Jagaran Nepal आइतबार, कार्तिक ०७, २०७८

मुम्बई । मुम्बई क्रुज ड्रक्स मुद्धामा बलिउड अभिनेत्री अनन्या पाण्डेको नाम जोडिएपछि उनीमाथि समस्याको श्रृंखला सुरु भएको छ ।

नारको कन्ट्रोल ब्यूरो (एनसीबी) ले उनलाई दुईपटक सोधपुछ गरिसकेका छन् र सोमबार पुनः एनसीबीमा हाजिर हुनुपर्नेछ ।

यो घटनाको असर उनको करियरमा देखिएको छ । आर्यन खानको ड्रग्स मुद्धासँग जोडिएर नाम आएपछि उनलाई दक्षिण भारतीय सुपरस्टार थलपति विजयको फिल्मबाट निर्माताले निकालेका छन् ।

विजय चाँडै नै फिल्म ‘थलपति ६६’मा देखिँदैछन् । यो फिल्मलाई वामशी पेडिपल्लीले निर्देशन गरिरहेका छन् ।

यो फिल्मको छायांकन आगामी वर्षबाट सुरु हुँदैछ । यो फिल्ममा अभिनेत्रीको रुपमा अनन्या छानिएकी थिइन् । यो फिल्म हिन्दी भाषामा पनि डब हुँदैछ ।

तर ड्रक्स मामलासँग जोडिएपछि अनन्यालाई फिल्म ‘थलपति ६६’बाट हटाइएको छ । अनन्याको नाम आर्यनको ह्वाट्स एप च्याटमा देखिएपछि बिहीबार एनसीबीको टिम उनको घर पुगेको थियो ।

उनलाई बिहीबार र शुक्रबार सोधपुछ गरिएको थियो । अनन्यामाथि च्याटमा ड्रक्स माग्ने कुरा गरेको आरोप छ ।

अनन्याले करण जोहारको फिल्म ‘स्टुडेण्ट अफ द इयर २’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यसपछि उनले कार्तिक आर्यनसँग फिल्म ‘पति पत्नी और वो’मा अभिनय गरिन् ।

यसबाहेक उनी इशान खट्टरको फिल्म ‘खाली पिली’मा पनि देखिएकी छन् । यी तिन फिल्मले बक्सअफिसमा खासै कमाल गर्न सकेनन् । अनन्या हाल विजय देवरकोण्डाका साथ फिल्म ‘लिगर’मा काम गरिरहेकी छन् ।