Jagaran Nepal सोमबार, माघ १७, २०७८

काठमाडौं । सोमबार तीन कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । पाँचथर पावर कम्पनी, नेशनल माइक्रोफाइनान्स लघुवित्त र अरुण काबेली पावर कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

पाँचथर पावर कम्पनी
पाँचथर पावर कम्पनीले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १४ करोड ७८ लाख भन्दा बढी नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमाससको तुलनामा ६४ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ८ करोड ९७ लाख नाफा कमाएको थियो ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको अन्य आम्दानी र विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । सो अवधिमा कम्पनीले विद्युत विक्री बापत रू. २६ करोड ३५ लाख आम्दानी गरेको छ भने रू.१५ लाख ९१ हजार अन्य आम्दानी गरेको हो । चुक्ता पूँजी रू. ९६ करोड २५ लाख रहेको छ भने जगेडामा रू. १० करोड २७ लाख सञ्चित गरेको छ ।

गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको जगेडा कोष रू.५ करोड ४ लाख ऋणात्मक थियो । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू.१५ दशमलव ३६,तरलता अनुपात ४ दशलमव ७६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११० दशलमव ६७ रहेको छ ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८३ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १३ करोड ४१ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २४ करोड ६१ लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

खुद ब्याज आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७२ प्रतिशत र सञ्चालन नाफा ८३ प्रतिशत वृद्धि भएको हो । कम्पनीले सम्भावित जोखिम बापतको ब्यवस्थामा कम रकम छुट्याएकाले सञ्चालन नाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा सम्भावित जोखिम बापतको ब्यवस्थामा रू. २ करोड ५६ लाख छुट्याएकोमा चालू आवको सोही अवधिमा रू. ४१ लाख ४५ हजार छुट्याएको छ ।

कम्पनीको चुक्ता पूँजी रू. ५८ करोड ६६ लाख रहेको छ भने जगेडामा रू. ५९ करोड ४१ लाख सञ्चित गरेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ६ अर्ब ४३ करोड सापटि लिएर रू.२ अर्ब ८४ करोड निक्षेप संकलन गरेर रू. १० अर्ब २२ करोड कर्जा लगानी गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ८३ दशमलव ६७, मूल्य आम्दानी अनुपात ३२ दशमलव ३३ गुणा,तरलता अनुपात ७ दशमलव ५३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २०१ दशमलव २८ रहेको छ ।

अरुण काबेली पावर
अरुण काबेली पावर कम्पनीले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू.२० करोड ३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ९ दशमलव ६३ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १८ करोड २६ लाख नाफा कमाएको थियो ।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । कम्पनीले विद्युत विक्री आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १६ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्री बापत रू. ३८ करोड ८५ लाख आम्दानी गरेकोमा चालू आवमा वृद्धिभ एर रू. ४५ करोड ४१ लाख पुगेको हो ।

कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ८५ करोड रहेको छ भने जगेडामा रू. २० करोड ६२ लाख सञ्चित गरेको छ । त्यसैगरी चालू आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू.२१ दशमलव ५९, मूल्य आम्दानी अनुपात २६ दशमलव ५८ गुणा, तरलता अनुपात शून्य दशमलव ९२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १११ दशमलव १२ रहेको छ ।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१