Jagaran Nepal बुधबार, कार्तिक २४, २०७८

समुद्री नुन प्रदूषित हुने भएकाले प्रशोधन गरिन्छ । यसरी प्रशोधन गर्दा पनि नुनमा विभिन्न विकार पदार्थ हुन्छन् ।

जसले शरीरमा समस्या सिर्जना गर्छ । यसको सत्तामा प्राकृतिक बिरेनुनको प्रयोग गर्दा राम्रो हुन्छ । त्यसमा प्राकृतिक बिरेनुन निकै उपयुक्त विकल्प हो ।

उच्च हिमाली भूभागबाट संकलन गरी पूर्ण रूपमा सफा गरेर बिरेनुन तयार पारिएको हुन्छ । यसले विभिन्न स्वास्थ्य समस्यालाई नियन्त्रण गर्नेसमेत काम गर्छ।

बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाई नियन्त्रणमा राख्ने काम गर्छ । यसमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई पनि लाभदायक हुन्छ।

बिरेनुनले पेटमा भएका विषाक्त तत्व लाई पनि बाहिर निकाल्ने काम गर्छ । जसले गर्दा ग्यास्ट्रिक, कब्जियत, अम्लीयलगायतका समस्याबाट बच्न सकिन्छ । तसर्थ, यसले पेटलाई स्वस्थ र सशक्त राख्ने काम गर्छ । खाना पचाउनमा यसको महत्वपूर्ण भूमिका हुन्छ।

बिरेनुनमा सल्फर, आइरनलगायतका शरीरलाई आवश्यक खनिज तत्व प्रशस्त मात्रामा हुन्छ । जसको कारण मोटोपना, खराब कोलेस्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ । त्यस्तै, यसको सेवनले मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, एनिमिया, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्यालाई पनि नियन्त्रण गर्नमा भूमिका खेल्छ।

यसले धातुबाट हुने असरबाट पनि बचाउँछ । त्यस्तै, छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ।

यसको सेवनले कुष्ठरोग, एक्जिमा वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ।

प्रयोग विधि

यसलाई जुनसुकै तरिकाले पनि प्रयोग गर्न सकिन्छ । प्राकृतिक बिरेनुनले खानालाई सुरक्षित राख्ने काम गर्छ । यसलाई टेबुल साल्टका रूपमा वा साँध्ने खालका खानामा सोझै प्रयोग गर्न सकिन्छ । यसलाई पानीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ।

त्यस्तै, मनतातो पानीमा प्राकृतिक बिरेनुनको मिश्रण गरी नुहाउँदा निकै लाभदायक हुन्छ।

दाँत, गिजा, जिब्रो, घाँटी आदिमा समस्या उत्पन्न भएमा तोरीको तेलमा बिरेनुनको मिश्रण गरी सफा गर्न सकिन्छ। यसले दाँतलाई चम्किलो बनाउनुका साथै मुखसम्बन्धी अन्य समस्याबाट पनि मुक्त हुन सहज हुन्छ।

दिसा पातलो हुने समस्या भएमा प्याजलाई मसिनो गरी काटेर बिरेनुन र कागतीको रस एक चम्चा मिसाई प्रयोग गर्दा तत्कालै राहतको महसुस हुन्छ।