आफ्नो कुराको सुनुवाई नभएपछि तृप्तिबाट सम्बन्ध बिच्छेद चाहेका सन्दिपले आफ्नै गाविसमा मुद्या दर्ता गराए । त्यस पछि पनि म एक पत्रकार भएकै नाताले तृप्तिलाई न्याय दिलाउने अभियानमा लागिरहें । तृप्तिको न्यायको लडाईमा ६÷७ महिना सम्म धेरै पटक मैले उनलाई भेट्ने, कुराकानी गर्ने गरीरहें ।

यसैको दौडानमा मैले तृप्तिलाई अध्ययन गर्ने राम्रै मौका पाएँ । उनी प्राय मसंग भेटि रहन्थिन् । म संग भेट्न आउंदा उनको सेलफोनका घण्टि बारम्वार बजिरहन्थे । मसंग कुरा गर्न आएकी तृप्ति म संग भन्दा धेरै समय फोनमा अरुसंगै बिताउँथिन् । कुराकानीबाट थाहा हुन्थ्यो उनलाई धेरै फोन बिदेशवाट आउँथे ।

एउटा सकिन्थ्यो अर्काे आईहाल्थ्यो । अनि फोन ईङ्गेज भएकोमा उनलाई सफाई दिन हम्मे पथ्र्याे । ती फोनहरुमा उनका वार्तालाप सुन्दा यस्तो लाग्थ्यो मानौं कि जतिले उनलाई फोन गरेका हुन्थे ती सबै उनका श्रीमान् हुन् ।

एकदिन त उनले फोनमै भनिन्–“घरमा आएर मेरो हात मागेरै मसंग बिहे गर्छु भन्नेले जाबो ७० हजार पठाउन पनि यस्तो गाह«ो है ? अझैं हेरन अस्ति पठाएको त्यो जाबो ३० हजारको कुरा गर्ने । विश्वास छैन है ममा ? त्यस्तो लाग्छ भने छोडे भैहाल्यो नी ? मैले मात्र हो रहेछ माया गरेको तपाँईलाई । कसरी विश्वास गर्नु र खै ?” यति भनेर उनले फोन काटिन् । अलि घुर्किलो पारामा ।

त्यो डिस्कनेक्ट हुन नपाउँदै तुरुन्तै फेरी अर्काे फोन आयो । पछिल्लो फोनले उनको अनुहारमा मुस्कान फैलायो । अनि भनिन्–“धन्यवाद छ है तपाईले पठाएको ५० हजार मेरो एकाउण्टमा आइपुग्यो । फेरी आवश्यक प¥यो भने फोन गर्छु है । आई रियली लव यू एण्ड आई मिस यू बाबा । यू आर सो क्युट ।”

म संग कुराकानी गर्न आएकी तृप्ति करिब एक घण्टाको बसाईमा उनले चार फोन रिसिभ गरीन् । मसंग मुस्किलले ५ मिनट कुरा गरीन् होला । उनको फोन वार्ता मैले सुनेकोमा सायद अप्ठेरो लागेर हुनसक्छ अनि भनिन््–“यस्तै हो बैनी मलाई मन पराउनेहरु हजारौं छन् । सबै मन पराउनेहरुसंग बिहे गर्न नी सकिंदैन । तिमीलाई सबै कुरा थाहा छ सन्दिपको पैसाले मलाई त के छोरीलाई लिटो सम्म किन्न पुग्दैन ।”

मैले भने –“यसो नर्गनु दिदी तपाँईले सबैसंग पैसा माग्नु भाको छ ति सबै नेपाल फर्केर तपाईसंग त्यो पैसा फिर्ता मागे भने के गर्नुहुन्छ ?” उनको सजिलो जवाफ –“उनीहरुसंग जुन फोन नम्वर प्रयोग गरेर कुराकानी गरीरहेकी छु त्यो नम्बर एनसेलको हो । सिम झिकेर फालि दिन्छु । १०० रुपैयामा नयाँ सिम किन्न पाईन्छ । सिम्पल नि, यस्तो कुरामा मलाई टेन्सन लाग्दैन बैनी ।” उनको यो जवाफले मलाई अक्क न बक्क बनायो ।

उनको यस्तो ब्यवहारले मलाई सोंच्न बाध्य बनायो । कतै मैले गलत मान्छेलाई त साथ दिइरहेको छैन ? मैले तृप्तिलाई बुझ्नु जरुरी छ मेरो मनले ठान्यो । अनी उनले नजिकको मानेको एक जना दिदी विद्या (नाम परिवर्तन) लाई भेट्न गएँ । उनले सुरुमा त कुरा खोलिनन् तर मैले अनेक तरिकाले फकाएपछि मात्र कुरा खोलिन् । र भनिन्–तपाईँले गलत महिलालाई साथ दिईरहनु भएको छ । वास्तवमा पिडित उ हैन उस्को त्यो आर्मी लोग्ने चाही पिडित हो । योभन्दा धेरै म केही भन्न चाहान्न ।”

म त छाँगाबाट खसेजस्तै भएँ । उनको बारेमा जान्नकालागी म उत्सुक भएँ । कुरा खोतल्दै गएँ । ती दिदीले भन्दै गईन् । मेरो आँखा अगाडीको उज्यालो पनि अध्यारोमा परिणत हुंदै गयो । “उसंग मान्छेलाई आफुतिर तान्ने बेग्लै खुबी छ बैनी । मैले उस्लाई कत्ति गाली गर्छु । गाली गर्दा तपाँईले पनि मलाई बुझ्नु हुन्न है दिदी भन्छे । म के गरु बैनी ? मसंग आएर रोएको नाटक पार्छे । मलाई माया गर्ने हुजुर नै हो दिदी भन्छे । हजुरले पनि यस्तो भन्नु हुन्छ भन्दै रोएको नाटक पार्छे । आउनेलाई नआईज भन्न पनि नमिल्ने । उस्को फोनमा गरिएको कुराकानी सुन्दा मलाई नै दिक्क लाग्छ ।”

ती दिदीको कुराले मात्र मैले तृप्तिप्रती गलत धारणा बनाईहाल्नु ऊ प्रतिको अन्याय हुन्थ्यो । त्यसैले मैले उनको बारेमा बुझ्न अनेक च्यानल प्रयोग गर्न थालें । तब मलाई थाहा भयो उनी त साँच्चै निकै नै स्मार्ट रहीछन् । उनको केसको लागी उनीसंग संगै हिंडदा मलाई केही भन्न नसकेकाहरुले पछि मैले उनको बारेमा बुझ्न शुरु गरेपछि पो सबैले भन्न थाले कि मैले तृप्तिलाई साथ दिएर धेरै नै गलत गरेछु रे ।

ज–जस्लाई मैले भेटेर तृप्तिको बारेमा बुझने प्रयास सम्म के गर्थें सबैको एउटै भनाई हुन्थ्यो–“तपाँईले गलत मान्छेलाई साथ दिई रहनुभएको छ । रोएर हुनेखानेलाई फसाउने उस्को कला हो । तपाँई हामी काठमाण्डौ गाडीमा जान्छौं ऊ प्लेनमा जान्छे, जस्को प्लेनमा चढी हिंड्ने कुनै आय श्रोत नै छैन । काठमाण्डौ देखि पश्चिम नेपालका प्राय सबै होटेलहरु उस्कै नाममा बुक हुन्छन् ।” आदि ईत्यादि ।

अब भने म ढुक्क भएँ मैले गलत मान्छेलाई नै साथ दिइरहेकी रहेछु । समय बित्दै थियो । एक पटक उनलाई मैले एउटा होटेलबाट राती पौने १० बजे एक जना पुरुषसंगै निस्किएको देखें । त्यो होटेलमा हाम्रो प्रोजेक्टको एनुएल प्रोग्रामको डिनर पार्टी थियो । त्यति ठुलो भिडबाट पनि मैले उनलाई कसैसंग होटल बाहिर जाँदै गरेको देखें । मैले उनलाई चिनीहालें । होटलमा कसैसंग जानु र होटेलबाट निस्कनु त्यति ठुलो विषय मानिदैन र मपनि मान्दिन ।

तर उनी एउटा साधारण पिडीत महिला भनेर मैले चिनेको हुनाले उनलाई त्यो समयमा त्याहाँ देख्नु मेरो लागी शंकाको विषय बन्यो । र त्यही शंका लागेकोले भोलीपल्ट मैले उनलाई फोन गरेर हिंजो राती एक जना पुरुषसंग देखेको बताएँ । जवाफमा उनले ति पुरुषको परिचय मैले चिनेको मान्छेको पो दिईन् । तर उनीसंग देखेको पुरुषलाई मैले चिन्दिनथें । उनले मलाई सिधै झुट बोलीन् ।

जब तृप्ति निकै नै स्मार्ट महिला रहिछन् भन्ने मैले जानें । त्यसपछि उनको श्रीमानलाई त्यो राँझा ब्यारेकमा गालि गरेको सम्झिएँ । र मन मनै निकै दुःखी पनि भएँ । त्यतिबेला मात्रै मैले सन्दिपको पिडालई महसुुस गरें । घटना क्रमसंग नजिक हुने क्रममा मलाई थाहा भयो तृप्तिको पहिलो श्रीमानले हैन रहेछ उनी आफैले नै पहिलो श्रीमानलाई छाडेकी रहीछन् । डिर्भोसपछि पाईने चल अचल सबै सम्पत्तिकालागी ।

लामो समयदेखि मैले गर्दै आएको मेरो पत्रकारीतामा यस्तो गल्ती कहिल्यै गरेकी थिईन । म बाट किन यस्तो गल्ति भयो ? म आफै पश्चातापमा परें । जे होस् एउटो गलत मान्छेको संगतबाट मैले धेरै कुरा सिक्ने मौका पनि पाएँ । मैले यो आर्टिकलमा तृप्ति र उनीसंग सम्बन्धित व्यक्तिहरुको वास्तविक नाम उल्लेख नगर्नुको एउटै कारण हो तृप्तिको छोरी । उनको पहिलो लोग्नेबाट जन्मिएको छोरीले त्यो समयमा एस.एल.सी ए प्लसमा पास गरेकी थिईन् ।

म एउटा लेखिका मात्र हैन । म एउटा आमा पनि हुँ । त्यसैले म चाहाँदिन कि, आमाले गरेको व्यवहारको मूल्य त्यो छोरीले अनाहकमा तिर्न परोस् । आफ्नो छोरीहरुको पनि भविष्यको बारेमा नसोंच्ने विचित्रकी आमा बन्यौ तिमी तृप्ति । ती अबोध नानीहरुलाई आफ्ना बुवाहरुबाट टाढा बनाएर दुनियाँको बुवाहरुलाई लुट्दै छोरीहरु पाल्ने तिम्रो मतृत्वलाई धिक्कार छ ।

केही वर्ष अघि मात्र आफुलाई विधुवा हुँ भन्दै बुटवलको अर्को एकजना पुरुषलाई फसाएर विबाह गरेको कुरा मलाई राम्रै थाहा छ । विदेशबाट बोलाएर सुटुक्कै काठमाण्डौमा बिहे गरी उतैबाट बिदेश पठाएको पनि मलाई राम्रै थाहा छ । ८ वर्षको बच्चालाई उस्को बाबाको काखबाट खोसेर आफ्नो बनाएको पनि मलाई थाहा छ । विदेश गएको श्रीमानसंग माया प्रेममा आफ्नै संसारमा रमाई रहेकी श्रीमतीको श्रीमान खोसेको पनि मलाई मज्जैले थाहा छ । सबै कुरा थाहा पाएरपनि थाहा नपाएको जस्तो गरी बसेको छु ।

किनभने तिमीद्धारा पिडित ती महिलाले सबै प्रमाण देखाईन् तर मसंग न्यायकोलागी आग्रह गरिनन् । बरु उल्टै छोरा बोकेर माईतमै परदेशबाट श्रीमान आउने पर्खाईमा छिन् उनी । जुन दिन उनले मलाई फोन गरेर लौन सहायता गरिदिनु पर्यो भन्दै मसंग सहयोग माग्ने छिन् त्यो दिन तिम्रो लुट्दै हिंड्ने स्मार्टनेसलाई कसरी ठेगान लगाउनेछु त्यो मलाई मात्र थाहा छ तृप्ति । अहिलेलाई जति सक्छौ मोज गर ।

अनि धन्यबाद तिमीलाई तिमीले गर्दा आर्मीहरु फटाहा हुन्छन् भन्ने मेरो दृश्टिकोणमा पनि धेरै नै परिवर्तन भएको छ । बालापनदेखि नै आर्मीहरुप्रति जुन नकारात्मक छाप थियो त्यो छाप पनि हटेको छ । सबै आर्मीहरु पिडक मात्रै हैनन् पिडित पनि हुँदा रहेछन् भन्ने कुराको आभास भएको छ । यस अर्थमा मनैदेखि धन्यबाद तिमीलाई ।
-etajakhabar

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१