Jagaran Nepal आइतबार, कार्तिक ०७, २०७८

बलिउड अभिनेत्री परिणिती चोपडा केही समययता नेपालमा छिन्। उनी राजश्री प्रोडक्सनको व्यानरमा बनिरहेको फिल्म ‘उचाइ’ को छायांकनका लागि नेपाल आएकी हुन्।

शुक्रबारदेखि ३३ वर्ष लागेकी परिणितीले यसपटक जन्मोत्सव फिल्म युनिटसँगै मनाङमा मनाइन्। हिमाली जिल्ला मनाङमा शुक्रबार उनी आठ दिने सेड्युलका लागि पुगेकी हुन्। सम्भवत: फिल्म युनिटको यो अन्तिम सेड्युल हो नेपालमा।

बलिउड निर्देशक सुरज बडजात्याको निर्देशनमा तयार भइरहेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, नीना गुप्तालगायतको अभिनय रहेको छ। परिणिती यो टिमसँग काम गर्न पाउँदा आफूलाई निकै भाग्यमानी मान्छिन्। नेपालमा रहेका फिल्मकै कास्ट एन्ड क्रिउसँग जन्मोत्सव सेलिब्रेसन गरेकी परिणितीले भारतीय मिडियासँग कुरा गर्दै सन् २०२१ प्रति पूर्णतः आभारी रहेको बताएकी छिन्।

बलिउडमा एक दशकको यात्रा तय गरिसकेकी यी अभिनेत्रीले लन्डनमा म्यानचेस्टर बिजनेस स्कुलमा बिजनेस, फाइनान्स र इकोनोमिक्समा डिग्री गरेकी छिन्। यसैले गर्दा उनले त्यहीँ केही बैंकमा जागिरका लागि प्रयास गरिन्। तर, उनले कतै काम पाइनन्। पढाइ गर्ने समयमा ५० लाख ऋण भएकाले उनले भारत फर्किने निर्णय गरिन्। ‘म लन्डनबाट मुम्बई फर्किएँ किनकि दिल्लीभन्दा मुम्बईको टिकट सस्तो थियो,’ उनले एक अन्तर्वार्तामा भनेकी छिन्।

उनी मुम्बई आएपछि यशराज फिल्म्समा एकाउन्टेन्टको कामका लागि एप्लाइ गरिन्। तर, त्यो पोस्टमा जागिर खाली नहुँदा उनलाई यशराज फिल्म्सले मार्केटिङ र पीआर डिपार्टमेन्टमा इन्टरनसिप दियो, जसलाई उनले स्वीकार गरिन्। ‘म त्यहाँ आफ्नै पढाइसँग सम्बन्धित काम चाहन्थे र त्यहीअनुसार जोडिएँ,’ उनले भनिन्। त्यही अफिसमै निर्देशक मनिष शर्माले परिणितीलाई स्पट गरे। त्यसैकारण उनले सन् २०११ को फिल्म ‘लेडिज भर्सेस रिकी बेल’ मा चान्स पाइन्।

त्यो फिल्ममा काम गर्न उनलाई सहज भने थिएन। किनकि उनले केही ट्रेनिङ लिए पनि फिल्मका बारेमा जानकार थिइनन्। त्यसैले उनले मनिषलाई धेरै प्रश्न गर्ने गर्थिन्। ‘म क्यारेक्टरको बारेमा धेरै सोध्ने गर्छु किनकि म स्पष्ट नभएसम्म सट दिन सक्दिनँ,’ परिणिती भन्छिन्। त्यसपछि उनले यशराज फिल्म्सकै फिल्महरू लगातार गरिन्। पछिल्लो समय उनले एक छुटै पहिचान स्थापित गरिसकेकी छिन्। यसै वर्ष उनको द गर्ल अन द ट्रेन, सन्दीप और पिंकी फरार र साइना रिलिज भइसकेको छ। न्युज कारखाना