Jagaran Nepal सोमबार, माघ १७, २०७८

काठमाडौं । तपाईँ स्मार्टफोनमा कभर किन लगाउनु हुन्छ ? सामान्यतया प्रयोगकर्ताले स्मार्टफोन खरिद गरिसकेपछि सबैभन्दा पहिला त्यसमा कभर लगाउँछन् ।

कतिपयले स्मार्टफोन खस्दा टुटफुट हुनबाट जोगियोस् भनेरै कभर प्रयोग गर्छन् । अनि केही चाहिँ स्मार्टफोन फोहोर नबनोस् भनेर यसको प्रयोग गर्छन् ।

कतिपय पटक त उनीहरूलाई कभर लगाउनुको कारण समेत थाहा हुँदैन । हुन त फोनमा कभर नलगाउँदा केही नोक्सानीका विषय पनि छन् ।

तर तपाईँलाई सम्भवतः कभर बिना स्मार्टफोन प्रयोग गर्दाका फाइदाको विषयमा थाहा नहुन सक्छ । आज हामी यहाँ यसै विषयमा चर्चा गर्दैछौँ ।

१. फोन राम्रो देखियोस् भनेरै तपाईँले खर्चिलो मूल्य चुकाउनु भएको हुन्छ

स्मार्टफोन कम्पनीहरूले पछिल्लो समय नयाँ नयाँ डिजाइन र स्टाइलमा स्मार्टफोन सार्वजनिक गरिरहेका छन् । राम्रो डिजाइन र प्रिमियम लुकिङ भएका स्मार्टफोन महँगा समेत हुने गर्छन् । जसै स्मार्टफोनमा तपाईँले कभर लगाउनु हुन्छ, त्यससँगै फोनको डिजाइन तथा लुक्स आधामा खुम्चिन पुग्छ ।

डिजाइनकै कारणले कुनै स्मार्टफोन खरिद गर्नुहुन्छ र त्यसमा कभर लगाउनु हुन्छ भने तपाईँले सकेसम्म डिजाइनमा ध्यान नदिएर सस्तो मूल्यमा राम्रो पर्फर्मेन्स भएको स्मार्टफोन खरिद गर्दा राम्रो हुन्छ ।

हुन त तपाईँलाई लाग्न सक्छ, ‘आफ्नो फोनमा क्लियर केस लगाइएको छु ।’ क्लियर अर्थात पारदर्शी केसको विशेषता नै के हो भने त्यसबाट फोनको डिजाइन सहजै देख्न सकियोस् ।

तर त्यसले साइड भाग भद्दा देखिन्छ । क्लियर केसको सबैभन्दा ठूलो झन्झट भनेको यो केही महिनामै पहेँलो हुन थाल्छ । आफैँ सोच्नुहोस् त, के तपाईँ हरेक महिना यस्तो क्लियर केस फेर्न तयार हुनुहुन्छ ?

यदि हो भन्नु हुन्छ भने ठीकै छ । तर यदि होइन भने तपाईँको फोन जतिसुकै महँगो होस् वा राम्रो डिजाइनको होस्, हेर्दा खेरी अवश्य पनि फोहोर देखिन्छ ।

कभर नलगाउँदा तपाईँको फोन हलुका पनि लाग्छ र प्रयोग गर्दा तपाईँलाई अलिक छट्टै आनन्द महसुस पनि हुन्छ । खल्तीमा सहजै अटाउँछ र गह्रुँगो पनि लाग्दैन । किन कि आजभोलि बजारमा गह्रुँगा कभर समेत भेटिन्छन् ।

२. फोन तात्ने समस्या कम हुन्छ, पर्फर्मेन्स बढ्छः

सामान्यतया हेभी गेम खेल्दा स्मार्टफोन तात्न थाल्छ । यदि फोनमा पहिले नै बाक्लो कभरले छोपेर राख्नु भएको छ भने त्यस्तोमा फोन अझ धेरै गरम हुनसक्छ ।

फोन लगातार तातिरहेको छ भने यस्तोमा तपाईँको फोनको पर्फर्मेन्समा पनि त्यसको असर परिरहेको हुन्छ । त्यसैगरी कभर लगाएरै फोन चार्जमा लगाउनुहुन्छ भने पनि समस्या आउन सक्छ ।

सधैँ त भन्न सकिन्न, तर कहिलेकाहिँ त्यस्तो समस्या आइलाग्न सक्छ । नियमित रुपमा फोनमा कभर लगाइरहँदा फोनभित्रको तातोपन बाहिर निस्किन पाउँदैन ।

३. फोहोर जम्मा हुने समस्या

यदि तपाईँले आफ्नो फोनमा कभर लगाउनु भएको छ भने सम्झिनुहोस् त अन्तिम पटक तपाईँले त्यसको सरसफाई कहिले गर्नु भएको थियो ? कतिपय प्रयोगकर्ता यस्ता पनि हुनसक्छन्, जसले नियमित सरसफाई गरिरहेका हुन्छन् होला ।

तर धेरैजसो प्रयोगकर्ताले निकै लामो समयसम्म फोनको कभर निकालेका हुँदैनन् । फोनको कभरमा धुलो निकै छिटो जम्मा भएर बस्छ, खासगरी फोनको पछाडि भागमा ।

यदि फोनको पछाडि भाग सिसाले बनेको छ भने त झन् विस्तारै ब्याक प्यानलमा धुलोकै कारण फोहोर जमेर बस्न थाल्छ । अर्कोतर्फ बारम्बार फोनबाट कभर निकाल्दै सफा गर्दा फोन नराम्रो देखिन थाल्दछ ।

कतिपय समय त यस्तोसम्म देखिन्छ कि लामो समयको अन्तरालमा कभर निकाल्दा फोनको पछाडि भागमा केही स्क्र्याच समेत देखिने गर्छ । यसो हुनुको कारण लामो समयदेखि धुलो जमेर बस्नु हो ।

अब यहाँनिर सम्झिनुहोस् त, तपाईँले फोनको सुरक्षाका लागि कभर लगाएर राख्नु भएको हो । तर त्यसैका कारण फोन स्क्र्याच हुने भयो ।

फोनमा कभर लगाउनुको एउटा अर्को दलील यो पनि छ कि फोन टुटफुट हुनबाट जोगिन्छ । यो दाबी सही पनि छ ।

तर कतिपय समय फोन कभर लगाइरहँदा समेत खसेको बेला फुट्न सक्छ । किन भने कभर तपाईँले कभर खरिद गर्दा त्यसको टिकाउपनमा त्यति ध्यान दिनुहुन्न ।

४. पैसा जोगिन्छ

हुन त तपाईँ यो विषयमा बहस गर्न पनि सक्नुहुन्छ । तर फोन खरिद गरिसकेपछि एउटा राम्रो कभर किन्नका लागि तपाईँ मध्ये कतिपयले थुप्रै पैसा खर्च गर्नु भएको होला ।

बजारमा सय डेढ सयदेखि पाँच सात हजार रुपैयाँसम्मका कभर पाउन सकिन्छ । अथवा कहिलेकाहिँ त्यसभन्दा पनि बढी पर्न जान्छ । एउटा ठीक्कको कभरकै लागि केही नभए पनि हजार दुई हजार त खर्च गर्नै पर्छ ।

कम मूल्यमा खरिद गरेका कभर चाँडै खराब हुन्छन् र त्यसको टिकाउपन पनि थोरै हुन्छ । फोन खस्दा कतिपय सस्ता कभर फोनसँगै टुट्ने गर्छन् । यस्तोमा कभर नलगाउँदा त्यसमा हुने खर्च जोगिन सक्छ ।

५. बाँकी तर्क

यी सबैका अलावा कतिपय समय कभरकै कारण फोनमा राम्रोसँग सिग्नल नआउन सक्छ । वायरलेस चार्जिङमा समेत कतिपय पटक यसले समस्या निम्त्याइरहेको हुन्छ ।

यति मात्र होइन, कभर लगाएर फोन चलाउँदा फुट्दैन भन्ने तपाईँलाई लागिरहेको हुन्छ । यस्तोमा तपाईँ कम सचेत हुने अथवा लापरबाह हुने सम्भावना रहन्छ ।

फोनमा कभर लगाउँदा राम्रो कि नलगाउँदा राम्रो भन्ने विषयमा दोहोरो तर्क अनेक हुन सक्छन् । तर एक पटक बिना कभर फोन प्रयोग गर्न थाल्नुहोस् त । केही दिनपछि पक्कै पनि तपाईँलाई लाग्नेछ कि फोन बिना कभर प्रयोग गर्दा निकै राम्रो महसुस हुनेछ ।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१