Jagaran Nepal आइतबार, कार्तिक ०७, २०७८

काठमाडौँ । फेरि शक्तिशाली भूकम्प गएको छ । उत्तरपूर्वी ताइवानमा आइतबार शक्तिशाली भूकम्प गएको छ। त्यहाँका बासिन्दाहरूले राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस गरेको बताएका छन् ।तर व्यापक क्षतिको हालसम्म समाचार प्राप्त नभएको जनाइएको छ । ताइवानको केन्द्रीय मौसम ब्यूरोका अनुसार यस भूकम्पको मापन ६.५ म्याग्नेच्यूडको रहेको छ । तर अमेरिकी भूगर्भ सर्वेक्षणले संस्थाले भने ६.२ म्याग्नेच्यूडको मात्र भएको बताएको छ ।

स्थानीय समयानुसार आइतबार १ः ११ बजे मध्यान्हमा गएको यस भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी यिलान जिल्लाको आसपासको इलाकामा नै ६७ किलोमिटर गहिराइमा रहेको थियो ।यिलानमा बस्ने एएफपी सम्वाददाताका अनुसार कम्पन करिब ३० सेकेन्डसम्म चलेको थियो । भूकम्पपछि ५.४ म्याग्नेच्यूडको पराकम्पन आएको बताइएको छ ।

सन् २०१८ मा एक रमणीय पर्यटकस्थल हुआलिएनमा आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १७ व्यक्तिको मृत्यु भएको थियो भने करिब ३०० जना घाइते भएका थिए ।सन् १९९९ को सेप्टेम्बरमा ताइवानको एक टापुमा गएको ७.६ म्याग्नेच्यूडको भूकम्पले इतिहासको नै सबैभन्दा घातक रहेको र यसमा परी दुई हजार ४ सय जनाको मृत्यु भएको थियो ।

यस्तै चीनले जुलाई र अगस्ट गरी दुई पटक नयाँ हाइपरसोनिक हतियार परीक्षण गरेको फाइनेन्सियल टाइम्सले खुलासा गरेको छ । यो खुलासासँगै चीनको भूराजनीतिक प्रतिद्धन्द्धी अमेरिका चिन्तित बनेको छ ।

क्षेप्यास्त्र परीक्षणले अमेरिकी सेना र गुप्तचर अधिकारी स्तब्ध बनेको पत्रिकाले टिप्पणी गरेको छ । पत्रिकाअनुसार चीनले पहिलोपटक जुलाई २७ मा आणविक हतियार क्षमतायुक्त हाइपरसोनिक ग्लाईड भेहिकललाई पृथ्वीको परिक्रमा गराएपछि लक्ष्यतर्फ पठाएको थियो ।

त्यसको दुई सातापछि १३ अगस्टमा चीनले दोस्रो हाइपरसोनिक परीक्षण गरेको थियो । चिनियाँ सेनाको प्रगतिबाट अमेरिका अत्तालिएको छ । अमेरिकी वैज्ञानिकहरुले हाइपरसोनिक हतियारको क्षमताबारे चासो देखाउँदै आएको छ ।चीनको आणविक हतियार क्षमताबाट राष्ट्रपति जो बाइडेन प्रशासन चिन्तित छ । यस्तो उपकरण अमेरिकासँग भने छैन् । चीनको विदेश मन्त्रालयले यसअघि अन्तरिक्षमा विमान मात्र पठाएको जनाएको थियो ।