Jagaran Nepal आइतबार, आश्विन १०, २०७८

केही महिना अगाडि एउटा रिसर्चका लागि स्त्रीरोग विशेषज्ञसँग भेट्नु पर्ने थियो। अघिल्लो दिन टेलिफोनमार्फत कुरा गरेर उहाँसँग भेट्ने समय लिएकी थिएँ।

आफ्नो क्लिनिकमै बिहान ११ बजे आउन भन्नुभो। अर्को दिन डाक्टरले बोलाउनुभएको समय भन्दा आधा घण्टा ढिलो पुगेंछु। डाक्टर बिरामी जाँच गर्नको लागि भित्र गइसक्नुभएछ। सहयोगीसँग सोध्दा अब कम्तीमा एक घण्टा त कुर्नैपर्छ, २४ जना बिरामीको रिपोर्ट हेर्नुछ भन्ने जानकारी आयो। ढिलो गरी जानु मेरै गल्ती थियो। अब पर्खनुपर्ने नै भयो।

‘२४औं नम्बरको बिरामी को हुनुहुन्छ?,’ मैले बेन्चमा बस्नेहरूको लाइनतर्फ हेर्दै सोधें।

‘म हो, किन र?,’ एक जनाले मलाई हेर्दै भनिन्।

‘एकैछिन चिया पिएर आउँछु, तपाईंको पालो आउन लागेपछि मलाई यो नम्बरमा एक रिङ दिनुस् न ल,’ मैंले आग्रह गरें।

उनले भनिन्, ‘यो जिम्मा २३ नम्बरको प्यासेन्टलाई दिउँ न हुन्छ? यहाँ औषधीको गन्धले मलाई पनि गाह्रो भइरहेको छ, म पनि एकछिन बाहिर निस्कन चाहन्छु।’

उनको कुरामा २३ नम्बरवालीले मुसुक्क हाँसेर सहमति जनाइन्।

म र उनी सँगै तलपट्टीको चिया पसलमा गयौं। उनी अर्थात् २४ नम्बर प्यासेन्ट।

नाम अनु केसी। उमेर ३३ वर्ष। शिक्षा स्नातकोत्तर।

‘पेशा- के गर्नुहुन्छ?,’ मैले सोधें।

निधार खुम्च्याउँदै उनले भनिन्- त्यही त हो, धेरै थोक गरेर पनि केही गर्दिन भन्ने पेशा। हाउसवाइफ (गृहिणी)।

‘खास के भएर आउनुभएको नि?,’ मैंले सोधे।

‘प्रेग्नेन्सी चेकअपको लागि हो।’

‘एक्लै?,’ प्याच्च मेरो मुखबाट निस्किहाल्यो।

‘होइन, श्रीमान पनि सँगै आउनुभा’थ्यो। एक जना क्लाइन्टसँग तुरुन्तै नभेटी नहुने भएछ, अफिसबाट फोन आएको आई गरेर निस्किनुभो। सबै टेस्टहरू गरिसकें, डाक्टरले रिपोर्ट जाँच गर्न मात्र बाँकी हो,’ उनले भनिन्।

चिया टेबलमा आइसकेको थियो। कुराकानी हुदै जाँदा उनले मेरो बारेमा पनि सोधिन्। मैले पनि बताएँ। एकैछिनमा हामी नजिकैका साथीजस्तै भयौं। उनले आफ्नो बारेमा सबै कुरा यसरी बताउँदै गइन्।

खास म पहिले एक प्राइभेट बैंकमा जागिर गर्थें। मेरो श्रीमान एक इन्सोरेन्स कम्पनीको म्यानेजर हुनुहुन्छ। हामी दुबैको जागिर काठमाडौंमा थियो। बिहे गरेको एक वर्षपछि म गर्भवती भएँ। यस्तो बेलामा घरपरिवारसँग बस्दा सजिलो हुन्छ भन्ने सबैको सल्लाह मानेर मेरो सरुवा चितवनको शाखा कार्यालयमा गराइयो। नौ महिनासम्मै म अफिस गएँ। बरु यसको सट्टा बच्चा जन्मिसकेपछि धेरै बिदा लिएँ भने बढी समय बच्चासँग रहन पाउँछु भन्ने सोचाई थियो। बिहान घरको काम गरेर हतार-हतार अफिस गयो, अफिसको काम, थकान, बेलुका घर फर्किँदा साँझ पर्थ्यो, निकै भोक लागेको हुन्थ्यो तर खाना कहिले पाकेको हुन्थेन। कहिले आधा पाकेको हुन्थ्यो, बाँकी आफैं गएर पकाउनु पर्थ्यो। पाकिसकेपछि पनि बुहारी मान्छे पहिलै खान नमिल्ने रै’छ। सबैले खाएपछि अन्त्यमा मेरो पालो आउँदासम्म लागेको भोक पनि हराइसक्थ्यो। यस्तो बेलामा पेटको बच्चाको निकै माया लागेर आउँथ्यो, मलाई भोक लाग्दा बच्चा पनि भोकाएको होला भनेर।

दुई बजे अफिसमा खाजा खाएपछि एकै पटक घरमा ९ बज्थ्यो खाना खाँदा। पुरानो जेनेरेसनले भन्ने राष्ट्रिय डाइलग त्यही त हो- हाम्रो पालामा घाँस काट्दाकाट्दै बच्चा जन्माइन्थ्यो, यति काम गरिन्थ्यो। यो डाइलग मैले पनि सुन्नुपर्‍यो। मेरो र बच्चाको तौल राम्ररी बढ्न सकेको थिएन। डाक्टरले जहिले चेक गराउन जाँदा पनि ‘वेट बढेको छैन है बच्चाको, पछि समस्या हुनसक्छ’ भनेर भन्नुहुन्थ्यो। नभन्दै बच्चा हुनुपर्ने भन्दा कम तौलको जन्मियो। छोरीलाई जन्मँदै आइसियूमा राख्नुपर्‍यो। पछि उसलाई निमोनिया पनि भयो। कहिल्यै रातभर आरामले सुत्न पाइनँ। दिनमा, रातमा कहिले इमर्जेन्सीमा, कहिले एम्बुलेन्समा छोरीलाई हस्पिटल दौडाइरहनु पर्थ्यो। सबैसँग रिस मात्र उठ्थ्यो, चिडचिडाहट हुन्थ्यो, पीडा हुन्थ्यो। कसैले बच्चालाई यस्तो खुवाउ, यसरी खुवाउ भनेर सिकाउँदा पनि झनक्क रिस उठ्थ्यो। आराम नभएपछि रिस उठ्नु स्वाभाविक हो। अरुले बुझ्दैनथे।

अर्को राष्ट्रिय डाइलग यहाँनिर फेरि सुन्नुपर्थ्यो- हामिले दर्जनौं छोराछोरी माटोमै लडिबुडी गराएर हुर्काइयो अहिलेका धेरै जान्ने हुन्छन्। हो, त्यो कुरा मान्छु, त्यो बेलाको जस्तो खानपान, हावापानी अहिले छैन। विषादी, प्रदुषण बढी भएकोले त्यही अनुसार स्याहार चाहिन्छ अहिलेका बच्चालाई। फेरि त्यो बेला जस्तो भगवान भरोसा छोडेर १० जना जन्मिएकामा पाँच जना बाँच्लान् भन्नुपर्ने अवस्था पनि त छैन अहिले।

सुत्केरीमा अफिसले दिएको र आफूले लिएको गरेर ६ महिना बिदा बसें। त्यसपछि दुध खाने बच्चालाई काखबाट छुटाएर अफिस जानुपर्ने भयो। बेलुका घर फर्कंदा बिहान जुन लुगा लगाइदिएकी हुन्थें, त्यही लुगामा हुन्थी छोरी। कहिले पानी खेलेर भिजेकै लुगामा हुन्थी। उसलाई चिसो भयो कि निमोनिया भइहाल्थ्यो। थाकेर घर आउँदा कहाँबाट काम सुरू गरुँ भनेर सोच्नुपर्थ्यो।

‘दिनभर केही गर्न दिइन छोरीले’ भन्ने सासुको गुनासो। मामु! भन्दै कपडा समाउँदै काखमा झुण्डिने बच्चाको रोदन। भान्सामा थुप्रिएका जुठा भाँडा। छोरीले भद्रगोल पारेको कोठाको हालत। आफ्नो दिनभरिको थकान र भोकाएको शरीरको त कुरै नगरौं।

भनेको बेलामा कोही घरायसी काम गर्ने सहयोगी पनि नपाइने। आखिर जागिर छोड्न बाध्य भएँ म। बच्चाको स्वास्थ्य भन्दा ठूलो करियर होइन भन्ने ठानें। जागिर छाडे पनि सास फेर्ने फुर्सद त कहाँ हुनु। बुहारी घरमै बस्छे दिनभर भनेपछि त घरमा सहयोग गर्ने वातावरण नै रहेन कसैले। बच्चाको भन्दा बढी त ठूलाको स्याहार, सम्मान गर्दा नै ठिक्क हुने।

‘यति हुँदा तिम्रो बुढले केही सहयोग गरेरन्? त्यो बच्चाको पूरै जिम्मेवारी तिम्ले एक्लै उठाउनुपर्ने?,’ चिया पसले दिदी एक्कासी कड्किइन्। उनले पनि हाम्रो कुरा सुनिरहेकी रहिछन्। भन्ने हेक्का बल्ल भयो हामीलाई। उनको जवाफमा अनुले आफ्नो कथालाई यसरी निरन्तरता दिँदै भन्न थालिन्।

उहाँ आउनु हुन्थ्यो, बच्चा बिरामी हुनासाथ बिदा लिएर। उहाँ घरमा आउँदा र माइतीघर जाँदा मात्र अलि राहतको सास फेर्न पाउँथे मैले। तर उहाँले दुई दिन आउँदा बच्चालाई गरेको स्याहार, मलाई गरेको सहयोग देखेर घरपरिवार मात्र होइन छिमेकी समेतको आँखा ठूलो-ठूलो हुन्थ्यो। एकदिन छोरीलाई छतमाथि नुहाइदिँदै गर्दा पल्लो घरबाट एक शिक्षित भाइले अचम्म मान्दै सोध्छन् – ए दाइ, भाउजू हुनुहुन्न र?

अर्को तिरबाट छिमेकी आन्टी चिच्याउँछिन् – बुहारी बिरामी छन् कि क्याहो बाबु, छोरीको लुगा आफैं सुकाउँदै छौ त।

‘लौ अब एउटा बाउले आफ्नै बच्चालाई नुहाइदिँदा, उसको लुगा सुकाउँदा के श्रीमती बिरामी हुनैपर्ने हो र?,’ भन्दिनुभो उहाँले पनि।

तिम्रो श्रीमान त कस्तो सहयोगी है, तिमी कति भाग्यमानी है! यस्तो बच्चाको ख्याल गर्ने श्रीमान पाएकी लगायतका कुराहरू सबैले भनिरहँदा मलाई अचम्म पनि लाग्छ। बच्चा दुवैको हो, मैले पनि त घरको काम बच्चा सबै गरेर श्रीमानलाई सहज बनाइदिएकी छु। यो नजरबाट कसैले किन हेर्न सक्दैनन्? आफ्नै बच्चाको अलिकति स्याहार गर्दा त्यो श्रीमानको सबैतिर चर्चा हुन्छ। तर हामी आफ्नो जागिर, करियर, सौन्दर्य, निद्रा, स्वास्थ्य, घुमघाम, साथीभाइ सबथोक त्यागेर बच्चामा समर्पित हुँदा चाहिँ अहो तिमी त कस्तो भाग्यमानी! कस्तो केयरिङ श्रीमती पाएको भनेर कसैले भन्छ त श्रीमानलाई?

अब एउटा बच्चाको लागि दुबै जनाले जागिर छोडेर बस्ने कुरा पनि भएन। जे भने पनि आमाले गरेको जस्तो स्याहार बच्चालाई अरु कसैले गरेर हुँदैन रहेछ। फेरि प्रकृतिले पनि कतिपय कुरामा हामीलाई नै बच्चाको लागि पुरुषभन्दा बढी जिम्मेवार हुनुपर्ने बनाइदिएको छ।

‘अनि दोस्रो बच्चा जन्माउने निर्णय कसको हो त अब?,’ मैले बीचमा सोधें।

पहिलो बच्चा अस्वस्थ भएकोले एउटा त स्वस्थ बच्चा चाहिन्छ जस्तो हामीलाई लाग्यो। सुरूमा त जे जस्तो भए पनि अब एउटैमा चित्त बुझाउने हो भन्थें मैले। पछि सोच्दै जाँदा यदि दुई जना भए भने हामी पछि पनि एक-अर्कालाई सहयोग हुन्छ, साथ हुन्छ भन्ने लाग्यो र मन बदलियो। छोरी पाँच वर्षकी भई तर ऊ बिरामी भइरहन्छे। उसलाई चिसोबाट, धूवाँ-धुलोबाट एकदमै जोगाउनुपर्छ। अहिले श्रीमानले पनि चितवनमै जागिर मिलाउनु भएको छ। दुबै जना सँगै भएपछि सजिलो पनि हुन्छ। पहिलो बच्चाको बेला कतिपय कुरा थाहा नभएर ख्याल गरिएन। कतिपय थाहा भएर पनि ख्याल गर्ने वातावरण भएन।

त्यसैले, अब धेरै कुरा सिकियो दोस्रो बच्चालाई गर्भबाटै स्वस्थ बनाउने कुराहरू। निर्णय त गरियो तर किन-किन अहिले आएर मलाई आफ्नो करियर सम्झेर यसपटक प्रेग्नेन्सी रिपोर्ट नेगेटिभ आइदिए हुन्थ्यो भन्ने लागिरहेको छ। केही दिनअघि एउटा एनजिओको भ्याकेन्सीमा इन्टरभ्यू दिएकी थिएँ। त्यही काम गर्ने एक जना दाइले तिम्रो नाम निस्किने चान्स छ, बलियो प्रतिस्पर्धी छौ तिमी भन्नुभएको कुरा सम्झिरहेकी छु। बैंकमा काम गर्न मन छैन। मैले पाँच वर्षअघि जुन पोजिसनबाट राजीनामा दिएकी थिएँ त्यहीँबाट सुरू गर्नुपर्छ फेरि। अनि अर्को कुरा आफ्नो लेभलका सहकर्मी सबै माथिल्लो पोस्टमा पुगिसके, जुनियर लेभलबाट काम गर्न मन छैन।

फेरि अहिले त ग्याप भएकोले धेरै कामहरू पनि बिर्सिसकेकी छु। नयाँबाटै सुरू गर्नुपर्ने भएपछि बरु नयाँ सेक्टरमै प्रवेश गर्छु भन्ने सोच हो। अब अर्को बच्चा भएपछि उसकै स्याहार सुसारमा उमेर ढल्किन्छ। मास्टर डिग्रीको सर्टिफिकेटले दराज खोल्दा घरिघरि गिज्याइरहन्छ। एसएलसीपछि पढ्न छोडेर सिलाई-कटाई तालिम लिएकी एक जना साथीले नारायणगढमा बुटिक खोलिछ। अस्ति भेट हुँदा आफ्नो व्यापारको धाक दिँदै के गर्‍यौ र तिमीले पढेर? भन्दै थिई। आफन्तहरु तिम्रो सर्टिफिकेट लेउ त आगो ताप्नुपर्‍यो भनेर सटायर हान्छन्। जागिर छोडेर गल्ती गरिस् भन्ने धेरै छन्।

उनको कुरा सुनेर मैले पनि मनमनै कल्पना यस्तो गरें – यदि घरमै बसेर बच्चा हुर्काउने काम गरेबापत हामीलाई पेशा, मातृत्व भन्ने टाइटल र सरकारी तलबको व्यवस्था हुँदो हो त! त्यो नभए पनि, बच्चा जन्मेपछि काम छोड्न पनि नचाहने र बच्चा छोड्न पनि नमिल्ने अवस्थामा हरेक कार्यालयमा ‘चाइल्ड केयर डिपार्टमेन्ट’ हुँदो हो त! यदि बच्चा या करियरमा एउटा रोज्नुपर्ने अवस्था नहुदो हो त! कसैले के गर्छौ भनेर सोध्दा डिग्री पासको प्रमाणपत्र दराजमा थन्काएर म कि काम गर्दिन गृहिणी हुँ भन्नुपर्ने थिएन सायद।

यतिकैमा उता क्लिनिकबाट २३ नम्बर प्यासेन्टको फोन आयो। अनुलाई भित्र बोलाइयो। अनुले के सोचेकी थिइन् कुन्नी यतिबेला तर मैले भने उनको रिपोर्ट नेगेटिभ आओस् भनेर कामना गरे। मेरो मुटु ढुकढुक गरिरहेको थियो मानौं रिपोर्ट मेरै हो जसरी।

उनी बाहिर निस्कने समयको पर्खाइमा थिएँ म। उनी रिपोर्टको फाइल बोकेर बाहिर आइन्।

मैले सोधें- के भयो? पोजिटिभ आयो?

त्यसपछि उनले आफ्नो अनुभव यसरी सुनाइन्।

जब म भित्र गएँ डाक्टर सा’बले अब मैले खानुपर्ने औषधीको नाम लेखिदिदै भन्नुभयो- बधाइ छ, तपाईंको प्रेग्नेन्सी रिपोर्ट पोजिटिभ आयो। त्यसपछि के-के भन्नुभो मेरो कान दुम्म भएर आयो।

खुसी हुनुपर्ने थियो तर भइनँ। न हर्षको आँशु नै आयो न त फिल्ममा जस्तै धुमताना धुमतानाको धुन नै गुञ्जियो। मात्र आँखा वरिपरि पेण्डुलमझैं प्रोफेसन- हाउसवाइफको ट्याग झुण्डिरह्यो ।