Jagaran Nepal बिहिबार, आश्विन ०७, २०७८

‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजन भव्यताका साथ सम्पन्न गरेपछि हिमालय टीभी एचडीले बालबालिकाहरुका लागि गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रशारण गर्ने तयारी गरेको छ ।

यो शोमा ६ देखि १४ बर्षका बालबालिकाहरुले सहभागीता जनाउन पाउनेछन् । बालबालिकाहरुको अडिसन सम्पन्न भैसकेको आयोजकले जानकारी दिएको छ । अहिले अडिसनबाट छानिएका बालबालिकाहरु ‘ब्लाइन्ड अडिसन’को तयारीमा व्यस्त छन् ।आइतबारबाट ‘ब्लाइन्ड अडिसन’को छायांकन सुरु हुनेछ ।

यो शोलाई कात्तिकबाट प्रशारण गर्ने तयारीमा आयोजक जुटेको छ ।तर, बालबालिकाहरुको गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यले संचालन गर्न लागिएको यो रियालिटी शोका लागि ४ जना कोचहरु भने फाइनल गरिएको छ । जसमा दुई जना कोचहरु ‘द भ्वाइस अफ नेपाल’ कै छन् ।

यो शोमा गायकद्धय राजु लामा र प्रमोद खरेल कोचको रुपमा रहनेछन् । यस्तै, कोचकै रुपमा गायिकाद्धय मिलन नेवार र प्रविशा अधिकारी रहने पक्का भएको छ ।यो शोलाई ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले नै निर्देशन गर्नेछन् ।