Jagaran Nepal शुक्रबार, कार्तिक ०५, २०७८

आफैले चलाएको बोलेरो पल्टिँदा काभ्रेमा एक प्रधानाध्यापकको निधन भएको छ । गएराति बोलेरो पल्टिँदा घाईते हुनुभएका चौरीदेउराली गाउँपालिका वडा नम्बर ४ मा रहेको सरस्वती माध्यामिक विद्यालय छेडाका प्रधानाध्यापक कमल श्रेष्ठको उपचारको क्रममा निधन भएको हो ।

प्रहरीका अनुसार प्रधानाध्यापक श्रेष्ठले हिजो दिउँसो ३ बजेतिर दोलालघाटबाट सामान लिएर आफ्नो घरतर्फ जाँदै गरेको बा २१ च ९२१० नम्बरको बोलेरो बिचबाटोमै दुर्घटनामा परेको हो । बोलेरो भुम्लु गाउँपालिकाको वडा नम्बर ५ को जामुने खोला नजिक दुर्घटनामा परेको थियो ।

बोलेरोमा प्रधानाध्यापक श्रेष्ठमात्रै सवार हुनुहुन्थ्यो । ४९ वर्षीय प्रधानाध्यापक श्रेष्ठको उपचारको क्रममा आज बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दोलालघाटबाट सामान लोड गरेर हिड्नु भएका श्रेष्ठसंग केहि समयपछि सम्पर्क टुटेपछि परिवार र आफन्तले दोलालघाटबाट सामान लिएर गएको बोलेरोका चालकसंग सम्पर्क छुटेको खबर फलाँटे प्रहरी चौकीलाई दिए ।

आफन्त सहित फलाँटे प्रहरी चौकीले आफ्नो क्षेत्रको सबै सडक हेर्यो । दुर्घटना भएको कतै फेला परेन । त्यसपछि सल्लेभुम्लु प्रहरी चौकीले खोज्दा जामुने खोलामा दुर्घटना ग्रस्त अवस्थामा बोलेरो र प्रधानाध्यापक श्रेष्ठलाई प्रहरीले फेला पारेको थियो ।

लगत्तै प्रहरीले घाईते प्रधानाध्यापक श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पताल पठायो । उपचार सम्भव नभएपछि चिकित्सकहरूले प्रधानाध्यापक श्रेष्ठलाई आज बिहान मृत घोषणा गरे ।

सामानको लोडले भरिएको बोलेरो उकालो चड्न सकेन । दुर्घटना स्थलमा सडक पनि बिग्रिएको थियो । फोरह्वील लगाउने क्रममा उकालोमा रहेको बोलेरो पछाडि सर्यो र दुर्घटनामा परेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

यस्तै, मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको भानुभक्त मेमोरियल सेकेन्डरी स्कुलमा कार्यरत शिक्षिका बिमला राईको बिहिबार बिहान मृत्यु भएको छ । शिक्षिका राईको मृत्यु भएपछि बिहिबार र शुक्रबार २ दिन शोकमा बिद्यालय बन्द भएको बिद्यालय प्रशासनले जनाएको छ ।

विगत १६ वर्ष देखि सो स्कुलमा बालबालिकाको सिकाइमा ब्रान्ड मिसको रुपमा रहेकी राईको विहान २ वजे असामयिक निधन भएको बिद्यालयका शिक्षक शिव काफलेले जानकारी दिए ।