Jagaran Nepal सोमबार, माघ १७, २०७८

१९ वर्षकी एक महिला पाइलटले पाँच महिनाको चुनौतीपूर्ण यात्रा गर्दै एक्लै विमान उडाएर पुरै विश्व घुमेकी छिन् । यसरी विश्वको यात्रा गर्ने उनी सबैभन्दा कान्छी महिला बनेकी छिन् ।

जारा रदरफोर्डले खराब मौसमका कारण निर्धारित समय भन्दा दुई महिना पछि आफ्नो यात्रा पुरा गरेकी हुन् ।

उनको विमान आफ्नो लक्ष्य पुरा गरेर बेल्जियमको कान्ट्रिज्कम भेभेलगेम अन्तर्राष्ट्रिय विमान स्थलमा पुग्न सफल भएको छ ।

सुपरलाईट विमानबाट पुरा गरिएको यो यात्रामा उनी एक महिनासम्म अलास्काको नोममा र ४१ दिन सम्म रुसको अयानमा फसेकी थिइन् । आँधीका कारण उनी कोलम्बियामा पनि रोकिएकी थिइन् ।

फर्किएपछि गरियो जोडदार स्वागतः

बेल्जियम फर्किएपछि उनको परिवार, पत्रकार र समर्थकले उनलाई विमानस्थलमै जोडदार स्वागत गरेका थिए । उनको विमानका साथै बेल्जियमको रेड डेभिल्स एरोब्याटिक डिस्प्ले टोलीका ४ विमान पनि त्यहाँ अवतरण भए ।

विमानबाट ओर्लिएपछि उनले स्वयंलाई बेलायत र बेल्जियमको झण्डामा बेह्रेकी थिइन् ।

पत्रकारसँग उनले भनिन्, ‘यो अनुभव पागल बनाउने किसिमको थियो । मलाई विश्वास नै लागिरहेको छैन ।’

५१ हजार किलोमिटर विमान उडाउने चुनौती पुरा गरेर आफू व्यापक खुसी भएको उनले बताइन् ।

आफ्नो यात्राबारे जानकारी दिँदै उनले भनिन्, ‘भ्रमणका बेला सबैभन्दा गाह्रो साइबेरियामा भएको थियो । त्यहाँ असाध्यै चिसो थियो । त्यहाँ यदि इञ्जिन बन्द भएको भए बाँच्न धेरै नै कठिन हुने थियो । म मानिसलाई आफ्नो अनुभव बताउन चाहन्छु । साथै, मानिसहरुलाई रोमाञ्चक काम गर्नका लागि प्रोत्साहित गर्न म चाहन्छु ।’

जाराले थपिन्, ‘तपाईंसँग मौका छ भने यस्तो पक्कै पनि गर्नुहोस् ।’

अल्ट्रालाइट विमानबाट संसार घुम्ने पहिलो महिलाः

अघिल्लो वर्ष १८ अगस्टमा सुरु भएको आफ्नो यात्रामा उनले पाँच महाद्वीपका ६० भन्दा बढी स्थानमा पाइला टेकिन् ।

ब्रिटिश बेल्जियम पृष्ठभूमिकी जारा रदरफोर्डका आमाबुवा दुबै पाइलट हुन् । उनका अनुसार उनी अन्य महिलालाई एसटीईएम (साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र गणित) को क्षेत्रमा अघि बढ्नका लागि प्रोत्साहित गर्न चाहने उनले बताइन् ।

बीबीसी

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१