Jagaran Nepal बुधबार, कार्तिक १०, २०७८

काठमाडौं – खातामा पर्याप्त रकम नभएको जानी जानी चेक दिएर ठगी गर्ने एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ घर भई काठमाडौंको टोखा नगरपालिका-५, बसुन्धारा बस्ने वर्ष ३५ की अप्सरा खातुन रहेकी छन्।

खातुनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी सन् २०१८ अक्टोबर १२ मा नबिल बैंक लिमिटेडको चेक काटी दिएको प्रहरीले जनाएको छ।

बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७७ मंसिर १६ मा सात दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो।

फरार रहेकी खातुनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले काठमाडौंको चुनीखेलबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको छ।