Jagaran Nepal सोमबार, कार्तिक ०८, २०७८

मान्छेलाई सानै भए पनि आफ्नै घरमा बस्ने चाहना हुन्छ। काठमाडौं उपत्यकामा सामान्यतया तीन/चार/पाँच आना जग्गामा घर बनाउने धेरै छन्। हामीकहाँ घर बनाउने प्रक्रिया त झन्झटिलो छँदैछ, घर बनाउन कति खर्च लाग्ला भन्ने अनुमान गर्नु पनि कठिन हुन सक्छ।

यहाँ हामीले काठमाडौंमा आठ सयदेखि एक हजार वर्गफुटमा (तीन/चार/पाँच आना जग्गामा) बनाउन सकिने चार कोठे घरको लागत अनुमान विवरण तयार पारेका छौं।विभिन्न निर्माण कम्पनीका इञ्जिनियर तथा प्राविधिकहरूसँगको कुराकानीपछि हामीले यो विवरण तयार पारेका हौं।

त्यसो त घर निर्माण लागत बनाउनेको इच्छा र आवश्यकताले तय गर्छ। कोही आफ्नो बजेट र आम्दानीअनुसार केही वर्ष लगाएर बनाइसक्ने होलान्। जस्तैः यो वर्ष, जग राख्ने। अर्को वर्ष ढलान र गाह्रो उठाउने। अर्कोवर्ष रंगरोगन, भान्सा लगायत। वा कसैलाई दुई-चार महिनामै सक्नेगरी हतारो होला। त्यस्तै प्रयोग हुने अत्यावश्यक बाहेकका सामग्री कस्ता राख्ने भन्ने आधारमा लागत घटबढ हुन्छ।

सिमेन्ट, इँटा, गिटी–बालुवा, डन्डी, झ्याल, ढोका, पाइप लाइन, बिजुली आदि अनिवार्य सामग्री हुन्। टायल, मार्वल, रङ, मोडुलर किचन, स्यानिटरी, फल्स सिलिङ, बत्ती, पार्केटिङ अतिरिक्त हुन्। यीबाहेक पनि घर बनाउन सकिन्छ।

यहाँ अत्यावश्यक सामग्रीको मात्र कुरा गरिएको छ।

नक्सा र डिजाइनः

नगरपालिकामा नक्सा पास नगरी घरको जग खन्न पाइँदैन। त्यसैले सबभन्दा पहिले नक्सा र डिजाइनको काम गर्नुपर्छ। नक्सा र डिजाइनको पाटो घरको जग राख्नु बराबर मानिन्छ। नगरपालिकाका इञ्जिनियरको सहजिकरणमा नक्सा बनाउँदा प्रायः सबैको घर उस्तै उस्तै देखिन्छ। तर नक्साकै आधारमा जीवनकै महत्वपूर्ण काम अघि बढ्ने भएपछि सम्झौता गर्ने कुरा पनि भएन।

राम्रो नक्साले घरमा लाग्ने खर्च र समय अनुमान गर्न सहयोग गर्छ। घर बनाउँदै जाँदा बजेटभन्दा दोब्बर खर्च हुन नदिन पनि नक्सा र डिजाइन गर्नु आवश्यक छ।

चार आनामा बनाइने एक तले घर बनाउन कम्तीमा एक लाख र बढीमा दुई लाख रूपैयाँ खर्च लाग्छ। इञ्जिनियरको अनुभव र निर्माण कम्पनीको विश्वसनीयताका आधारमा पनि मूल्य तय हुन्छ। इन्टेरियर थ्रिडीसहित डिजाइन गर्दा प्रतिवर्गफुट एक सय रूपैयाँ थप शुल्क तिर्नुपर्छ।

ठेकदार ज्यालाः

घर बनाउन सुरू गर्नु पहिल्यै ठेकेदार खोज्नुपर्छ। ज्यालाको सम्झौता भइसकेपछि मात्रै निर्माण अघि बढ्ने भएकाले यो पाटो निकै महत्वपूर्ण हुन्छ।

देशका विभिन्न स्थानमा ठेक्का लगाउने चलन फरक फरक हुन्छ। काठमाडौं उपत्यकाको कुरा गर्दा निजी घर निर्माणका लागि वर्गफुट नापका आधारमा र निर्माण सामग्रीका आधारमा गरी दुई किसिमले ठेक्कामा दिने चलन छ।

वर्गफुट नापका आधारमा ठेक्का दिँदा पहिलो तलाको ढलान सकिएपछि छत, बरन्डा र झ्यालको माथिल्लो भागमा हुने छानोले ओगटेको भाग नापिन्छ। चलन चल्ती र निर्माणको सम्झौता अनुसार प्रतिवर्गफुट चार सयदेखि पाँच सय रूपैयाँसम्म ठेकेदारले ज्याला लिन्छन्। यदि एक सम्पूर्ण छतको नाम एक हजार वर्गफुट भए पाँच लाख रूपैयाँ प्रति तला ठेकेदारलाई तिर्नुपर्छ।

त्यस्तै निर्माण सामग्रीको दरअनुसार ठेक्कामा दिँदा जग राखेको, पिलर उठाएको, ढलान गरेको, गारो लगाएको अलग अलग दर कायम गरी पैसा तिरिन्छ। यहाँ काम सकिनासाथ पैसा तिर्नुपर्ने हुन्छ। यसमा पनि आपसी समझदारी अनुसार रकम तय हुन्छ।

यो ठेकेदारले काम गरिदिएको ज्याला मात्रै हो। यसमा सामग्री घरधनीले नै किन्नुपर्छ। यी दुवै ठेकेदारी प्रणालीमा काम गर्दा लाग्ने समय, काम गर्ने स्थान, कामको किसिम लगायत कुराले लागत निर्धारण गर्छ। सामान्य समयभन्दा चाँडो घर बनाउन परे, लामो दूरीमा निर्माण सामग्री ढुवानी गर्नुपरे वा जटिल वा नौलो डिजाइन जस्ता कुराले ज्याला बढ्छ।

सिमेन्टः

एक तले घरमा लाग्ने सिमेन्टको अनुमान गर्दा घरमा राखिने पिलर र बिमको आकारलाई ध्यान दिनुपर्छ। त्यस्तै गारोको आकारले पनि सिमेन्टको लागत निर्धारण गर्छ। नौ इन्चको गारो लगाउँदा भन्दा पाँच इन्चको गारो लगाउँदा सिमेन्ट कम लाग्छ। त्यस्तै नौ वटा पिलर राख्दा कम र बाह्र वटा पिलर राख्दा लागत बढी लाग्छ।

आठ सयदेखि एक हजार वर्गफिटमा बन्ने घरका लागि बढीमा तीन सय बोरा ओपिसी अनुमान गर्नुपर्छ। त्यस्तै जोडाइ, प्लास्टर र फिनिसिङमा करिब तीन सय बोरा पिपिसी लाग्छ।

दुवै मिलाएर करिब छ सय बोरा सिमेन्ट लाग्छ।

अहिले ओपिसीको कारखाना मूल्य पचास किलोको प्रतिबोरा सात सय पचासदेखि आठ सय रूपैयाँ छ। त्यस्तै प्रतिबोरा छ सय पचासदेखि सात सय रूपैयाँसम्म पिपिसी पाइन्छ।

यो हिसाबले ओपिसीमा दुई लाख २५ हजारदेखि दुई लाख ४० हजार रूपैयाँ लाग्छ। त्यस्तै पिपिसीमा करिब दुई लाख पाँच हजार रूपैयाँ अनुमान गर्नुपर्छ। यसरी दुवैथरी सिमेन्टमा करिब चार लाख पचास हजार रूपैयाँसम्म खर्च हुन्छ।

इँटाः

प्राविधिकका अनुसार घरको जग र पहिलो तलामा नौ इन्च गारो लगाउँदा राम्रो हुन्छ। जगमा बलियो पार्नुपर्ने र पहिलो तला तुलनात्मक रूपमा ओसिलो हुनाले मोटो गारो लगाउन सुझाव दिइन्छ।

गारोको उचाइ र मोटाइ हिसाब गरेर कुनै पनि घरमा लाग्ने इँटाको संख्या पत्ता लगाउन सकिन्छ। झ्याल र ढोकाको आकारले इँटाको लागत फरक पार्छ। प्रत्येक कोठामा स्ट्यान्डर्ड आकार (लम्बाइ छ फिट र चौडाइ चार फिट) को दुइटा झ्याल र एक वटा ढोका राखेर नौ इन्चको गारो लगाउँदा करिब २८ हजार इँटा अनुमान गर्नुपर्छ।

अहिले काठमाडौंमा एक नम्बरी इँटा प्रतिगोटा ढुवानी सहित १८ रूपैयाँसम्म पर्छ। यसरी हिसाब गर्दा एक चार आना क्षेत्रफलमा बनाइने एक तले घरमा करिब पाँच लाख मूल्य बराबरको इँटा किन्नुपर्छ।

गिटी–बालुवाः

निर्माणमा अति आवश्यक बस्तु हो गिटी–बालुवा। एक तले घरका लागि १४– १५ टिपर गिटी–बालुवा लागत अनुमान गर्नुपर्ने हुन्छ। सामान्य अवस्थामा यसका खर्च करिब चार लाख रूपैयाँ पर्छ।

धादिङको कालो गिटी प्रतिटिपर २८ हजार रूपैयाँ निर्माण स्थलसम्म पुग्छ। त्यस्तै डबल वास बालुवा पनि अहिले २८ हजार रूपैयाँमा ढुवानी खर्च समेत जोडेर निर्माण स्थलसम्म पुग्छ।

प्लास्टरका लागि सामान्य बालुवा भए पनि हुन्छ। तर ढलान, कोरा मसिनो गर्न डबल वास बालुवा राम्रो मानिन्छ। फिनिसिङ, गारोको आकारले बालुवाको लागत निर्धारण हुन्छ। मूल्य तलमाथि भएको अवस्थामा लागतमा पनि कम बढी हुन्छ।

डन्डीः

कुनै पनि संरचना बनाउँदा त्यसमा राखिने पिलर, भित्रको पर्खाल आदिले डन्डीको लागत निर्धारण गरेको हुन्छ। प्राविधिकहरूका अनुसार जग राख्दा जमिनबाट कम्तीमा पाँच फिट गहिरो हुनुपर्छ। जगबाट पिलर उठाउँदा प्रति पिलर एक सय पच्चीस किलोभन्दा बढी डन्डी लाग्छ।

जगसँगै राखिने बिम, डिपिसी बिम, झ्यालको तल र माथि, पहिलो तलाको ढलान अड्ने बिम, भर्‍याङ र ढलानमा गरी करिब साढे पाँच टन (पाँच हजार पाँच सय किलो) डन्डी आवश्यक पर्छ।

पछिल्लो केही सातायता डन्डीको मूल्य बढेको छ। बजारमा एक किलो डन्डीको एक सय १५ देखि एक सय २० रूपैयाँसम्म पर्छ। तसर्थ एकतले घरका लागि करिब छ लाखदेखि छ लाख पचास हजार रूपैयाँ डन्डीमा लगानी गर्नुपर्छ।

काठको झ्याल ढोकाः

महँगो भए पनि चाहेजस्तो डिजाइन दिन, आकारप्रकार र गुणस्तर रोज्न, पुनः प्रयोग गर्न सकिने र टिकाउ हुनेजस्ता विशेषताले काठका झ्याल ढोका सदावहार छ।

चार कोठा भएको घरको मूलढोका, ट्वाइलेट र पछाडिसमेत गरी कम्तीमा सातवटा ढोका राख्नुपर्छ। त्यस्तै प्रतिकोठा दुइटा र ट्वाइलेटमा एक गरी कम्तीमा नौ वटा झ्याल आवश्यक हुन्छ।

सालको काठ प्रतिक्युबिक फिट पाँच हजार पाँच सय रूपैयाँबाट सुरू हुन्छ। ठिकै गुणस्तरको काठ प्रयोग गर्दा एउटा ढोकामा करिब पाँच हजार रूपैयाँ तिर्नुपर्छ। त्यस्तै सालको चौकोस भए सात–आठ हजार रूपैयाँ पर्छ।

त्यस्तै झ्यालमा चौकोस मात्र नभए सिसा राख्ने फ्रेमसहित काठको हिसाब गर्नुपर्ने हुन्छ। यहाँ एउटै झ्यालमा करिब ९ हजार रूपैयाँ बराबरको काठ लाग्छ।

यसअनुसार झ्याल-ढोकाको चौकोसमा मध्यम गुणस्तरको काठ प्रयोग गर्दा करिब एक लाख २० हजार रूपैयाँ खर्च लाग्छ। झ्यालमा सिसा राखिए पनि ढोकाहरूमा पल्ला पनि राख्नुपर्ने हुन्छ।

मूल ढोकामा सुहाउँदो डिजाइनको एउटै ढोका राख्न एक लाखसम्म खर्चिनुपर्छ। तर बीस–पच्चीस हजारमा पनि राम्रै ढोका पाइन्छ। भित्री ढोकाहरू पाँच–सात हजारमा विभिन्न डिजाइनका राख्न सकिन्छ।

माथिको जानकारी अनुसार झ्याल–ढोका चौकोस र पल्लाका लागि दुई लाखदेखि दुई लाख पचास हजार रूपैयाँसम्म खर्च हुन्छ। झ्यालमा राखिने सिसाको अलग्गै खर्च जोड्नुपर्छ।

पाइप जडान र ट्यांकीः

एउटा घर बनाउँदा अनिवार्य रूपमा चार प्रयोजनका लागि पाइप प्रयोग हुन्छ– खानेपानी, सरसफाइको पानी, ढल र बिजुलीको पाइप। चार कोठे मात्रै घर बनाउँदा यी सबैखाले पाइपमा करिब एक लाख पचास हजार रूपैयाँ लागत अनुमान गर्नुपर्छ।

त्यस्तै पाइपलाइनसँगै घरको भुइँमा र छतमा पानी ट्यांकी पनि राख्नुपर्छ। स्टेनलेस स्टिलको पानी ट्यानी राख्दा खर्च बढ्न जान्छ भने सामान्य कालो, हरियो रङका ठूला एक हजार लिटरका ट्यांकीको १२ हजारदेखि १४ हजारसम्म पर्छ। सेफ्टी ट्यांकी समेत बनाउँदा थप ३० हजार खर्च जोड्नुपर्छ।

भान्सा र बाथरुमः

सामान्य स्ल्याब राखेर भान्सा बनाउने हो भने पचास हजारमै बनाउन सकिन्छ। तर अहिले मोडुलर किचनको अवधारणा छ। सफा गर्न र व्यवस्थापन गर्न सजिलो भएकै कारण आधुनिक भान्सा धेरैको रोजाइमा परेको छ। आधुनिक भान्सा बनाउन कम्तीमा दुई लाख रूपैयाँ लागत अनुमान गर्नुपर्छ।

त्यस्तै सामान्य बाथरुम बनाउन ३० हजार जति खर्च हुन्छ भने आधुनिक बनाउँन स्यानिटरी सामग्री सहित एक लाख खर्च अनुमान गर्नुपर्छ।

बिजुली जडानः

बिजुली र बत्ती जडानमा विशेष ध्यान दिनुपर्छ। सानो गल्तीले दुर्घटना निम्त्याउन पनि सक्छ। त्यसैले पनि खर्चको चिन्ता नगरी अनुभवी इलेक्ट्रिसियनबाटै बिजुली जडान गर्न सुझाव दिइन्छ। चार कोठे घरमा सामान्य बिजुलीका सामान, बत्तीसहित वायरिङ गर्दा दुई लाख जति खर्च हुन्छ।

रंग रोगनः
सामान्यततया रंग रोगनबिनै पनि घरमा बस्न मिल्छ। तर रङबिना घर अधुरो देखिन्छ। एक तले घरमा राम्रो ब्रान्डको रङ लगाउँदा करिब दुई लाख खर्च हुन्छ। ठिकैको रङ भने एक लाख पचास हजारमा सकिन्छ। कामदारको ज्याला पचास हजार जोड्दा दुई लाखसम्ममा रङको काम सकिन्छ।

एक तले घर बनाउन उल्लेखित सामग्रीमा करिब ३५ लाख रूपैयाँ खर्च हुने देखिन्छ। घर बनिसक्न यसबाहेक अरू पनि थुप्रै कुरा चाहिन्छ जसका लागि थप खर्च चाहिन्छ।