Jagaran Nepal शनिबार, कार्तिक ०६, २०७८

भक्तपुर — उमेरले सात दशक पार गर्दै छन् । तर, सक्रियता तन्नेरीको भन्दा कम छैन । बाजे बिकुलाल र बुबा जगतलालले धान्दै आएको पुर्ख्यौली पेसा ‘सिकर्मी’ सँग उनको संगत १२ वर्षको उमेरदेखि नै भयो ।

कक्षा ६ सम्म मात्र औपचारिक अध्ययन गरेका उनको सीपलाई शिक्षाको स्तरले मापन गर्न सकिँदैन ।यी जोसिला कर्मवीर हुन्, जगतवीर शिल्पकार । उनी भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका आर्किटेक्ट इन्जिनियरिङका विद्यार्थीलाई काठसम्बन्धी परम्परागत प्रविधिको प्रशिक्षण दिन्छन् ।

यो कलेजबाट बर्सेनि ९० जना विद्यार्थीले उनीबाट सीप सिक्ने गरेका छन् । ‘अहिलेको मान्छेले मौलिक शैलीमा काठ जोड्न जान्दैनन्,’ उनी भन्छन्, ‘विद्यार्थीलाई वार्षिक ३ महिना काठ ज्वाइन्टसम्बन्धी सीप सिकाउँदै आएको छु ।’२०५७ सालबाट उनले कलेजका विद्यार्थीलाई मौलिक तथा परम्परागत प्रविधिको प्रशिक्षण दिँदै आएका हुन् ।

प्राचीन तथा ऐतिहासिक मठमन्दिरमा फलामको प्रयोग गरिँदैन । फलामको प्रयोग नगरी कसरी काठ बाँध्न सकिन्छ भनेर उनी विद्यार्थीलाई ज्ञान बाँड्छन् ।जगतवीर अहिले निर्माणाधीन ख्वप अस्पतालको बुट्टेदार ढोका र आँखीझ्याल कुँदिरहेका छन् । धागो बनाउने चर्खा,

कपडा बुन्ने तानबाट सुरु भएको उनको सीप भक्तपुरको विश्व प्रसिद्ध न्यातपोल (पाँचतले) मन्दिर, भैरवनाथ, साँखुको बज्रयोगिनी, खोटाङको हलेसी महादेव, बनेपाको चण्डेश्वरी, नाला भगवती मन्दिरलगायत ६० भन्दा बढी ऐतिहासिक मन्दिर र पाटीपौवामा सजिएको छ ।

ऐतिहासिक सम्पदाको पुनर्निर्माण र जीर्णोद्धारमा पनि उनी त्यत्तिकै सक्रिय छन् । भक्तपुरकै तौमढीको भैरवनाथ मन्दिर जीर्णोद्धारमा उनले दुईपल्ट नेतृत्व लिए । २०५१ सालमा भैरवनाथको जीर्णोद्धार गरेका उनले २०७२ वैशाखको भूकम्पले क्षति पुगेको मन्दिरलाई उसैगरी

ठड्याउनमा मिहिनेत गरे । ‘२०५१ अघि भैरवनाथमा सल्लाको काठ जडित थियो, चोरमारा पुगेर सालको काठ ल्याई आफैंले फेरें,’ उनले सम्झिए । जगतवीर नेतृत्वको टोलीले ख्वप कलेजको पाँच वटा भवन बनाएको छ । निर्माणाधीन ख्वप अस्पताल भवनमा खटिएका सिकर्मीको नेतृत्व पनि उनैले गरिरहेका छन् ।

सन् २००३ मा जर्मनीको ह्यामबर्गको ह्यागनबेक पार्कमा नेपाल प्याभिलियनमा तीनतले प्यागोडा शैलीको मन्दिर बनाउँदा जगतवीर त्यसको नाइके थिए । ‘डाँची अप्पा, बुट्टेदार काठ, ढुंगालगायत निर्माण सामग्री यहीँबाट लगेर जर्मनीमा तीनतले मन्दिर बनायौं,’ उनले दंग पर्दै सुनाए, ‘पुर्ख्यौली पेसाले विदेशमा समेत सीप देखाउन पाइयो ।’

नगरपालिकाले मौलिकशैलीको घर बनाउनेका लागि इँटा र काठमा ३५ प्रतिशत छुटको दिँदै आएको छ । यसले सिकर्मीहरूलाई प्रोत्साहन मिलेको छ । विश्व प्रसिद्ध मठमन्दिर, बिहार, पाटी, सत्तल, कलेज, अस्पतालमा आफूले कुँदेको सीप सजिएको देख्दा ऊर्जा थपिने बताउने जगतवीरको नाम भने ती संरचनामा कतै भेटिन्न ।

‘यही सीपले बाँचें, मुलुक घुमें, यसैमा सन्तुष्ट छु,’ उनले भने, ‘नाम होइन, काममा विश्वास लाग्छ, नगरपालिकाले सीपको कदर त गरेको छ ।’उनले सिकर्मी पेसाबाटै ६ छोरी र ३ छोराको शिक्षादीक्षा धानेका छन् । उनका तीन छोरा मोहन, चन्द्रराम र नविनले पनि पुर्ख्यौली पेसा अपनाएका छन् ।-कान्तिपुरबाट