Jagaran Nepal सोमबार, माघ १७, २०७८

प्रश्न : जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या के हो? कसरी जोगाउने?

डा रामहरि चापागाईंको उत्तर :

बालबालिकालाई स्वास्थ्य समस्या वर्षभरि नै देखिन सक्छ। बालबालिकामा देखिने कुनै–कुनै स्वास्थ्य समस्यामा भने मौसमी प्रभाव पनि हुन्छ।

अहिले जाडो मौसम छ। जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रुघाखोकी र त्यसको कारण हुने जटिलता तथा दीर्घ असरहरुको समस्या हो। रुघा–खोकीको प्रमुख जटिलता भनेको निमोनिया हुनु हो।

जाडो मौसममा बालबालिकामा निमोनियाको समस्या बढी हुन्छ भन्ने गरिन्छ। बालबालिकामा जाडो मौसममा लाग्ने मौसमी रुघा–खोकीको समयमा राम्रोसँग उपचार नगर्दा निमोनिया हुने गर्छ।

जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट अर्कोमा सर्ने सम्भावना बढी हुन्छ। यसले गर्दा जाडो मौसममा सरुवा रोगको जोखिम पनि हुन्छ।

चिसोमा सरसफाइ गर्न बालबालिकाले गल्छी गर्ने र अभिभावकले बेवास्ता गर्दा सरसफाइको कमी हुन जान्छ। जसले गर्दा रुघाखोकी, रुघाखोकीका कारण हुने निमोनिया र सरसफाइको कमीले हुनसक्ने रोग र संक्रमणको जोखिम बालबालिकामा बढी हुनसक्छ।

कान्ति बाल अस्पतालमा मौसमी रुपमा श्वासप्रश्वासजन्य रोगहरु, मौसमी रुघाखोकी, निमोनिया र भाइरल डायरियाका बिरामी आउने गरेका छन्।

झाडापखाला भन्ने वित्तिकै मानिसहरुले गर्मी मौसममा फोहोरका कारणले हुन्छ भन्ने सोचाइ राख्छन्। तर जाडो मौसममा चिसोका कारण हुने संक्रमणले भाइरल पखाला गराउन सक्छ।

बोल्न सक्ने उमेरका बालबालिकाले चिसो लागेको कुरा आफ्ना अभिभावकलाई भन्न सक्छन्। तर नवजात शिशुलाई चिसो लागेको कुरा अभिभावकलाई भन्न सक्दैन। यस्तो अवस्थामा आमा–बुबाले नवजात शिशुमा देखिएको लक्षण र व्यवहार हेरेर चिसो लागेको थाहा पाउनुपर्ने हुन्छ।

विशेषगरी नवजात शिशुको शरीर चिसो छ भने चिसो लागेको हुनसक्छ। आमाले शिशुलाई स्तनपान गराउँदा शिशु न्यानो छ वा चिसो छ भन्ने थाहा पाउन सक्छिन्। शिशुलाई दूध चुसाउँदा आमाको छातीमा टाँसेर राख्ने क्रममा यदि बच्चा चिसो छ भने चिसो लागेको हुनसक्छ। नवजात शिशुमा भएको चिसोपना हातखुट्टा, तालु, पैतालामा छाम्दा आमाले चिसो महसुस गरेर थाहा पाउन सकिन्छ।

यस्तै ठूलो बच्चालाई चिसो लागेमा ऊ काम्न सक्छ, शरीरले नछोपिएका भागहरु बढी चिसो हुन्छ, हातका औंलाहरु कठ्यांग्रिएको हुनसक्छ। यसरी चिसो लागेको थाहा पाउन सकिन्छ।

धेरै अभिभावकले के खायो भने बच्चालाई चिसो लाग्छ ? कस्तो खानपानले चिसोबाट बचाउन सकिन्छ भनेर सोध्नुहुन्छ। चिसो मौसममा बाहिरी वातावरण चिसो हुने भएकाले पानीको प्रयोगले चिसो हुनसक्छ। चिसो मौसममा राम्रोसँग बाक्लो कपडा नलगाउँदा पनि चिसो लाग्छ। कतिपयले चिसो मौसममा यस्तो खानु हुँदैन, उस्तो खानु हुँदैन भनेर छुट्याउनु हुन्छ। खासमा खानेकुराकै कारण चिसो लाग्ने भन्ने हुँदैन। तर चिसो लागेका बालबालिकालाई चिसो खानेकुरा खुवाउँदा भने चिसो बढ्ने र स्वास्थ्यमा समस्या देखिने सम्भावना हुन्छ।

चिसोबाट बालबालिकालाई बचाउन विशेषगरी टाउको न्यानो बनाउनुपर्छ। त्यसैले बालबालिकालाई कान छोपिने गरी टोपी लगाइदिनु पर्छ। बालबालिकालाई न्यानो राख्न शरीरलाई मात्र नभई हातखुट्टा र टाउकोमा पनि चिसो नपस्ने गरी कपडा लगाइदिनुपर्छ। चिसोको समयमा प्रशस्त मात्रामा झोल खानेकुरा खुवाउनुपर्छ। चिसोबाट बचाउने नाममा धेरै तातो खानेकुरा खुवाउनु पनि हुँदैन। मनतातो खानेकुरा खुवाउनुपर्छ।

अहिले कोरोना संक्रमणको डरले धेरैले बालबालिकालाई स्वास्थ्य समस्या देखिँदा समयमै अस्पताल नल्याएको हुनसक्छ। यस्तै स्वास्थ्य सुरक्षा र सचेतनामा ध्यान दिँदा बालबालिकामा स्वास्थ्य समस्या कम भएको पनि हुनसक्छ।

अस्पतालमा कोरोना सर्न सक्छ भनेर उपचार गर्न नै नलैजानु राम्रो निर्णय होइन। त्यसैले बालबालिकामा स्वास्थ्य समस्या देखियो भने अस्पतालमा लगिहाल्नु पर्छ।

चिसो मौसममा बालबालिकामा लाग्ने कस्तो रुघाखोकी कडा खालको हो भनेर चिन्न सक्नुपर्छ। साधारण रुघाखोकी लाग्ने वित्तिकै अस्पताल नै आइहाल्नु पर्दैन। तर नवजात शिशुमा खतराका लक्षण वा चिह्न अर्थात् शिशु ज्यादै चिसो भएमा, शिशुले आमाको दूध नचुसेमा, शिशुलाई श्वास फेर्न गाह्रो भएमा र शिशुलाई धेरे कोखा हानेमा तुरुन्त अस्पतालमा लैजानुपर्छ। ठूला बालबालिकाको हकमा पनि उच्च ज्वरो भएमा, राम्रोसँग खाना नखाएमा, छिटोछिटो श्वास फेरेमा श्वास फेर्दा कोखा हानेमा अस्पताल ल्याउनुपर्छ।

अभिभावकले बालकालिकालाई चिसोबाट बचाउन विभिन्न उपाय अपनाएका हुन्छन्। चिसोबाट बचाउने पहिलो उपाय भनेको बच्चालाई न्यानो कपडा, पञ्जा, मोजा, टोपी लगाइदिनु पर्छ। जसले गर्दा बालबालिकाको शरीर न्यानो हुन्छ। तर वातावरण नै तातो राख्नलाई कोठा तातो, न्यानो पार्नु पर्छ। त्यसका लागि कोइला, हिटर वा आगो बाल्ने चलन छ। यसरी आगो, कोइला वा हिटरको प्रयोग गर्दा सावधानी भने अपनाउनु पर्छ। हिटर आगो वा कोइलाको नजिक बस्दा पोल्ने सम्भावना हुनुका साथै कोठामा कार्बोनमनोअक्साइडको कारणले गर्दा श्वास फर्न गाह्रो भई बालबालिका बेहोस हुने सम्भावना रहन्छ। त्यसैले हिटर, आगो वा कोइलाको प्रयोग गर्दा झ्याल–ढोकाबाट हावा प्रवाह हुने वातावरण बनाउनुपर्छ। कोठालाई तातो बनाउने भन्दै भेन्टिलेसन नै नभएको कोठामा झ्याल–ढोका बन्द गरेर कोइला, आगो वा हिटर बाल्नु हुँदैन।

चिसोका कारण बालबच्चाको हातखुट्टा सुन्निएको छ, फोका आएको छ, छालामा समस्या आएको छ वा स्वास्थ्य अवस्था बिग्रिएको छ भने अस्पताल लैजानुपर्छ। बालबालिकालाई चिसोका कारण हुने खतराका चिह्नहरु जस्तैः निमोनियाका लक्षण देखियो, जलवियोजन भयो भने चिकित्सक चिकित्सकले सिफारिस गरेको औषधि खुवाउनु पर्छ।

चिसोका कारण लाग्ने रोग र संक्रमणबाट मात्र होइन, बालबालिकालाई सबै प्रकारका रोग र संक्रमणबाट जोगाउनुपर्छ। कोरोना संक्रमणको जोखिमका कारण नेपालमा लामो समयसम्म लकडाउन र निषेधाज्ञा भयो। यो समयमा बालबालिका घरभित्रै बस्न बाध्य भए। हाम्रो अस्पतालमा अघिल्लो वर्षको जाडोमा भन्दा अहिले बिरामी नै कम छन्। बालबालिकालाई विभिन्न रोग र संक्रमणबाट बचाउन दिइने खोप सेवा पनि प्रभावित भएका छन्। यसले भोलिका दिनमा बालबालिकाको स्वास्थ्य समस्या बढाउने देखिन्छ।

घरको वरपर मात्र बस्न बाध्य भएका बालबालिकामा मनोसामाजिक समस्या बढ्ने सम्भावना छ। शारीरिक समस्या देखियो भने अभिभावकले उपचार गराउन अस्पतालमा ल्याउन सक्छन्। तर मनोसामाजिक समस्याको लक्षण र चिह्न कतिपय अभिभावकले थाहा नै नपाएको हुनसक्छ। जसले गर्दा बालबालिकामा भित्रभित्रै त्यो समस्या गढ्दै जानसक्छ। बालबालिकामा बढ्ने मनोसामाजिक समस्या न्यूनीकरणका लागि अभिभावकहरु सचेत हुनुपर्छ।

लकडाउन, निषेधाज्ञा कम भइसकेको छ, त्यसैले अब बालबालिकालाई खोप लगाउन छुटेको छ भने खोप सेवा लिनुपर्छ। दीर्घरोग भएका बालबालिकाहरु नियमित सेवाबाट विमुख भएका छन् भने त्यो सेवा लिनुपर्छ। बालबालिकाको व्यवहारमा अस्वभाविक परिवर्तन आएको छ भने मनोचिकित्सकलाई सम्पर्क गरी मनोसामाजिक परामर्श र औषधि उपचार गर्नुपर्छ।

बालबालिकालाई जाडो मौसममा हुने रोगबाट बचाउन न्यानोका साथै खानपान स्वस्थकर र पोषणयुक्त हुनुपर्छ। सरसफाइमा कमी गर्नु हुँदैन। चिसो नलाग्ने गरी बालबालिकालाई घरभित्रै सक्रिय बनाउने खेलहरु खेलाउनु पर्छ।

(डा चापागाईं बाल रोग विशेषज्ञ हुन्।)

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१