Jagaran Nepal शुक्रबार, कार्तिक ०५, २०७८

काठमाडौं । नेपाली युवा दिनेश न्यौपानेले बनाएको किबोर्ड एप ‘फन्ट्स् एए किबोर्ड’ झण्डै एक करोड रूपैयाँमा बिक्री भएको छ । उनले १२ महिना लगाएर यो एप तयार पारेको जनाएका छन् । विहिवार सामाजिक सञ्जाल मार्फत यसवारे जानकारी दिँदै उनले आफ्नो मेहनत सफल भएको बताएका छन् ।

फेसवुक मार्फत उनले यो एप इजरायलको चर्चित एप स्टुडियो जिपो एप्सले खरिद गरेको उल्लेख गरेका छन् । उनले फेसवुकमा त्यसको मुल्य नखुलाएको भएपनि ८३ हजार डलर (करिब ९९ लाख ४४ हजार रुपैयाँ) मा कम्पनीले खरिद गरेको बताइएको छ । काठमाडौं विश्वविद्यालबाट दुई वर्षअघि स्नातकमा जियोम्याटिक्स इन्जिनियरिङ सकाएका न्यौपानेले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै यो एप विकास गरेका हुन् ।

न्यौपानेका अनुसार यो किबोर्ड एप विभिन्न देशका १८ भाषामा चलाउन सकिन्छ । नेपालमै बसेर एप डिजाइन, डेभलपमेन्ट र मार्केटिङ गरिरहेका दिनेश छोटो समयमै पोर्चुगिज, स्पेनिस लगायतका विश्वका लोकप्रिय भाषामा किबोर्ड सोलुसन दिन सफल बने ।

हाल एन्ड्रोइड प्लेटफर्ममा यो एप ३४ लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ । उनका अनुसार गुगल प्ले स्टोरको पर्सनलाइनसेजन क्याटेगोरीमा यो एप ७० भन्दा बढी देशमा शीर्ष ५० र १५ देशमा शीर्ष २० स्थानमा छ ।