Jagaran Nepal सोमबार, माघ १७, २०७८

1140×725
प्रश्न: जाडो मौसममा छाला किन सुख्खा हुन्छ? कस्तो असर पर्छ? सुख्खा हुन नदिन के गर्ने?

डा धर्मेन्द्र कर्णको उत्तर:

जाडो याममा वातावरण निकै चिसो हुन्छ। प्रायः मानिसलाई चिसो वातावरण मन पर्दैन। त्यसैले कोठाभित्र वा साँझ–बिहानको समय हिटर नजिकै बसेर न्यानो हुने प्रयास गरिन्छ। यस्तै दिउँसोमा घाममा बस्ने चाहना हुन्छ।

तर के तपाईंलाई थाहा छ? यही बानीले हाम्रो शरीरको छाला झनै सुख्खा बनाइदिन्छ। जसले गर्दा हाम्रो छाला सुख्खा भएर चिरा परेजस्तो, कत्ला परेजस्तो हुन्छ। छाला शरीरको बाहिरी आवरण हो। आकर्षक र सुन्दर देखिने चाहना सबैलाई हुन्छ। तर जाडोयाममा सुख्खापन बढ्दा मानिसहरु चिन्तित हुने गर्छन्।

एक त नेपालको मौसमी परिवर्तनका कारण करिब ९० प्रतिशत नेपालीको छाला सुख्खा भएको पाइन्छ। मौसम परिवर्तनले पनि छालाको सुख्खापनामा प्रभाव पार्छ। नेपालमा प्रत्येक दुई महिनामा मौसम परिवर्तन भइरहन्छ। अन्य देशहरुमा जाडो वा गर्मी मात्र हुन्छ।

कुनै एउटा मौसमसँग शरीरको छाला समायोजित हुन खोज्छ तर फेरि अर्को मौसम सुरु भइदिन्छ। दुई महिनाअघि नेपालको मौसम न जाडो न गर्मी थियो। तर अहिले अत्यधिक जाडो छ। अबको दुई महिनापछि फेरि मौसम ठिक्कको हुन्छ र त्यसपछि फेरि अत्यधिक गर्मी हुन थाल्छ।

यसले गर्दा हाम्रो शरीरको छाला एउटा मौसममा समायोजित हुन नपाउँदै मौसम परिवर्तन भइसकेको हुन्छ। त्यसैले ९० प्रतिशत नेपालीको छाला सुख्खा हुने गर्छ। त्यसमा पनि जाडो मौसममा छाला बढी सुख्खा हुन्छ।

जाडो मौसममा नै किन छाला सुख्खा हुन्छ?
छाला सुख्खा हुने कुरा शरीरको तापक्रम र वातावरणको तापक्रमसँग अन्तर सम्बन्धित छ। शरीरको तापक्रमभन्दा वातावरणको तापक्रम कम छ भने हाम्रो शरीरले त्यो तापक्रममा समायोजित गर्न शरीरमा भएको तापक्रमलाई बाहिर फाल्छ। त्यसले गर्दा तापसँगै शरीरमा पानीको मात्रा पनि कम हुन्छ र छाला सुख्खा हुन्छ।

विशेषगरी एक्स्पोज एरिया जस्तैः अनुहार, घाँटी, कुहिनाभन्दा तलको भाग, घुँडाभन्दा तलको भाग बढी सुख्खा हुने गर्छ। तर सुख्खा छाला दुई किसिमको हुन्छ। एउटा कन्जनाइटल अर्थात् वंशाणुगत, अर्को मौसमका कारण सुख्खा हुने।

जन्मजात सुख्खा छाला हुनु भनेको सानै उमेरदेखि हात, खुट्टा, घाँटी लगायत शरीरका विभिन्न भागमा कत्ला पर्ने गर्छ। उमेर बढ्दै जाँदा शरीरको छाला पनि सुख्खा हुँदै जान्छ। यसमा पनि वंशाणुगत र रोगसँग सम्बन्धित हुन्छ।

जस्तैः बालबालिकामा भन्दा उमेर बढ्दै जाँदा सुख्खा छालाको समस्या देखिन थाल्छ। १५ वर्षभन्दा मुनिका बालबाबालिमा छालामा चिल्लोपना हुन्छ, तर ३० वर्ष उमेर पुगेपछि छाला सुख्खा हुने क्रम बढ्छ सक्छ।

त्यतिमात्र होइन, मधुमेह, थाइरोइड, उच्च रक्तचाप, कोलेस्टेरोर र यसलाई कन्ट्रोल गर्न प्रयोग गरिने औषधिले पनि छालामा सुख्खापना बढ्छ।

सुख्खापना हुने कारण थुप्रै छ। अहिले जाडोमा भने हाम्रो शरीरको तापक्रमभन्दा बाहिरी मौसमको तापक्रम कम हुँदा शरीरले बढी ताप बाहिर फाल्दा हाम्रो शरीरको छाला सुख्खा हुन्छ।

छाला बढी सुख्खा हुँदा कस्तो असर पर्छ?
सुख्खा छाला छालासम्बन्धी रोगको घर हो। जमिन सुख्खा भयो भने चिरा पर्छ, त्यस्तै छाला सुख्खा हुँदा पनि चिरा पर्छ। छालाको सतहमा ग्याप हुन्छ, जसले गर्दा एलर्जी हुने, चिलाउने समस्या देखिन्छ। यस्तो अवस्थामा हामीले कन्याउने, कोतर्ने, स्क्रब गर्ने गर्छौं। जसका कारण छालामा घाउ–खटिरा समेत आउन सक्छ।

मानिसहरु अनुहारको छाला सुख्खा भयो भने फोहोर होला भनेर फेसवास गर्ने गर्छन्। तर त्यो गलत हो। सुख्खा छालालाई हामी जति पखाल्छौं, जति सफा गर्छौं त्यति नै सुख्खा हुने गर्छ। किनकी सुख्खापनले कत्ला निस्किएको हुन्छ। तर हामी त्यो फोहोर होला भनेर झनै धुन्छौं।

त्यसलाई सफा गर्दा, धुँदासम्म त राम्रो हुन्छ, शरीरले चिल्लोपन निकाल्छ, तर पछि झन् सुख्खा बढ्दै जान्छ। सुख्खा भयो भने छालालाई रंङ दिने मेलानोसाइड उत्तेजित हुन्छ। जसले गर्दा जाडो मौसममा चाया–पोतोको समस्या पनि बढेर जान्छ।

यस्तै बढी सुख्खा हुने शरीरको एउटा अंग हो ओठ। ओठ शरीरको भित्री अंग र बाहिरी अंगको जक्सन हो। त्यहाँ बढी तापक्रम नष्ट भइरहेको हुन्छ। त्यसैले ओठ बढी सुख्खा हुन्छ। यस्तै कुहिनाभन्दा तल्लो भाग र घुँडाभन्दा तल्लो भाग घाममा बढी एक्सपोज भइरहेको हुन्छ। यही भागमा ब्लड सर्कुलेसन कम भइरहेको हुन्छ, जसले गर्दा हातखुट्टा सुख्खा हुन्छ।

जाडो महिनामा आगो वा हिटरको नजिकै बस्ने चलन छ। जसले गर्दा डिहाइड्रेसन बढेर सुख्खापनको समस्या बढेर जान्छ।

यस्तै जाडोमा घाममा बस्दा सुख्खा छाला भएकाहरुमा झनै समस्या देखन्छि। सुख्खा छाला भएकाहरुको छाला चिरा परेको हुन्छ। यस्तो अवस्थामा घाममा बस्दा चिरा परेको भागबाट सूर्यको किरण प्रत्यक्ष पर्छ र एलर्जी हुन्छ। जाडो मौसममा जुन पायो त्यही कस्मेटिक प्रडक्टले पनि एलर्जी हुनसक्छ।

यस्तै घुँडाभन्दा तल्लो भागमा कत्ला पर्छ, कुर्कुचा फुट्ने समस्या बढी हुन्छ। यस्तो समस्या महिलामा बढी हुन्छ। विषेशगरी महिनावारी सुक्ने समयमा हार्मोनल असन्तुलन हुँदा सुख्खा छाला हुने र फुट्ने गर्छ। सुख्खा छाला शरीरको कुन अंगमा बढी छ, त्यही अंगमा समस्या देखिन सक्छ।

छाला सुख्खा हुन नदिन के गर्ने?
पहिलो कुरा हामीले हाम्रो छाला सुख्खा छ भन्ने बुझ्नुपर्छ। बिहान उठ्ने वित्तिकै पूरै शरीर ढाकिने गरी कपडा लगाउनुपर्छ। नुहाउनुअघि र नुहाएपछि शरीरमा तेल लगाउनुपर्छ। तेल रङरहित र गन्धरहित लगाउनुपर्छ। किनकी तेलमा भएको रङ र सुगन्धले पनि सुख्खा छालामा एलर्जी हुनसक्छ।

जाडो महिनामा लामो समयका लागि हुने गरी भ्यास्लिन लगाउन सकिन्छ। विशेषगरी, कुहिनाभन्दा तल्लो भाग, घुँडाभन्दा तल्लो भाग र घाँटीमा तेल लगाउनुपर्छ। यस्तै अनुहारमा मोस्चराइज क्रिम तीन÷तीन घन्टामा लगाउँदा उपयुक्त हुन्छ।

छाला सुख्खा हुन नदिन कस्तो पानीले नुहाउने?
जाडो मौसममा तातोपानीले नुहाउने अघिकांशको बानी हुन्छ। ग्यास गिजर तथा सोलारको प्रयोग गरेर अत्यधिक तातो पानीले १०/१५ मिनेटसम्म सावरले नुहाउने बानी धेरैको हुन्छ। तर यसरी नुहाउँदा नुहाउन्जेल आनन्द आउने भए पनि नुहाइसकेपछि छाला झनै सुख्खा हुन्छ।

त्यसैले जाडो महिनामा सावरले नुहाउन हुँदैन। जाडो मौसममा सावरले भन्दा पनि बाल्टीमा मनतातो पानी राखेर त्यसमा दुई/तीन चम्चा नुन राखेर नुहाउँदा छाला सुख्खा हुनबाट जोगाउँछ। त्यसैले मनतातो पानीमा नुन राखेर नुहाउन सकिन्छ। यस्तै नुहाइसकेपछि तुरुन्तै मोस्चराइजर क्रिम वा तेल लगाउनुपर्छ। त्यसपछि मात्र कपडा लगाउनुपर्छ। यसले गर्दा शरीरमा भएको ताप नष्ट हुन पाउँदैन र सुख्खापन कम हुन्छ।

अहिले चिसोका कारण सुख्खा छाला भएर एलर्जीको समस्या लिएर धेरै व्यक्तिहरु उपचारका लागि आउनुहुन्छ। जाडोमा सौन्दर्यसँग सम्बन्धित र रोगसँग सम्बन्धित बिरामीहरु आउनुहुन्छ। अहिलेको मौसममा हामी बढी घाममा बस्छौं, धेरै मुख धुन्छौं।

जसले गर्दा छाला बढी सुख्खा हुन्छ र छालालाई रङ दिने कोष उत्तेजित भएर जाडो महिनामा अनुहारमा चायापोतोको समस्या बढ्छ। यस्तै पहिलादेखि नै छाला सम्बन्धी समस्या भएका व्यक्तिमा जाडो मौसममा सुख्खा छाला हुँदा रोग बल्झिन्छ। जस्तैः एक्जिमा, छालामा हुने एलर्जी, सोरियासिस, छाला सम्बन्धी रोगहरु बल्झिन्छ।

त्यसैले छाला सुख्खा हुन नदिन न्यानो कपडा लगाउनुपर्छ। सम्भव भएसम्म छालामा टाँसिने गरी सुती वा उलनको कपडा लगाउनुपर्छ। दिनमा दुई वा तीन पटक तेल लगाउनुपर्छ। बढी जाडो भयो भने हिटर नजिक बस्नु हुँदैन। कोठालाई न्यान्यो बनाउन भेन्टिलेसन भएको कोठामा कुनै कुनामा हिटर बाल्न सकिन्छ।

जाडो महिनामा कडा खालको साबुनको प्रयोग गर्नुपर्छ। सम्भव भए बेबी स्याम्पुको प्रयोग गर्नुपर्छ।

(डा कर्ण छाला रोग विशेषज्ञ हुन्।)

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१