Jagaran Nepal मंगलबार, आश्विन २६, २०७८

भारतीय अभिनेत्री माधुरी दीक्षित र उनका श्रीमान श्रीराम नेने सन् १९९९ देखि वैवाहिक सम्बन्धमा छन्। प्राय: बलिउडमा प्रेम विवाह गर्ने चलन भए पनि पेसागत रुपमा डाक्टर रहेका श्रीराम र अभिनेत्री माधुरीको भने मागी विवाह भएको थियो। विवाहअघि पनि माधुरी र श्रीरामको चिनजान राम्रोसँग भएको थिएन।

श्रीरामलाई माधुरी बलिउडकी चर्चित अभिनेत्री हुन् भन्नेसमेत थाहा थिएन। माधुरीका अनुसार उनीहरुलाई माधुरीको भाइले झुक्काएर भेट गराइदिएका थिए। सन् २०१६ मा अभिनेता अनुपम खेरको ‘द अनुपम खेर सो’ कार्यक्रममा कुरा गर्दै माधुरीले आफ्ना श्रीमान श्रीरामसँगको पहिलो भेटबारे बताएकी थिइन्।

कार्यक्रममा अनुपमले त्यतिबेला माधुरीले विवाह गर्ने कुरा सार्वजनिक गरेर सबै प्रशंसकको मन दुखाएको बताएका थिए। यसैमा कुरा थप्दै माधुरीले भनेकी थिइन्, ‘म सधैं कोही व्यक्ति भेटेपछि यदि मनमा केही प्रश्न उठेन भने उसैसँग बिहे गर्ने धारणा बनाएकी थिएँ। श्रीरामलाई भेट्दा त्यस्तै भयो। उनलाई देखेपछि मलाई मेरो बाँकी जीवन उनीसँग बिताउन सक्ने महसुस भयो।’

हिन्दुस्तान टाइम्सका अनुसार माधुरी र श्रीरामको पहिलो भेट अमेरिकाको लस एन्जलसमा भएको थियो। उनीहरुको भेट माधुरीका भाइले गराइदिएका थिए। ‘त्यतिबेला मेरो भाइले मलाई थाहा नदिई श्रीराम र उनको परिवारलाई भेट्न बोलाएको रहेछ,’ माधुरीले भनिन्, ‘अरुबेला त मलाई कोही मान्छेसँग भेटे पनि त्यति वास्ता लाग्दैन थियो। तर श्रीरामलाई भने पहिलो पटक भेट्दा अलि फरक महसुस भएको थियो। उनले मलाई चिनेका रहेनछन् र मेरो कामबारे पनि सोधेका थिए। त्यसैले उनले सुरुमा मलाई चिने र पछि बल्ल म सेलिब्रेटी हो भन्ने थाहा पाए। उनको यही कुरा मलाई मन परेको थियो।’

विवाहपछि माधुरी र श्रीराम केही वर्ष अमेरिकामा बसे र पछि मुम्बई बसाइँ सरे। अहिले यो जोडीको दुई छोरा छन्। केही समययता माधुरी भने भारतीय डान्स रियालिटी कार्यक्रम ‘डान्स दिवाने ३’मा जजको रुपमा देखिन थालेकी छन्।